Logo
Logo
कला

‘गाउने अफर आयो भने नेपाल आउँछु’



भुटानकी गायिका सुस्मिता राई यो साता काठमाडौंमा व्यस्त भइन् । गीत रेकर्डिङ गर्न काठमाडौं आएकी सुस्मिताले व्यस्तताकै बावजुद पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपा घुमिन् । बागबजारस्थित एक होटलमा दृष्टि साप्ताहिकसँग कुरा गर्दै भनिन्, ‘छोटो समय थियो, व्यस्तताका बाजुद पनि बौद्ध र पशुपति मन्दिर दर्शन गरेँ ।’ उनी भुटान फर्किसकेकी छन् । भुटानको साम्ची धुम्टेकी गायिका सुम्मिताले बौैद्ध घुम्दा आनन्द लागेको सुनाइन् ।

सानैदेखि गीतसंगीतप्रति रुची राख्दै आएकी सुस्मिताले धेरै गीत गाएकी छैनन् । तर, उनीसँग कुसल गायिका बन्ने सपना छ । पहिलोपटक नेपाल टेकेकी २० वर्षीया सुस्मिताले हालसम्म आधा दर्जन गीत गाएकी छन् । यो साता तीनवटा गीत रकर्डिङ गर्न भ्याएकी छन् । जसमा ‘आँशु बर्बरी’ र ‘आ–आफ्नै भाकामा’ बोलका गीत छन् । भुटान नागरिक भएर पनि नेपाली भाषा र माटोप्रति हृदयबाटै मोहित गायिका सुस्मिता राईसँग एमपी सुब्बाको जम्काभेट :

तपाइँ नेपाल केका लागि आउनु भएको हो ?
गीत रकर्डिङ गर्नका लागि आएकी हुँ । विष्णु मुरी र मनिष श्रेष्ठले गाउनका लागि अफर गर्नुभयो । उहाँहरुले बोलाएर काठमाडौं आएकी हुँ ।

यसअघि काठमाडौं आउनुभएको थियो ?
थिएन । पहिलोपटक नेपाल आएकी हुँ । तर, काठमाडौं रमाइलो रहेछ । विशेषगरी यहाँका मान्छेहरु सहयोगी हृदयका पाएँ । नेपाली भाषाले गर्दा पनि होला, काठमाडौं आफ्नै ठाउँजस्तो लाग्यो ।

गीत रेकर्डिङका लागि नेपाल आउने संयोग कसरी जु¥यो ?
केही समयअघि युट्युबर भाग्य न्यौपाने भुटान आउनुभएको थियो । त्यो बेला उहाँले मेरो अन्तरवार्ता लिएर फर्कनुभएको थियो । युट्युबमा मेरो अन्तरवार्ता हेरेपछि विष्णु र मनिष सरले अफर गर्नुभयो । भाग्य न्यौपानेमार्फत गाउने अफर गरेपछि समय मिलाएर आएकी हुँ ।

गाउनु थाल्नुभएको कति भयो ?
सानैदेखि गुनगुनाउँथे । नेपाली गीतसंगीत भनेपछि म हुरुक्कै हुन्थेँ । तर, औपचारिक रुपमा भने सन् २०१८ देखि गाउन थालेकी हुँ । मैले पहिलोपटक भुटानको राष्ट्रिय गीत गाएकी थिएँ । विस्तारै अरु गीत पनि गाउन थालेँ ।

गीतसंगीतले गर्दा नेपाल आउने अवसर जुरेको हो ?
अहिलेको लागि त्यसै भन्नुपर्ला । तर, एकदिन जसरी पनि नेपाल आउने सोच बनाएकी थिएँ । नेपाल कस्तो होला, विशेषगरी काठमाडौं हेर्न आउने सोच बनाएकी थिएँ । तर, गीत रेकर्डिङले गर्दा अलि चाँडो आएँ ।

यसपाली काठमाडौं कहाँ कहाँ घुम्नुभयो ?
व्यस्त भएर घुम्नै पाइनँ । बौद्ध स्तुपा र पश्पतिको मन्दिर पुगेँ । आनन्द लाग्यो ।

अहिलेसम्म कति गीत गाउनुभएको छ ?
खाशै धेरै गाएकी छैन । आधा दर्जन जति भयो । साथै, मैले भुटानी गीत पनि गाएकी छु । तर, मलाई नेपाली भाषाको गीत गाउन रुचाउँछु ।

यसपाली काठमाडौं आएर कति गाउनुभयो ?
तीनवटा गाउँदैछु । जसमा दुई वटा भइसक्यो । एउटा गीत आज (सोमबार) रकर्ड गर्दैछु ।

रेकर्ड गर्नुभएको गीतबारे पनि बताउनु न ?
‘आँशु बर्बरी’ र ‘आ–आफ्नै भाकामा’ हो । ‘आँशु बर्बरी’चाहिँ आधुनिक पप गीत हो । अर्कोचाहिँ पुर्वेली लोकलय शैलीको छ । आज रेकर्ड हुने गीतको बोल थाहा छैन ।

तपाइँको गाउँ थिम्पूबाट कति टाडा पर्छ ?
साम्ची धुम्टे भुटानको दक्षिणी भेगमा पर्छ । गाडीमा एकदिन लाग्छ । तर, मचाहिँ केही समययता थिम्पूमै बस्दै आएकी छु । १२ कक्षा सकेपछि थिम्पू आएकी हुँ । थिम्पूमा सानोतिनो जब पनि गरिरहेकी छु । घर परिवारचाहिँ गाउँमै बस्नुहुन्छ ।

साम्ची धुम्टेमा नेपालीभाषी कति छन् ?
धेरै छन् । तर, हामीलाई नेपाली भन्दैनन्ु । दक्षिणी भेगमा बस्ने भएकाले हामीलाई ‘लो छाम्पा’ भन्छन् । यो भनेको शेर्पा भाषाका भनिएको हो । तर, हामी नेपाली भाषामै बढी बोलचाल गछौंँ ।

गीतसंगीतको औपचारिक कोर्ष गर्नुभएको छ कि छैन ?
अहिलेसम्म छैन । अहिलेसम्म अरुले गाएको सुनेकै भरमा गाउँदै आएकी छु । तर, सिक्ने सोच छ । समय मिलेको छैन । समय मिलेपछि सिक्नेछु ।

गीतसंगीतबाहेक तपाइँको रुची के हो ?
मेरो मुख्य रुची गीतसंगीत नै हो । त्यसबाहेक भन्नुपर्दा मलाई हाइकिङ गर्न र भिडियोग्राफी मनपर्छ ।

तपाइँको उद्देश्य के हो ?
एक कुसल गायिका बन्ने मेरो सपना छ । तर, भुटानमा गीतसंगीतबाट करिअर बनाउन सम्भव छैन किनकि भुटानमा नेपाली गीतसंगीतको बजार सानो छ ।

अब कहिले नेपाल आउने सोच छ ?
ठ्याक्कै भन्न सक्दिनँ । तर, गीतसंगीतका लागि अफर आयो भने जतिबेला पनि छुट्टि लिएर आउन सक्छु, किनकि नेपाली गीतसंगीत मेरो इच्छा र रुचीको विषय हो ।

प्रतिक्रिया दिनुहोस्