
काठमाडौं । मोरङको केराबारी गाउँपालिकाका १० जना शिक्षकहरुले आफु आवद्ध रहेको राजनीतिक दलका भातृ तथा शुभेच्छुक संस्था त्यागेको घोषणा गरेका छन् ।
गाउँपालिकाको आमजुंगी आवसीय विद्यालयका शिक्षकहरुले असोज ८ गते सामूहिक विज्ञप्ति जारी गर्दै राजनीतिक दल र शिक्षकका संगठनहरु गुलाम भएको निष्कर्षसहित यस्ता कुनै पनि संस्थामा आवद्ध नरहने घोषणा गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा भएको आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिले शिक्षकहरुलाई धोका दिएको भन्दै उनीहरुले दलीय आस्थाबाट फाइदा नहुने निष्कर्षसहित आवद्धता त्यागको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनीहरुले दलीय आवद्धता त्याग गर्ने निर्णयसहित हाल आवद्ध र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाबाट राजीनामा घोषणा गरेका छन् ।















