Logo
Logo

महाथिरको अडान र पाम तेलको कथा


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

मलेशियाको आर्थिक विकासका जनक ९४ वर्षीय प्रधानमन्त्री महाथिर बीन मोहम्मदले भारतले मलेशियाबाट आयात गर्ने पाम तेलमाथि प्रतिबन्ध लगाएपछि प्रधानमन्त्री महाथिर आक्रोशित बनेका छन् । प्रधानमन्त्री महाथिरले प्रतिक्रियास्वरुप भनेका छन्– ‘भारत हाम्रो पाम तेलको सबभन्दा ठूलो आयातकर्ता हो, उसले आयातमाथि प्रतिबन्ध लगाउँदा हामी पक्कै पनि चिन्तित भएका छौँ । तर, हाम्रो अर्थतन्त्रमा धक्का लाग्छ भनेर हामी गलतलाई सही भन्न सक्दैनौँ । गलतलाई गलत नै भन्छौँ । गलतलाई गलत भनेनौ भने धेरै कुरा गलत दिशातर्फ जानेछ । अनि हामीले पनि गलत गर्न सुरु गर्नेर्छौँ । भारतको यो निर्णयबाट मुलुकलाई वित्तीय घाटा भए पनि गलत कुराहरुको विरुद्ध बोली नै रहनेछौँ ।’ प्रधानमन्त्री महाथिरले भारतले कश्मिरलाई दिएको विशेष दर्जा समाप्त गरेको र नयाँ नागरिकता कानूनको कडा विरोध गरेका थिए । उनले भनेका थिए– ‘भारतले कश्मिरमा आक्रमण गरेर उसलाई आफ्नो अधिनमा राखेको छ ।’

भारत मलेशियाको पाम तेलको सबभन्दा ठूलो आयातकर्ता हो । भारतले सन् २०१९ मा मलेशियाबाट ४०.४ लाख टन पाम तेल किनेको थियो । अहिले भारतले मलेशियाको भन्दा प्रतिटन दश डलर महंगोमा इण्डोनेशियाली पाम तेल आयात गरिरहेको छ । भारतले आफ्नो विरोध गरेको हुँदा मलेशियासँग प्रतिशोध साँध्नका लागि मलेशियाली पाम तेलमाथि प्रतिबन्ध लगाएको हो । तर, मलेशियाली प्रधानमन्त्री महाथिर आफ्नो भनाइमा अडिग रहेका छन् । मलेशिया, इण्डोनेशियापछि पाम तेलको सबभन्दा ठूलो उत्पादक राष्ट्र हो ।

हालैका दिनमा नेपाली सञ्चारमाध्यममा पनि पाम तेलले निकै चर्चा पाएको छ । पाम तेल नेपालको उत्पादन होइन, तापनि सबभन्दा धेरै भारत निर्यात हुने वस्तुमा पाम तेल पर्दछ । चालू आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनामा ११ अर्ब रुपैयाँको पाम तेल निर्यात भएको छ । दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अनुसार भारत निर्यात हुने वस्तुमा पाम तेललाई पनि भन्साररहित वस्तुको पहुँच दिएको छ । यसैको फाइदा उठाएर नाफाखोर केही व्यापारीहरुले प्रशस्त पैसा कमाइरहेका छन् ।

भारतले गत बुधबारदेखि नेपालमा प्रशोधित पाम तेल भारत निर्यातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा अप्राृकृतिक निर्यात गरी फाइदा उठाउने नेपाली व्यापारीहरुको स्याल हुँइयाँ शुरु भएको छ । पाम तेलको निर्यात प्रक्रियामा व्यापारीहरुले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा प्राप्त गरी पाम तेल नेपाल आयात गर्दथे । अनि, ठूलो भाँडोमा आयात गरेर सानो भाँडोमा हालेर मूल्य अन्तरका कारण भारत निर्यात गर्दथे ।

यस्ता किसिमको निर्यातले मुलुकको अर्थ व्यवस्था फस्टाउँदैन । त्यसका लागि नेपालमै उत्पादन हुने चिया, अलैँची, अदुवा, अम्रिसोको निर्यातमा भइरहेको अर्घेल्याइलाई समाप्त गर्न सक्यो भने पनि केही राहत पुग्दछ । त्यस्तै नेपालमा पाइने बहुमूल्य जडीबुटीलाई प्रशोधन गरी निर्यात गरे मुलुकले प्रशस्त विदेशी मुद्रा प्राप्त गर्नेछ । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले बारम्बार निर्यात बढेको, आयात घटेको तथ्यांक सार्वजनिक गरेर नेपाल अब आत्मनिर्भर बन्न लागेको हो कि भन्ने भ्रम छरेका थिए । भारतले पाम तेलमाथि प्रतिबन्ध लगाएपछि अब नेपालको अर्थतन्त्रलाई समेत धक्का पुगेको छ ।

जसरी मलेशियाली प्रधानमन्त्री महाथिरले आफ्नो मुलुकलाई वित्तीय हानी पु¥याइएता पनि आफूले बोलेको कुरामा चट्टान जसरी आफ्नो मुलुकको स्वाभिमानको लागि उभिएका छन्, त्यसबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पाठ सिक्न जरुरी छ । प्रधानमन्त्री ओलीले मुलुकलाई आत्मनिर्भर बनाउन आन्तरिक उत्पादन बढाउनुपर्ने कुरामा जोड दिँदै आएको पनि करिब पाँच वर्ष बित्न थालिसक्यो । तर, दुर्भाग्य अहिले पनि चामल, दाल, आलु, गहुँ, फलफूल, माछा, मासुलगायतका वस्तुमा हामी परनिर्भर नै छौँ । भाषणमा गुलियो कुरा गर्ने, व्यवहारमा त्यस कुरालाई कार्यान्वयन नगर्दा कतै हामीले नाकाबन्दी भुल्यौँ कि जस्तो आभाष पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्