Logo
Logo

नेपाल-चीनको संयुक्त वक्तव्यमा के छ ? (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति र समझदारीबारे दुई देशले १३ बुँदे संयुक्त बक्तव्य जारी गरेका छन् ।

आज बिहान सार्वजनिक संयुक्त वक्तव्यमा रेलमार्गको संभाव्यता अध्ययनदेखि विद्युत प्रशारण लाइन निर्माण, नाका खोल्नेलगायत विषय समेटिएका छन् । चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि नेपाली पक्षले गरेको आग्रह स्वीकार गर्दै व्यवसायिक शर्तमा उपकरण वा प्रविधि उपलब्ध गराउन चीन सकारात्मक भएको छ ।

भ्रमणका क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति दुई देशबीच भएको छ । दुवै पक्ष जिलोङरकेरुङ–काठमाडौं क्रस बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै चीन नेपाल रेल्वे सहयोगसम्बन्धी आठौं कार्यबैठक यथाशीघ्र आयोजना गर्ने सहमत भएका छन् ।

नेपालका रेल्वे कर्मचारीलाई तालिम दिन सहयोग गर्न पनि चीन तयार भएको छ। टोखा–छहरे सुरुङमार्ग आयोजनाको सम्भाव्यता अध्ययन र काठमाडौं चक्रपथ आयोजनाको दोस्रो चरणको कामलाई तीब्रता दिन दुवै पक्ष सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ।

सन् २०१७ मे १२ मा बिआराइ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको स्वीकार्दै दुवै पक्षले परामर्शलाई तिब्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चिनले यसअघि बन्द रहेका दुई देशबीचका नाकाहरु खोल्न पनि सहमति जनाएको छ। नेपालले एक चीन नीतीप्रति आफ्नो दृढ प्रतिवद्धता दोहो¥याउँदै ताइवानको स्वतन्त्रताकोविरुद्धमा रहेको प्रष्ट पारेको छ।

हेर्नुहोस् चीन-नेपाल संयुक्त वक्तव्यको अनौपचारिक नेपाली अनुवाद

बेइजिङ सेप्टेम्बर २६, २०२३

१.चीनका सम्माननीय प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेप्टेम्बर २३ देखि ३० सम्म चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । सो क्रममा उहाँले १९ औँ एशियाली खेलकुद उद्घाटन समारोहमा भाग लिनुभयो ।

२.भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छयाङ र नेशनल पिपल्स कंग्रेसका स्थायी कमिटी अध्यक्ष झाओ लिजीसँग पनि भेट गर्नुभयो । न्यानो र सौहार्द छलफलका क्रममा दुबै मुलुकका नेता नेपाल र चीनबीचको परम्परागत मित्रतालाई गहिरो बनाउनुका साथै पारस्परिक हितमा सहकार्यका लागि सहमत हुनुभयो । भेटमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाका आपसी चासोका सवालमा पनि छलफल भयो ।

३. नेपाल पक्षले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको सफलता र त्यसको महत्वपूर्ण परिणामका साथै नेशनल पिपल्स कंग्रेस तथा राजनीतिक परामर्श कमिटीको राष्ट्रिय सम्मेलनको सफलतामा बधाइ ज्ञापन गरेको छ । सी जिनपिङको नेतृत्वमा चीनले हासिल गरेको आर्थिक तथा सामाजिक सफलतालाई नेपाल पक्षले प्रशंसा गर्नुका साथै चिनियाँ जनताको वृहत्तर विकास र प्रगतिको शुभकामना व्यक्त गरेको छ । यस्तै, चीनले स्थानीय, प्रादेशिक तथा संघीय चुनाव सफलतापूर्वक सम्पन्न गरी नयाँ सरकार गठनप्रति बधाइ दिँदै नेपाली जनताको यथासक्य विकास र प्रगतिको कामना गरेको छ ।

४. दुवै पक्षले सन् २०१९ मा चीनका राष्ट्रपति सी जिनपिङको ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै त्यसले द्वपक्षीय सम्बन्ध विकास र चिरस्थायी मित्रता सहितको सहयोग र रणनीतिक साझेदारीमा पुर्‍याएको योगदानको चर्चा गरेका छन् । दुबै पक्ष राजनीतिक रुपमा पारस्परिक विश्वासलाई गहिरो बनाउनेमा र दुई मुलुकबीच सबै तहमा सहयोग आदानप्रदानका लागि तयार हुँदै उच्चस्तरीय आदानप्रदानको गति बढाउन सहमत भएका छन् ।

५. सन् १९५५ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयतानै अन्तर्राष्ट्रिय परिवेशमा आएका परिवर्तनका बाबजुद दुबै मुलुकले आपसी सम्मान, समानता र ऐक्यवद्धता सहितको पारस्परिक सहकार्यलाई उत्कृष्ट रुपमा कायम राखेको दुबै मुलुकको निष्कर्ष छ । नेपाल र चीनबीचको सहकार्यका विभिन्न सामाजिक आकार र प्रणाली भएका मुलुकबीच मैत्रीपूर्ण सहकार्य र संवाद संभव रहेको दृष्टान्त पेश गरेको दुबै पक्षको भनाइ छ ।

दुई मुलुकका नेताबीच भएका सहमति र सम्झौतालाई शान्तिपूर्ण सह(अस्तित्वका पाँच सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्रका उद्देश्य र सिद्धान्तका आधारमा कार्यान्वयनमा लाँदै रणनीतिक सञ्चारको सुदृढीकरण, बीआरआई र पारस्परिक हितका अन्य विषयमा उच्च तहको सहकार्यका लागि दुबै पक्षले सहमति जनाएका छन् ।

६.कठिन परिस्थितिमा समेत पारस्परिक सहयोगलाई निरन्तरता दिएको इतिहासको स्मरण गर्दै दुबै पक्षले एक अर्काको सरोकार र हितलाई सम्मान गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पक्षले एक चीन सिद्दान्तमा दृढ प्रतिबद्धता दोहोर्‍याएको छ । जनवादी गणतन्त्र चीनको सरकारलेनै सिंगो चीनको प्रतिनिधित्व गरेकोमा सहमत हुँदै ताइवान चीनको अविभाज्य भू-भाग रहेको नेपाल पक्षले स्वीकार गरेको छ । नेपालले ताइवानको स्वतन्त्रताको पक्षमा नरहेको स्पस्ट पारेको छ । नेपाली पक्षले तिब्बत मामिला चीनको आन्तरिक मामिला भएकाले नेपाली भूमीमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्‍याएको छ ।

चिनियाँ पक्षले इमान्दारिता, पारस्परिक लाभ र असल मित्रता र समावेशिताको सिद्धान्तमा आधारित साझेदारीमा आफ्नो प्रतिवद्धता दोहोर्‍याएको छ । चिनियाँ पक्षले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डतालाई कायमै राख्न दृढतापूर्वक समर्थन जनाउनुका साथै नेपालको राष्ट्रिय परिस्थिति अनुकुलको सामाजिक व्यवस्था र विकासको स्वतन्त्र छनोटलाई सम्मान गर्ने प्रतिवद्धता जनाएको छ ।

७.नेपाल सरकार र जनवादी गणन्तत्र चीनबीच मे १२ सन् २०१७ मा बीआरआइमा सहकार्यका सवालमा समझारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै त्यसलाई यथाशीघ्र कार्यान्वयनका लागि कार्ययोजना बनाउन दुबै पक्षले सहमति जनाएका छन् । नेपालको विकास रणनीतिमा अनुभव आदान प्रदान, व्यापार प्रवर्द्धन, पर्यटन विस्तार, उत्पादन क्षमता विकासमा व्यवहारिक सहयोगका लागि दुबै पक्ष सहमत भएका छन् । यसमार्फत नेपाली जनतालाई अझै फाइदा पुर्‍याउनक लागि बीआरआइको सहकार्यलाई सुदृढ बनाउन दुबै पक्ष सहमत छन् ।

ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल नेटवर्क साथै बन्दरगाह, सडक, रेलमार्ग, हवाइ मार्गका साथै बहुआयामिक सञ्जाल तथा कनेक्टिभिटी विस्तार गर्दै आपसी सुरक्षाका सवालमा सहकार्यका लागि दुवै पक्ष सहमत छन् ।

दुई मुलुकबीचको सहयोग र सहकार्यले नेपाललाई छिट्टै कम विकसित मुलुकको हैसियतबाट माथि उकास्नेमा दुबै पक्ष विश्वस्त छन् ।

दुवै पक्षले लीचि-नेचुङ बन्दरगाह, जांङमु खासा बन्दरगाह खोलिएकोप्रति दुबै पक्षले स्वागत गरेका छन् । नेपाली पक्षको सुविधालाई मध्येजनर गर्दै लिजी-नेचुङको स्तरोन्तीमा सघाउने चीनले प्रतिवद्ता जनाएको छ । यस्तै चीनले नेपाल र चीनको परम्परागत नाका तथा व्यापारिक केन्द्रलाई पुन खोल्नका लागि सहमति जनाएको छ । चेन्थाङ( किमाङ्थान्का र रिउ( ओलान्चुङगोला खण्डमा यथाशीघ्र पूर्वाधार निर्माणका लागि नियमित संवादमा रहन दुवै पक्ष सहमत छन् ।

भूपरिवेष्ठित मुलुकका कारण नेपालले भोग्नुपरेका समस्या निराकरणका लागि नेपाल र चीनबीच भएका पारवहन सम्झौता कार्यान्वयनलाई निरन्तरता दिन दुबै पक्ष सहमत भएका छन् । अरनिको राजमार्गको विस्तार र रसुवागढी-स्याफ्रुबेसी सडकको स्तरोन्नतीका लागि चीनले प्रतिवद्धता जनाएको छ ।

टोखा-छहरे सुरुङको सम्भाव्यता अध्ययन गर्दै दुई मुलुकको कनेक्टिभिटीमा नयाँ आयाम दिलाउनका लागि दुवै पक्ष सहमत छन् । काठमाडौँ चक्रपथको कामलाई तीव्रता दिन दुबै पक्ष सहमत भएका छन् ।

दुवै पक्षले जीलङ केरूङ् काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको प्रगतिमा सन्तुष्टि जनाउँदै यसका लागि आठौँ बैठक आयोजना गर्न सहमत भएका छन् । नेपालका रेल्वे जनशक्तिईइ तालिम दिनका लागि चिनियाँ पक्ष सहमत भएको छ ।

दुई मुलुकका नागरिक उड्ड्यन प्राधिकरणका अधिकारबीच हवाइ मार्ग विस्तारका सम्बन्धमा भएका सहमतिको स्वागत गर्दै र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालनप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । नागरिक उड्डयनमा सहकार्यका लागि भएको सहमतिले व्यापारको प्रवर्द्धन र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउन टेवा पुर्‍याउने दुवै पक्षको विश्वास छ ।

जलविद्युत र अन्तर सीमा प्रशारण लाइन र सब स्टेशन निर्माण गर्दै उर्जा क्षेत्रमा सहकार्य प्रवर्द्धनका लागि दुवै पक्ष सहमत छन् । चीन र नेपालबीच विद्युतमा सहकार्यका लागि कार्ययोजना बनाउने उद्देश्यले यथाशीघ्र दुवै पक्ष छलफलमा जुट्नेछन् । जिलोङ, केरुङ रसुवागढी चिलिमेमा २२० केभीको प्रशारण लाइन निर्माण यथासिघ्र सुरु गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र चीनको संयुक्त कार्यान्वयन संयन्त्र गठन गर्दै उर्जा क्षेत्रमा आपसी सहकार्यको प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्ष सहमत छन्।

नेपालको उत्तरी इलाकामा विद्युत आपुर्तीका लागि जिझ्याङ प्रान्तबाट ग्रिडका साथै प्राविधिधि तथा आर्थिक सहयोग प्रदानका लागि चीन सहमत भएको छ ।

८. नेपाल र चीनबीच भएका आपसी सहकार्यमा सन्तुष्टि व्यक्त गर्दै आपसी हित तथा नेपालको आर्थिक उन्नतीका सवालमा कृषी, पर्यटन, उत्पादन क्षमता वृद्धि, शिक्षा स्वास्थ्य तथा अन्य पूर्वधार विकासमा वृहत्तर सहकार्यका लागि दुबै पक्ष सहमत छन् ।

आर्थिक तथा वाणिज्य सवालमा द्वपक्षीय हीतका सवालमा गरिएका सहकार्य कार्यान्वयनका लागि गठित कार्यदलको दोस्रो बैठकप्रति दुबै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।

दुई मुलुकबीचको व्यापारिक तथा वाणिज्य सहकार्यलाई बलियो बनाउनका लागि निष्पक्ष, पारदर्शी र भेदभाव रहित व्यापार वातावरण तयार गर्न दुवै पक्षम सहमत छन् । चिनियाँ पारवहन सुविधाको उपयोग गरी तेस्रो मुलुकबाट ७ सेप्टेम्बर २०२३ मा कार्गोको पहिलो ब्याच नेपाल पुगेकोप्रति दुबै पक्षले स्वागत गरेका छन् ।

नेपाल-चीन मैत्री औद्योगिक पार्कको आयोजना विकास सम्झौताका सवालमा नेपाल लगानी बोर्ड र ल्हासा आर्थिक तथा प्राविधिक लगानी विकास कम्पनीबीचको सहमतिको स्वागत गर्दै प्रारम्भिक निर्माण खाकामा छिट्टै हस्ताक्षर गर्न दुबै पक्ष सहमत छन् ।

अगस्ट २०२३ मा चीनमा हुने सातौँ चीन दक्षिण एशियाली एक्सपोमा नेपालको विशेष उपस्थितले व्यापारमा आपसी सहयोगका लागि नयाँ आयाम थप्ने विश्वास दुबै पक्षको छ ।

नेपाल र चीनबीच कृषि, पुशपालन मत्स्य पालन लगायतका क्षेत्रमा सहकार्यका लागि भएका सहयोग सम्बन्धी समझदारीको दुबै पक्षले स्वागत गरेका छन् । नेपालको कृषि तथा औद्योगिक उत्पादन प्रवर्द्धन र सम्वर्द्धनमा सहकार्यका लागि दुबै पक्ष सहमत भएका छन् ।

नेपालको कृषि तथा औद्योगिक उत्पादन प्रदर्शनका निम्ति पार्क बनाउन नेपालले जग्गा खोज्ने र चीनले पूर्वाधार बनाउने सहमति भएको छ ।

चीनले नेपालका विभिन्न उत्पादनमा भन्सार छुट दिएकोबारे नेपालले कृतज्ञता ज्ञापन गरेको छ । नेपाली वस्तुको निर्यातका लागि आवश्यक सहयोग गर्न चीन सहमत भएको छ ।

नेपाली घाँस चीन निर्यातको दुबै पक्षले स्वागत गरेका छन् । नेपालबाट राँगाको मासु आयातका लागि चीन सहमत भएको छ । यस्तै नेपालका फलफूल चीन आयातमा पनि प्राविधिक सहयोगका लागि चीनले सहमति जनाएको छ ।

याक तथा च्याङ्ग्राको नश्ल सुधारका लागि सहकार्य गर्ने सहमति भएको छ ।

९.चीनले नेपालको विकासमा पुर्‍याएको सहयोगको प्रशंसा गरेको छ । नेपाल र चीनबीच भूकम्पपछिको पुनर्निमाणका चीनले जिम्मा लिएका परियोजनामा निर्माणलाई तीव्रता दिने सहमति भएको छ ।

यस्तै आपत्कालिन सेवा व्यवस्थापन तथा विपद् व्यवस्थापनका सवालमा आपसी सहकार्यका साथै नेपालका विपद् व्यवस्थापन केन्द्र राष्ट्रिय आपत्कालिन परिचालन केन्द्रको सञ्चालनमा आर्थिक र प्राविधिक सहयोग गर्ने चीनको प्रतिवद्धता छ ।

यस्तै, नेपालमा भूकम्प तथा अन्य प्राकृतिक प्रकोपका क्षति न्युनीकरणका लागि भूगर्भ प्रविधि तथा अन्य प्रविधिमा समेत सहयोग गर्न दुइ पक्षबीच सहमति भएको छ ।

१०. सीमा क्षेत्रमा संयुक्त अनुगमनका लागि नेपाल र चीन दुबै पक्ष सहमत भएका छन् ।सीमा व्यवस्थापनका लागि दुइ पक्षबीच भएका सहमति यथाशीघ्र कार्यान्वयनमा ल्याउन दुबै पक्ष सहमत भएका छन् । सीमा निर्धारण र त्यसको व्यवस्थापनमा चुस्तताका लागि नेपालको गृहमन्त्रालय चीनको सार्वजनिक सुरक्षा आन्तरिक मामिला मन्त्रालयबीच त्रिपक्षीय सहकार्यका लागि दुबै पक्ष सहमत छन् ।

आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता सम्बन्धी चीन-नेपाल सन्धी अनुमोदनलाई तीव्रता दिन दुबै पक्ष सहमत छन् ।

११. शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार, संस्कृति, पर्यटन, थिंकट्यांकबीच आपसी सहयोग र सहकार्यमा दुबै पक्ष तयार भएका छन् । विज्ञान प्रविधिको उन्नयनमा चीन सरकार र नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएको सम्झौतालाई दुबै स्वागत गर्दै प्राविधिक पूर्वाधार निर्माण र यान्त्रिक बौदिधकतामा सहकार्य गर्न दुबै पक्ष सहमत छन्।

नेपाल र चीनका विद्यार्थी, कलाकार निजी उद्यमीबीच मैत्रीपूर्ण आदाप्रदानका लागि दुबै पक्ष सहमत छन् ।

नेपालको पर्यटकीय तथा सांस्कृतिक संस्थाको विकासका लागि चीनले प्रतिवद्धता जनाएको छ । नेपालमा चिनियाँ पर्यटकलाई आकर्षणका लागि बेला-बेलामा मैत्रीपूर्ण महोत्सका लागि चीन सहमत भएको छ । सन् २०२५ मा चीनले नेपाल भ्रमण वर्षको रुपमा प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नागरिक तहको सम्बन्धलाई विस्तारका लागि आपसी सहकार्यका लागि दुबै पक्ष सहमत भएका छन् ।

चीनको राष्ट्रिय प्रेस तथा प्रशासन र नेपालको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच एक अर्काका सांस्कृतिक दस्तावेजन अनुवादको सहमतिको दुबैले स्वागत गरेका छन् ।

चीनलाई एक सिंगे गैँडा उपहार दिन पाएकोमा नेपालले खुसी व्यक्त गरेको छ । यस उपहार आपसी मित्रतालाई थप बलियो र चिरस्थायी बनाउने प्रतिक रहेको विश्वास दुबै पक्षको छ ।

नेपालमा चिनियाँ भाषा केन्द्र सञ्चालनका लागि स्वंसेवक पठाउन चीन तयार भएको छ । कन्फियुसियस संस्थान र चिनियाँ सांस्कृतिक केन्द्रबाट थप सहकार्य जारी राख्न दुबै पक्ष सहमत भएका छन् ।

१२. अन्तर्राष्ट्रिय सहकार्यमा वृहत्तर लोकतन्त्र कायम राख्न बहुपक्षीयतालाई उचित रुपमा सम्मान गर्न र विश्वव्यापी शासन व्यवस्थालाई अझै समतामुलक र न्यायपूर्ण बनाउन दुबैले जोड दिएका छन् । विकाशिल राष्ट्रका साझा हितलाई कायम राख्नका लागि संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय संयन्त्रका ढाँचाभित्र सहकार्यलाई सुदृढ गर्न दुबै पक्ष सहमत भएका छन् । आर्थिक भुमण्डलीकरणलाई थप खुला, समावेशी र सबैका लागि लाभदायक बनाउने सवालमा सहकार्यका लागि दुबै पक्ष सहमत छन् । विश्वव्यापी तथा क्षेत्रीय शान्ति, विकास र समृद्धिका साथै मानवजातिको साझा भविष्य सहितको समुदाय निर्माणका लागि सहकार्यमा दुबै पक्ष सहमत छन् ।

नेपालले चीनले प्रस्ताव गरेको विश्व विकास पहल (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ ) लाई साथ दिँदै यसमा सामेल हुन सहमति जनाएको छ । यसमार्फत नेपालको वृहत्तर हितमा सहयोग गर्न चीनले सहमति जनाएको छ ।

१३. प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको चीन भ्रमणको परिणामलाई दुबै पक्षले स्वागत गर्दै सन्तुष्टि व्यक्त गरेका छन् । नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ पार्दै आपसी र रणनीतिक साझेदारीमा यसले टेवा पुर्‍याउने दुबै पक्षले विश्वास व्यक्त गरेका छन् ।

आफ्नो न्यानो आतिथ्य र स्वागतका लागि प्रधामन्त्री प्रचण्डले चीन सरकार र चिनियाँ नागरिकलाई धन्यवाद दिँदै चिनियाँ नेतालाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । नेपालको भ्रमणको निमन्त्रणाप्रति चिनियाँ पक्षले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद व्यक्त गर्दै त्यसका लागि कुटनीतिक संयन्त्रबाट संवाद गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्