Logo
Logo

भ्रष्टाचारीको स्वर्गमा भुईँचालो



उति बेला एउटा समय थियो । जब गाउँ–गाउँबाट भ्रष्ट, सामन्ती, लुटाहा र दादागिरी देखाउनेहरू सहर पसेका थिए । उनीहरू समाजमा विभिन्न खाले विभेदको कनिका छरेर आफू सर्वेसर्वा भएको आत्मरति लिन्थे ।

सामन्तवादको सुसार स्वरूप आफूले गरेका अपराध कर्मबाट मनग्य लाभ बटुलेर स्वयंलाई मस्तै शक्तिशाली सम्झन्थे । गरिबका छोराहरू कमैया– कमारो राख्थे । गरिबका छोरिहरू प्रति पशु तुल्य व्यवहार गर्थे !

जनयुद्धको उद्घोष पश्चात् उनीहरूको स्वर्गमा एकाएक पहिरो खस्यो । बेथितिको रक्षार्थ खटिएका हुट्टिट्याउँहरू आतंकित बने । अन्ततः उन्नाइस दिने जनआन्दोलनसम्म आइपुग्दा उनीहरू जनताको शक्तिका अघि घुँडा टेक्न बाध्य भए ।

नामकै किन नहोस्, व्यवस्था फेरियो । भलै भुइँतहसम्म सुधार हुनुपर्ने अवस्थामा फेरबदल गर्न अझै थुप्रै मिहेनत गर्नुपर्ने छ । यद्यपि महिनैपिच्छे सरकार फेरेर अस्थिरताको फाइदा उठाउन पल्किएका केही झुन्डहरू अचेल बेचैन बनेका छन् । नबनुन् पनि कसरी ? जहाँ हरेक भ्रष्टाचारका पङ्क्तिमा आफ्नै दल र सेवकले उपाधि हत्याएका छन् ।

परिणामस्वरूप उनीहरू सडकदेखि सदनसम्म आफ्ना अश्लील हर्कत देखाएर आत्मरति लिइरहेका छन् । हुन त निर्वाचनको मत परिणाममा तेस्रो बनेको दलले सत्ताको नेतृत्व हाँकिरहेको र पहिलो अनि दोस्रो दलले कुनामा बसेर टुलुटुलु हेर्नुपर्ने स्थिति कम्ती पिडादायी होइन । के गरौँ ? परिस्थिति नै उस्तै ।

वर्तमान सरकार आफैमा कमजोर किन नहोस्, यसले चालेको भ्रष्टाचार विरुद्धको कदम प्रशंसायोग्य छ । गर्नुपर्ने अझै धेरै छ । देश लुटेर पैतालादेखि टुप्पीसम्म अस्वाभाविक रहनसहन देखाउने राजनीतिक ठेकेदारहरूलाई बेलैमा ठेगान नलगाएसम्म देश उमो लाग्दैन ।

दशकौँदेखि राज्यका हरेक निकायमाथि धावा बोलेर ब्रह्म लुट मच्चाउन पल्किएकाहरू जे होस् आफ्ना कर्तुतहरू छोप्न बौलाहा भएरै राज्यका हरेक निकायमा धाइरहेका छन् । स्वीकार गरून् वा नगरुन्– प्रचण्डले अलिकति थितिको छडी हल्लाउँदा मात्रै पनि उनीहरूको नीद हराम हुन्छ । सारमै भन्दा वर्षौँदेखिको लुटाहा स्वर्गमा साँच्चिकै प्रचण्ड नेतृत्वको सरकारले भुईँचालो ल्याइदिएको छ ।

विगत, वर्तमान र भविष्य समयानुकूल चलिरहन्छ । आफूले आफ्नो चेतलाई कता डो¥याउने ? भन्ने नै वैयक्तिक निर्णय हो । अर्थात् भ्रम र वास्तविकता के हो ? भनेर केलाउन सक्ने ल्याकत हामी आम नागरिक सँग हुनुपर्छ । मुठ्ठीभर मान्छेहरूको लागि स्वर्ग तुल्य हाम्रो देशमा करोडौँ गरिखाने वर्गहरू अझैसम्म राज्यका विभिन्न निकाय बाट प्रताडित छन् ।

वर्तमान सरकार आफैमा कमजोर किन नहोस्, यसले चालेको भ्रष्टाचार विरुद्धको कदम प्रशंसायोग्य छ । गर्नुपर्ने अझै धेरै छ । देश लुटेर पैतालादेखि टुप्पीसम्म अस्वाभाविक रहनसहन देखाउने राजनीतिक ठेकेदारहरूलाई बेलैमा ठेगान नलगाएसम्म देश उँभो लाग्दैन ।

राजनीतिलाई पूर्णकालीन पेसा बनाउनेहरू राजनीतिज्ञ होइनन्, ठेकेदार हुन् । त्यस्ता ठग ठेकेदारलाई जनताले किनारा लगाउनु पर्छ । उदाहरण स्वरूप अध्यागमनको महानिर्देशक नै सुन तस्करको मतियार, अख्तियारका पूर्वयुक्त र प्रमुख आयुक्त अपराधमा संलग्न, पूर्व गृहमन्त्री र उपप्रधानमन्त्रीसमेत नक्कली शरणार्थी केसका नाइके रहेको कुरो हाम्रै अघि छर्लङ्ग छ ।

राजनीतिज्ञको मुखुण्डो लगाएर देशसँग गद्दारी गर्ने यस्ता थुप्रै अनुहारहरू देशमा छाती खोलेर हिँडिरहेका छन् । सबै खाले अपराधीहरूलाई कानुनको दायरामा ल्याई दण्डित गर्नु राज्यको दायित्व हो ।

देशमा एउटा यस्तो खेमा छ, जसले आफ्ना अपराध कर्मका आरोप र प्रमाणहरू आफ्नै ढोकासम्म आइपुग्दा पनि बारम्बार ढाकछोपको सुर्ता देखाउन थाल्छ । अग्रगामी चेतनाको सवालमा यो खेमा निर्जीव तुल्य नै छ ।

जीवनभर राज्यसत्ताको छत्रछायामा अपराध गर्न पल्किएको यो समूह आफ्नो स्वर्ग क्षयीकरण भएपछि आम जनतालाई मूर्ख बनाउन निस्तो बिलौना गरिरहेको छ । स्वाभिमानको शिर उठाउनुभन्दा गुलामको भाँती जिउन अभ्यस्त भएको यो सञ्जालले आफ्नो धुरीतर्फ औँला उठ्यो भने मात्रै पनि संसद् अवरुद्ध गर्छ ।

भ्रष्टाचारका प्रत्येक काण्डमा आफू हिस्सेदार देखिएपछि चोबलिने त्रासले यो खेमाको मुटुमा भयानक तरङ्ग पैदा गरेको छ । अराजकताका अनेकन् शृङ्खला देखाउने पेसामा यो समूह पोख्त छ । बेठेगान आफ्नो मस्तिष्कलाई स्थिर राख्न अचेल उक्त समूहका नाइके कहिले गिटार कोट्याएर त कहिले पुराण सुनाएर आफ्नो कुरूप अनुहार छोप्ने प्रयत्न गर्दै छन् । यिनीहरू आफू स्वयं दुर्गन्धित भए पनि अरूमा सुगन्ध खोज्ने तिर्खाले काकाकुल बनेका छन् ।

विदेशी मालिकहरूले भूमिगत रूपमा बाँडेको राष्ट्रघाती अवैध भत्ता खानेहरू यो देशका कानुन पालक हुन् कि कानुन मिचुवा अपराधी ? भ्रष्टाचारको रछानमा खाल बसेको राजनीतिक खेल खण्डलाई वर्तमान सरकारले हिर्काएको छडी गलत हो कि सही ? छातीमा हात राखेर हामी आम नागरिकले सोच्न ढिला भइसक्यो कि ?

प्रतिक्रिया दिनुहोस्