Logo
Logo

सभामुखमा तमाशा


- दृष्टि न्युज/संवाददाता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदमा स्पष्ट बहुमत छ । सात प्रदेश मध्ये ६ वटामा आफ्नै पार्टीबाट मुख्यमन्त्री छन् । स्थानीय तहमा बहुमत स्थानमा आफ्नै जनप्रतिनिधि छन् । यति हुँदाहुँदै पनि नेकपाले जनअपेक्षा अनुसार काम गर्न सकेको छैन । जनताले नेकपालाई निर्वाचनमा यो मत राजनीतिक स्थायित्व, दिगो विकास र समृद्धिका लागि सुम्पिएका हुन् । निर्वाचनका बेला तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतासामु विकास र समृद्धिकै नारा दिएका थिए । तर, निर्वाचन सम्पन्न भएर सरकार गठनको दुई वर्षको अवधीमा नेकपाले जनताको मन छुने काम गर्न सकेको छैन । नेकपाले जनताको अभिमत कुल्चिएकै त भन्न मिल्दैन, तर उल्टो बाटोे हिडिरहेको छ । पार्टीमा संस्थागत निर्णय हुने गरेको छैन । सरकारले ल्याउने कानुनहरु जनतामा संसकित हुने खालका आइरहेका छन् । सभामुखको उम्मेदवार चयन गर्न नेकपाले महिना दिन गुजारिरहेको छ । यी राम्रा संकेत होइनन् ।

आफ्नै पार्टीभित्रको विवादले नेकपाले सिंगो संसद बन्धक बनाइरहेको छ । यो जनताको मतमाथिको खेलवाड हो । यसले सिंगो समाज र राष्ट्रलाई त घाटा पुगेको नै छ, स्वयम् पार्टीले कालान्तरमा यसबाट घाटा बेहोर्नुपर्ने निश्चित छ । नेकपालाई भोट दिएका जनताले नेकपाका यस्ता काम नजिकबाट नियालिरहेका छन् । अनि यस्तै गल्ती र तमाशा देखाउँदै जाने हो भने जनताले अब करिब तीन वर्षमा हुने अर्को निर्वाचनमा पुरस्कृत वा दण्डित गर्ने भन्नेमा दण्डित रोज्न बाध्य हुनेछन् । त्यसैले नेकपाले यस्ता क्रियाकलापलाई बेलैमा सच्याएर अघि बढ्नु पर्दछ । निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा जेलमा छन् । त्यससँगै रिक्त सभामुख पदमा बहुमतका आधारमा नेकपाबाटै हुने निश्चित छ । तर, अध्यक्ष तहमा नै समाज र राष्ट्रको हितमा भन्दा पनि आ–आफ्नै स्वार्थका डम्फू बजाएकै कारण पटक–पटक संसद बैठक अवरुद्ध हुँदै गएको छ । यसले स्थायित्वको सपना बोकेर भोट दिएका सर्वसाधरणलाई निराश बनाइरहेको छ । तल्ला पार्टी कमिटीहरुमा गलत सन्देश दिइरहेको छ ।

दुई पार्टीबिच एकताको महाधिवेशन नहुँदै जसरी अहिले सभामुख चयनमा लफ्फाबाजी सुरु भएको छ, यसले पार्टी एकतामा समेत धमिलो ल्याईदिएको छ । सभामुख चयनमा अहिले एकले अर्कोलाई पछार्न जसरी अड्चन खडा गरिएको छ, भोलि एकताको महाधिवेशनमा तत्कालिन नेकपा एमालेले एउटा अध्यक्ष उठाउने अनि तत्कालिन माओवादीबाट अर्को अध्यक्ष उठ्ने वातावरणको सिर्जना भयो भने के होला ? यहीँ अवस्था पार्टी सबैतिर विकसित हुँदै गयो भने त्यसले पार्टी र राष्ट्रलाई कति घाटा पुग्ला ? नेताहरुले यसको हेक्का राखेर पनि बुझपचाईरहेका छन् । सभामुख उम्मदेवार चयनको विषय क्षणभरमै टुंगो लगाउने ल्यागत दुई अध्यक्षमा छ । एउटा कोठामा बसेको क्षण भरमा नै उनीहरुले निकास दिन सक्ने निश्चित छ । तर, अहिले दुवै अध्यक्ष आफ्ना स्वार्थ केन्द्रित हुँदा पार्टीदेखि संसद समेत बन्धक बनेको छ । यो दुईतिहाइ मत हासिल गरेको नेकपा पार्टीको हेलचेक्रयाई हो ।

नेकपा पार्टी होस् वा नेकपा नेतृत्वको सरकार पछिल्लो पटक गलत दिशामा अघि बढीरहेको छ । पार्टी कमिटीलाई कमजोर बनाउने, आ–आफू गुट बनाउँदै हिड्ने प्रवृत्ति बढेको छ । हालै मन्त्री परिवर्तन, प्रदेश प्रमुख चयन वा राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन गर्दा होस् नेकपामा मनोमानी निर्णय देखिन्छ । कुनै संस्थागत र सामूहिक निर्णय देखिन्न । सभामुख चयनमा पनि नेकपा स्वार्थको दलदल भित्र चुर्लुम्म डुबेको छ । सरकारका गतिविधि त्यस्तै देखिन्छन् । सरकारले जनभावना समेट्ने नीति नियम बनाउने तथा त्यस्ता क्रियाकलाप गर्ने भन्दा जनतालाई चेपुवामा पार्ने गरी कडा ऐन कानुन बनाउनेमा उद्दत देखिन्छ । यी सबै नेकपाले हिडिरहेको उल्टो बाटाहरु हुन् । नेकपाका लागि यो सच्याउनु समय भने अझै बाँकी नै छ । त्यसैले तत्काल सच्याउनुको विकल्प पनि छैन । अहिलेको आवश्यकता भनेको पार्टी कमिटी बलियो बनाउने, निर्णयहरुलाई संस्थागत गर्ने तथा सरकारका काम कारबाही प्रभावकारी बनाएर स्थायित्व, दिगो विकास र समृद्धिको सपना पूरा गर्ने भन्दा अन्य हुनै सक्दैन । यसैबाट सुखी नेपाली, समृद्ध नेपालको यात्रा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्