Logo
Logo
कला

‘लिडरशीप महिला बन्ने मेरो उद्देश्य हो’



इलाम मंगलबारेकी अमृता राई पहिलोपटक उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौं भित्रिएकी हुन् । तर, हिजोआज उनी अध्ययनसँगै कलाकारितामा पनि व्यस्त छिन् । कलाकारिता अमृताको रुचीको विषय हो । ‘सानैदेखि कलाकारितामार्फत चिनिने इच्छा थियो’ मोडलिङ सँगसँगै पद्मकन्या क्याम्पस (पीके)का पत्रकारिता विषयमा स्नातक तह अध्ययनरत अमृताले भनिन्, ‘मलाई मोडलिङभन्दा पनि एक्टिङ वेशमा कलाकारिता गर्न रुचाउँछु ।’

दुई वर्षअघि ‘मिस एण्ड मिसेस युनिभर्सल’मा पार्टिसिपेन्ट भएपछि मोडलिङ करिअर प्रारम्भ गरेकी अमृताले यहाँसम्म आइपुग्दा केही सिरियल र दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । पत्रकारिताप्रति समेत रुची राख्दै आएकी अमृताको उद्देश्य भने ‘महिला लिडर’ बन्ने हो । २० वर्षीया अमृता भन्छिन्, ‘लिडर भनेर राजनीति गर्छु भनेको होइन, कलाकारिता, पत्रकारिता होस् वा पब्लिक स्पिकिङमा पनि लिडरशीप बन्न सकिन्छ । समग्रमा भन्नुपर्दा नेतृत्वदायी महिला बन्ने इच्छा छ ।’ कलाकार तथा मोडल अमृता राईसँग एमपी सुब्बाको जम्काभेट :

पहिलोपटक काठमाडौं केका लागि आउनुभएको थियो ?
खाशमा उच्च शिक्षा अध्ययन गर्नलाई काठमाडौं आएकी हुँ । कलाकारितामा रुचीचाहिँ सानैदेखि थियो । तर, कलाकारिता नै गर्छु भनेरचाहिँ आएकी होइन । कलेज अध्ययनकै क्रममा कलाकारिता अँगालेकी हुँ ।

कलाकारितामा लागेपछि अध्ययनचाहिँ हुँदैछ ?
अध्ययन पनि गरिरहेकी छु । सन् २०२१ मा काठमाडौं आएकी हुँ । त्यसै वर्ष मनास्लु कलेज जोइन गरेँ । अहिलेचाहिँ पद्मकन्या क्याम्पस (पीके)का पत्रकारिता विषयमा स्नातक तहमा अध्ययन गर्दैछु ।

मोडलिङ क्षेत्रमा कसरी लाग्नुभयो ?
मोडलिङभन्दा पनि मलाई सानैदेखि एक्टिङ वेशमा कलाकारिता गर्ने रुची थियो । मुख्य कुरा त कलाकार भएर चिनिने मेरो इच्छा हो । त्यही क्रममा सन् २०२१ मा ‘मिस एण्ड मिसेस युनिभर्सल’मा भाग लिएँ । ‘मिस ट्यालेन्ट’ टाइटल उपाधि पनि पाएँ । त्यसपछि मोडलिङमा पाइला राखेकी हुँ ।

अहिलेसम्म कति म्युजिक भिडियो गर्नुभयो ?
खाशै धेरै गरेकी छैन । मोडलिङ तथा अभिनय गर्न थालेको दुई वर्षमात्र हुँदैछ । यहाँसम्म आइपुग्दा केही सिरियलहरुमा काम गरेकी छु । एक दर्जनभन्दा बढी म्युजिक भिडियो गरेँ । अहिले अध्ययनसँगै म्युजिक भिडियो र सिरियलहरु गरिरहेकी छु ।

तपाइँ अभिनीत चर्चित म्युजिक भिडियो भन्नुपर्दा ?
मैले गरेका प्रायः सबै म्युजिक भिडियो दर्शक तथा श्रोताले रुचाएका छन् । भन्नैपर्दा ‘दार्जिलिङको रेल’, ‘ए ठूली औँठी हातैमा’ जस्ता गीतको भिडियो बढी चर्चामा आयो । र, मैले पहिलोपटक मोडलिङ गरेको ‘बग्न थाल्यो’ बोलको गीतको भिडियो पनि रुचाइएको थियो ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
कलेज त छँदैछ । त्यसबाहेक ‘मिस एण्ड मिसेस युनिभर्सल’ सिजन–२ को कार्यक्रम को–अर्डिनेटर गरिरहेकी छु । यो इभेन्टको फाइनल यही असोज ८ गते सांस्कृतिक संस्थानमा हुँदैछ ।

इभेन्ट को-अर्डिनेटर गर्न कतिको गाह्रो–सजिलो रहेछ ?
इभेन्ट को–अर्डिनेटरको यो मेरो पहिलो अनुभव हो । गाह्रो र सजिलो दुवै भइरहेको छ । म यही इभेन्टको पहिलो संस्करणमा भाग लिएर मोडलिङमा पाइला राख्ने अवसर पाएकी थिएँ । अहिले इभेन्ट को–अर्डिनेटर हुन पाउँदा खुसी लागेको छ ।

फिल्ममा काम गर्ने रुची छ कि छैन ?
मेरो इच्छा र रुची नै एक्टिङ वेशमा काम गर्ने हो । त्यसैले फिल्मी अभिनय मेरो पहिलो प्राथमिकतामा पर्छ । मैले केही सिरियलहरु पनि गरिसकेकी छु ।

तपाइँले अभिनय गर्ने फिल्मको कथावस्तु कस्तो हुनुपर्छ ?
मलाई इमोशनल टाइपको कथावस्तु भएको फिल्ममा काम गर्ने इच्छा छ । जसमा इन्टरटेनमेन्टसँगै पात्र महिला लिडिङ र सामाजिक एवं चेतनामूल पनि होस् ।

तपाइँ गायनप्रति पनि रुची राख्नुहुन्छ होइन त ?
अभिनयबाहेक गायन पनि मेरो रुचीको विषय हो । गायनप्रति रुची भएरै मैले ‘राईजिङ स्टार’मा गायनतर्फ अडिसन दिएकी थिएँ । अडिसनमा पास पनि भएकी थिएँ । तर, कार्यक्रममा सहभागी भइनँ ।

पत्रकारितामा पनि संलग्न हुनुहुन्छ होइन त ?
हो, अहिले एउटा मिडियामा आवद्ध छु । कलाकारिता होस् वा पब्लिक स्पिकिङ नै किन नहोस् नेतृत्वदायी महिला बन्ने इच्छा छ । लिडर बन्नलाई राजनीति गर्नुपर्छ भन्ने छैन । हरेक क्षेत्रमा लिडर हुन्छ । अहिले पनि महिलाहरु खुलेर बोल्न सक्ने अवस्था छैन । त्यसैले पनि मलाई लिडरशीप महिला बन्ने इच्छा छ । जसबाट अरुलाई प्रेरणा मिलोस् ।

शोसियल मिडियामा कतिको एक्टिभ हुनुहुन्छ ?
एक्टिभ नै छु । धेरैजसो फेसबुक र टिकटक चलाउँछु । सुरुका दिनमा चाहिँ फेसबुकमा बढी एक्टिभ हुन्थे । तर, अहिले फेसबुक र टिकटक बराबरी जस्तो चलाउँछु ।

प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रेम प्रस्तावहरु त आइरहेको हुन्छ । तर, मैले त्यतातिर ध्यान दिएकी छैन । प्रेम प्रस्ताव राख्नेहरुलाई म मेरो शुभचिन्तक तथा दर्शक-श्रोताका रुपमा मात्र लिन्छु ।

भविष्यको लक्ष्य के लिनुभएको छ ?
वुमेन लिडर बन्ने इच्छा छ । पोल्टिक्समा मात्र नभएर जुनै क्षेत्र भएपनि मलाई लिडिङ गर्न मनपर्छ ।

प्रतिक्रिया दिनुहोस्