Logo
Logo
कविता

अन्तिम गोरेटो



अगाडि आउँदा
परपर हराउने
फोसा जिन्दगी बाँचेकाबिच
यो लुकुमारी किन ?
उपरथुपर आहारजाहार
कति थप्दै जाने कुम्लो
भारी थाम्न नसक्ने उमेरमा

समय अगाडि गइसक्यो छाडेर
तर न कहिले चेत आयो
न भारी घट्यो
बोक्न नसक्ने हुँदा झन बढेको
जति पनि जम्मा गर्नु पर्ने
जे पनि संग्रह गर्नु पर्ने
केही नलागे ओछ्यानको वरिपरि
भित्र कोच्नु पर्ने
बाहिर छोप्नु पर्ने
कामगर्नेलाई भ्याइनभ्याइ
बोलाइएको बोलाई, कराएको कराई
कहिले नसकिने चाँजोपाँजो
यता फोनमा ताबेदारी, उता फोनमा आदेश

अक्सिजनको पाइप नाकमा
लामो पारिएको तीन कोठा रुङ्ने
जीवनको भित्र–बाहिर ट्याउँट्याउँ
अनवरत, कहिले नसकिने
कलुषित मनमा बढिरहेको दूषित भारी
त्यसलाई फुकाउँदै, त्यसलाई सुकाउँदै

भोलि को कता ? को कता ?
बाँकी समय प्रवाह मात्रै हो
जसले केही बेरपछि
बाचेका, होइन, बचेका धुमिल निशानी
फेट्दै लगेर बेपत्ता पारिदिन्छ

आजको दिनको यो पल
रमौँ रमाऊ
हिजो समाप्ति पछिको आजमा
हिजोको के चहक ? के बोक्रे रवाफ ?
वास्तविकता आज मात्रै हो
जहाँ अन्तिम गोरेटो
हाम्रो एउटै हो ।

प्रतिक्रिया दिनुहोस्