काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ ।
उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

आज आयोजित पत्रकार सम्मेलन उनले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभन्नि सातवटा कम्पनीबाट तीन सय ६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यका अनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ ।
उक्त अटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका उनको भनाइ थियो ।
४२ जनाको टोलीबाट अनुसन्धान
उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताए । उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ ।
त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्काे डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पु¥याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिए ।
उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए ।
विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनको भनाइ छ ।
तहगतरुपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गाे कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको बताए ।
हङकङमा डिल, नेपालमा कारोबार
सुन तस्करीमा अन्तरदेशीय आपराधिक संगठित सञ्जाल सक्रिय रहेको सीआईबीले निष्कर्ष निकालेको छ । पछिल्लो छानबिनका क्रममा सीआईबीले सुन तस्करी कार्यमा नेपाली र विदेशी नागरिक संलग्न रहेको उल्लेख गरेको छ ।
सीआईबीले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको समेत निष्कर्ष निकालेको छ । गत २ साउन गते बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्ष निकालेको छ ।
साथै यो समूहले अरु विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पुरक अनुसन्धान गर्ने सीआईबी प्रमुख बज्राचार्यले बताएका छन् । सीआईबीका अनुसार यस्तो संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ ।
सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेको भन्दै यस विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
सुन आयत गर्ने सात कम्पनी
सुन लुकाएर ल्याउने सामानहरु आयात गर्न थुप्तेनले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेका थिए । ६० किलो सुन आयात गर्ने ब्रेक शु ल्याउने रेडी ट्रेड दिलिप भुलेजको नाममा खोलिएको थियो ।
कुमार भुजेलको नाममा हवाडा इलेक्ट्रोनिक सप्लायर्स, रामकुमार भुजेलको नाममा भुजेल इन्टरप्राइजेज र पवटी इलेक्ट्रोनिक्स, सन्तोष तामाङको नाममा सरिता सप्लायर्स, लेकनाथ कार्कीको नाममा छुन्डुक इलेक्ट्रोनिक्स, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स खोलिएको थियो ।
सुरुमा ट्रायलका रुपमा थोरै समान मगाउने र त्यसपछि त्यस्ता सामग्रीमा लुकाएर सुन तस्करी गर्ने गरेको सिआइबीले जनाएको छ । हङकङबाट सुन पठाएको खबर ली र लीनले थुप्पेनलाई दिन्थे, उनले हर्कराज राईले सहयोगमा भन्सार भन्सार जाँचपास पुरा गर्थे ।
त्यसपछि सुरु हुन्छ, पाटपुर्जामा लुकाएर ल्याएको सुन गाल्ने र विस्कुटको आकार दिने काम । यसका लागि टोखा र लाजिम्पाटमा दुईवटा गोदाम थियो । टोखा गोदामको समूहको नेतृत्व एलेक्स पनि भनिने याओ पुचिङ र लाजिम्पाटको समूहको नेतृत्व सोङ चिङचुङआङले गरेका थिए ।
दुबै समूहले थुप्तेनमार्फत आएको सामान रिसिभ गर्ने, त्यसमा लुकाएर ल्याएको सुन पगालेर बिस्कुटको आकार दिने र वितरण गर्ने काम गर्थे । यसका लागि टोखाको समूहले तीन वटा गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको पाइएको छ । लाजिम्पाटको समूहले भने भाडाको ट्याक्सी र स्कुटर प्रयोग गर्ने गरेको थियो ।
यो सबै कामको अनुगमन तथा रेखदेखको जिम्मेवारी भने वाङ दावा जिङ र तोङ चिन हुवाको ५ जनाको समूहको थियो । तर तस्करी गरेर ल्याएको सुन कसलाई बेच्ने भन्ने हङकङबाटै तय हुन्थ्यो ।
६ जनालाई मुद्दा नचलाउन राय
सीआईबी सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ । भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ ।
रुक्मिनालाई बिरामी भएका कारण यसअघि नै छाडिएको थियो । अरु भने अहिले पनि हिरासतमै छन्। तर उनीहरुविरुद्ध भने मुद्दा नचलाउन राय दिएको हो । उक्त सुन प्रकरणमा ३२ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ । अरु १८ जना फरार छन्। पक्राउ पर्नेमा ९ जना विदेशी छन् ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।














