काठमाडौं । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी आश्विन २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल आश्विन २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिएको हो ।

फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ । खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलका लागि लाओसको टोली आश्विन २२ गते नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
उनले खेलको सम्पूर्ण तयारी अघि बढाइसकिएको र टिकटदर साधारण पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको जानकारी दिए ।
प्रतियोगीताको अनुमानीत बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ । लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ ।














