काठमाडौं । संघीय संसदको दुवै सदनले सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभाका सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिएको जानकारी गराएका छन ्। ‘शोक प्रस्ताव सर्वसहमतिले पारित भएको घोषणा गर्दछु’ उनले भने । नेम्वाङको निधनमा सांसदहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए ।
नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।














