Logo
Logo

एकीकृत समाजवादीको ठहर- आर्थिक मन्दीले समाजमा आक्रान्त र निराशा बढ्यो


252
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आर्थिक मन्दीबाट आक्रान्त समाजमा निराशा, कुण्ठा र अराजकता विस्तारित भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई शनिबार भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

जनतामा व्याप्त निराशा र हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवाञ्छित तत्वहरू सक्रिय भएको एकीकृत समाजवादीको ठहर छ ।

एकीकृत समाजवादीको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मुलुक आर्थिक मन्दीबाट आक्रान्त भएको हुँदा समाजमा निराशा, कुण्ठा र अराजकता विस्तारित भएको देखिन्छ । जनतामा व्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवाञ्छित तत्वहरू हाम्रो समाजमा जातीय, धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाउनसमेत लागि परेका छन् । देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुन सक्छ ।’

साथै, एकीकृत समाजवादीले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्दै अगाडि भनेको छ, ‘लोकतन्त्रहरूको स्थायित्व र विकासका लागि सबभन्दा प्रमुख कार्यभार पर्याप्त रोजगारीको सिर्जना र सुशासन हुन् । संविधानको निर्माणपछि हामीले मुलुकको समृद्धि र समाजवादको स्पष्ट योजनाका साथ अगाडि बढ्नुपर्दथ्यो । राज्यका सबै नीति, योजना र कार्यक्रमहरू रोजगारी सिर्जना गर्न र सुशासन स्थापना गर्न केन्द्रित हुनुपर्थ्यो । कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादनका अन्य क्षेत्रहरू र विदेश नीतिसमेत बेरोजगारी र गरिबी उन्मूलन गर्न, औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजीको विकास गर्न, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन र संविधान बमोजिम न्यायपूर्ण वितरणको व्यवस्था गर्दै, सामाजिक विभेद अन्त्य गर्दै, राष्ट्रिय स्वाधिनता र एकताका साथ समृद्धि र समाजवादको आधार तयार गर्न सकिन्थ्यो ।’

तर, त्यसो नहुँदा आर्थिक समस्याहरूले राजनीतिक र राजनीतिक समस्याहरूले सामाजिक–आर्थिक समस्याहरूलाई अझ बढाउँदै लगेको एकीकृत समाजवादीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्