
एजेन्सी । जीवनको कुनै न कुनै मोडमा हरेक व्यक्तिलाई जीवन साथी चाहिन्छ । यस्तो अवस्थामा कसैलाई आफ्नो जीवनसाथी समयमै भेटिन्छन् भने कसैले भाग्यमा छोडिदिन्छन् । यस्तै एउटा खोज एक अमेरिकी महिलाको हो, जो आजकल सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् ।
स्मार्टफोन र सामाजिक सञ्जालको जमानामा यी महिलाले जीवनसाथी खोज्ने अनौठो तरिका अचम्मको छ । वास्तवमा यी महिला अमेरिकाको न्यूयोर्क सहरको सडकमा साथीको खोजी गरिरहेकी छिन् । महिलाले हातमा प्लेकार्ड बोकेकी छिन् । जसमा लेखिएको छ, ‘पति खोज्दैछु ।’
यसबाहेक उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट पनि प्लेकार्डको तल दिएका छन् । यो अनौठो विधि देखेपछि त्यहाँबाट जाने हरेक मानिस रोकिन्छन् र हेर्छन् । यी महिलाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोलाई इन्स्टाग्राममा ११ लाखभन्दा बढी पटक हेरिएको छ ।
फक्स न्यूजको रिपोर्टका अनुसार ती महिलाको पहिचान २९ वर्षीया क्यारोलिना गीट्सको रूपमा गरिएको छ । उनी म्यानहट्टनकी बासिन्दा हुन् । रिपोर्टका अनुसार यी महिलाले पहिला आफ्नो पार्टनरको खोजीमा डेटिङ एपको सहारा लिएकी थिइन् तर त्यहाँ उनले केही हासिल गर्न नसकेपछि उनी प्ले कार्ड बोकेर सडकमा निस्किएकी हुन् ।














