
काठमाडौं। साल्ट ट्रेडिङमा दैनिक उपभोग्य बस्तु खरिदका लागि उपभोक्ता लामबद्ध भएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य सामग्रीहरुको मूल्य आकाशिएको छ। जसका कारण सुपथ मुल्यमा सामान खरिद गर्न साल्ट ट्रेडिङमा सर्वसाधारणको भिड बढेको हो ।
काठमाडौंका खुद्रा पसलमा प्रतिकेजी १२० देखि १३० रुपैयाँ पर्ने चीनी साल्ट्र टेडिङ लिमिटेडका आउटलेटहरुमा प्रतिकिलो ९७ रुपैयाँमा पाइन्छ। अन्त भन्दा २०र३० रुपैयाँ सस्तो पाउने भएपछि साल्ट ट्रेडिङमा चिनी किन्नकै लागि निकै भिडभाड हुने गरेको छ।
मंगलबार दिउँसो कालीमाटीस्थित साल्ट्र टेडिङको केन्द्रीय कार्यालयमा चिनी किन्नेहरुको लामो लाइन लागेको थियो। बाहिरभन्दा साल्ट्र टेडिङले सस्तो मूल्यमा चिनी बेचेकाले किन्न आएको उपभोक्ताको भनाइ छ ।
साल्ट्र टेडिङले अहिले प्रतिव्यक्ति दुई किलोको चिनीको प्याकेट बेच्ने गरेको छ। जसको मूल्य १९४ रुपैयाँ रहेको छ।
बजारमा चिनीको मूल्य आकाशिएपछि एक सातादेखि साल्ट्र टेडिङमा चिनी किन्ने ग्राहकहरु बढेको साल्ट ट्रेडिङकी बिक्री विभाग सहायक प्रमुख रुकमणी घिमिरेले बताइन्। उपभोक्तालाई सहज होस् भनेर आफूहरुले पुरानो स्टक चिनी सस्तोमा बेचिरहेको उनले जानकारी दिइन्।














