Logo
Logo

चर्चित तर अपरिचित मिक्लाजुङ


अबिशन लावती


कसैले मिक्लाजोङ त कसैले मिक्लाचुङ, मेक्लाजुङ, मिक्लागड र कसैले मिक्लाजुङ भन्छन् । वास्तविक नाम चाहिँ ‘मिक्लाजुङ’ हो । ‘मिक्लाजुङ’ शब्द मिक्ला र जुङ मिलेर बनेको हो । ‘मिक्ला’ भनेको मालिङगो र जुङ भनेको ‘टुप्पो’ । अर्थात्, मालिङ्गोको टुप्पो भन्ने अर्थ लाग्छ । वा, मालिङ्गोको डाँडा पनि भनियो ।

प्रदेश नं. १ को सुदूर पूर्वी जिल्ला इलाम, पाँचथर, मोरङ र धनकुटा जिल्लाको सङ्गम स्थलमा अवस्थित अल्गो डाँडा हो, मिक्लाजुङ । समुद्री सतहदेखि करिब २७०० मिटरको उँचाइमा अवस्थित यो डाँडाले करिब १५०० देखि २००० हेक्टर जमिन ओगटेको छ ।

पूर्वी भागमा इलाम जिल्लाको चुलाचुली गाउँपालिका रहेको छ भने पश्चिममा धनकुटा जिल्लाको चौबिसे गाउँपालिका पर्दछ । उत्तरमा पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका र दक्षिणमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका नै पर्दछ ।

यहाँ उच्च पहाडी भेगमा पाइने जीवजन्तु, चराचुरुङ्गी र बोटबिरुवा पाइन्छ । यहाँ बाह्रै महिना चिसो हुन्छ । समय समयमा हिउँसमेत पर्ने गर्दछ ।

पूर्वको एउटा महत्त्वपूर्ण मध्ये मिक्लाजुङ डाँडा पनि एक हो । यहाँबाट नेपालका पूर्वी तथा सिमाना जोडिएको देश भारतका विभिन्न भूभागहरू अवलोकन गर्न सकिन्छ । पूर्व फर्कँदा भारतको सिक्किम, दार्जिलिङ, वेस्ट बङ्गाल र पश्चिम फर्कँदा भोजपुरको टेम्के डाँडा देख्न पाइन्छ भने उत्तरमा फर्कँदा पाथीभरा हुँदै कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल आसानै अवलोकन गर्न पाइन्छ । दक्षिण फर्केर हेर्दा, स्वदेशी तराईका फाँटहरू र छिमेकी देशका बिहार र युपी आँखैमा टाँसिन्छ ।

दृश्यावलोकन गर्न अत्यन्त सुन्दर डाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । घना जंगलले ढाकेको पहाड हो, मिक्लाजुङ । अथाह गुण र सौन्दर्य बोकेर सदियौँदेखि बसेको मिक्लाजुङबारे धेरै मानिस अनभिज्ञ छन् । यहाँ शीतोष्ण हावापानी पाइन्छ । गर्मीमा १५–२० र जाडोमा शून्य डिग्री सम्मको तापक्रम हुन्छ ।

सडक यातायातको दृष्टिले मिक्लाजुङ डाँडा भर्जिन छ । अहिलेसम्म यो डाँडामा सडक पुगेको छैन । अवलोकन गर्न पैदलै हिँड्नु पर्छ । यहाँ कम्तीमा ३–४ वटा पैदल बाटोहरू छन् । यातायातका साधन पुग्ने सडकबाट करिब २ घण्टा यात्रा गरेपछि मिक्लाजुङ डाँडा पुगिन्छ । यात्रा भने कठिन हुँदैन । किनकि, मार्गहरू सरल र सहज छन् ।

मिक्लाजुङको आफ्नै इतिहास छ । किम्बदन्ती अनुसार संसारमा महाप्रलय हुँदा मिक्लाजुङ मात्र डुबेन । त्यही बेला हाम्रा पुर्खा ‘लेमुहाङ’ले काठको डुङ्गा बनाई आफू र आफन्तहरूको ज्यान बचाएका थिए । हामी लेमुहाङकै सन्तान हौ ।

मिक्लाजुङको शिरमा ‘तीन चुला’ छ । किरात राई ‘मुन्धुम’मा तीन चुलाको व्याख्या छ । यसको आफ्नै धार्मिक महत्त्व छ । त्यसैले यस डाँडालाई पवित्र धार्मिक स्थलको रूपमा लिइन्छ ।

यस ठाउँलाई किरात र बौद्ध धर्मावलम्बीहरूले धार्मिक तीर्थस्थलको रूपमा लिने गर्दछ । साथै, विभिन्न धर्मका अनुयायी तथा धर्मावलम्बीहरूले आफ्नो धर्मको आस्थाका मूर्ति र धार्मिक निशानाहरू निर्माण गरेका छन् ।

मिक्लाजुङ डाँडा आसपासमा किरात राई र लिम्बू जातिहरू बसोबास गर्छन् । सम्भवतः सोही कारण हुनसक्छ, आसपासका धेरै ठाउँहरूको नामकरण राई भाषाबाट भएको भेटिन्छ ।

धार्मिक तथा पौराणिक महत्त्व बोकेको यस डाँडाकै नाममा पाँचथर र मोरङका दुई स्थानीय तहलाई ‘मिक्लाजुङ’ नामकरण गरिएको हो ।

मिक्लाजुङ डाँडामा ज्यादै कम स्थानमा मात्र पाइने फल ‘बेलासी’ पाइन्छ । बेलासी स्थानीय नाम हो । नेपाली भाषामा यसको नाम ‘सिसिफल’ हो । यहाँ वार्षिक १५–२० क्विन्टलसम्म बेलासी उत्पादन हुन्छ । यो फलको विशेषता र महत्त्व अरू फलभन्दा फरक छ । त्यसैले स्थानीय बजारमा प्रति केजी चार सय रुपैयाँ सम्ममा किनबेच हुन्छ । बेलासीलाई औषधिको रूपमा समेत प्रयोग गरिन्छ ।

मिक्लाजुङ डाँडाको उत्तर फेदीमा अत्यन्त सुन्दर ताल छ । यसको नाम– ‘गोदुला भोजुला ताल’ हो । त्यसभन्दा सय मिटर माथि प्राकृतिक ‘जोरधारा’ खेल मैदान छ । सो क्षेत्रको सुन्दरताको वर्णन शब्दमा सम्भव हुँदैन ।

मिक्लाजुङ आफैमा चर्चित पहाड हो । तर, धेरैलाई थाहा छैन । मिक्लाजुङले आन्तरिक तथा बाह्य पर्यटकीय सम्भावना बोकेको छ । प्राकृतिक रूपमा अति सुन्दर मिक्लाजुङलाई कृत्रिम शृङ्गार खाँचो छैन । कमी भनेको मात्र प्रचारको हो । राम्रो प्रचार–प्रसार नहुँदा मिक्लाजुङ डाँडा कमैलाई मात्र थाहा छ । प्रचार नभएकै कारण अपरिचित छ– मिक्लाजुङ ।

(लेखक मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ पाँचथरका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्