Logo
Logo
कला

‘गुन्द्रुकको अचार मिठो बनाउँछु’



पछिल्लो समय सौन्दर्य प्रतियोगिता कति हुन्छन् ? औँलामा गनेर साध्य छैन । तर, केही यस्ता सौन्दर्य प्रतियोगिता हुन्छन्, जसले इच्छाशक्ति र प्रतिभा भएहरुको सपना पूरा गर्दै आएका छन् । हेटौंडाकी सुष्मा सुबेदीलाई अहिले यस्तै लागिरहेको छ । यसै साता काठमाडौंमा सम्पन्न ‘न्यू लुक मिस एण्ड मिसेस युनिभर्सल-२०२३’मा ‘मिसेस’तर्फ शीर्ष विजेता बनेकी सुष्मा भन्छिन्, ‘अहिले आएर सानैदेखिको एउटा रहर र इच्छा पूरा भएको छ ।’

पेसाले स्वास्थ्यकर्मी सुष्मा मोडलिङ र अभिनयमा पनि रुची राख्छिन् । ‘सानैदेखि मिडियामा आउने रुची थियो’, सुष्मा भन्छिन्, ‘तर, त्योबेला समाजले छोरी मान्छेप्रति हेर्ने नजर अर्कैथियो । त्यसैले इच्छा भएर पनि ग्ल्यामरस क्षेत्रमा लागिनँ ।’ सुष्मा आफूलाई एक कुसल गृहिणीका रुपमा परिभाषित गर्छिन् । ‘कुकिङ’मा रुची राख्ने सुष्मा कुसल गृहिणी हुनुका लागि संस्कारी हुनुपर्ने बताउँछिन् । ‘न्यू लुक मिस एण्ड मिसेस युनिभर्सल-२०२३’ विजेता सुष्मा सुबेदीसँग एमपी सुब्बासँग जम्काभेट :

‘मिस एण्ड मिसेस युनिभर्सल’को उपाधि जित्दा कस्तो अनुभूति भइरहेको छ ?
खुसी छु किनकि मेरो एउटा इच्छा पूरा भएको छ । सानैदेखि मिडिया क्षेत्रमा आउने मेरो रहर र इच्छा थियो । तर, त्यसबेला विभिन्न कारणले आउन सकिनँ । विशेषगरी त्यो समयमा समाजले छोरी मान्छेलाई हेर्ने दृष्टिकोण नै फरक थियो । कला क्षेत्रमा लाग्ने छोरी मान्छेलाई राम्रो नजरले हेर्दैनथ्यो । त्यसैले इच्छा र रहरहरु मनमै लिएर बसेकी थिएँ । अहिले आएर त्यो इच्छा पूरा भएको छ ।

यो प्रतियोगितामा सहभागी हुने अवसर कसरी जुर्‍यो ?
मलाई ‘मिस एण्ड मिसेस युनिभर्सल’ प्रतियोगिता हुँदैछ भनेर पनि थाहा थिए । तर, हेटौंडामा रहेका मेरा साथीहरु आश्मा र निशुले थाहा पाएछन् र उनीहरुले भने कि, तिमी भाग लेउ, तिमी सक्छौँ, ट्यालेन्ट पनि छौँ भनेपछि सहभागी भएकी हुँ । आयोजकसँग चिनजान नै थिएन । तर, साथीहरु र परिवारको सपोर्ट पाएपछि भाग लिएकी हुँ ।

आफ्ना प्रतिस्पर्धीहरुलाई कसरी पछारेँजस्तो लाग्छ ?
सुरुमा हामी २२ जना थियौँ । फाइनलसम्म पुग्दा १६ जनामात्र भयौँ । सबै पाटिसिपेन्ट आफ्नो स्थानमा ट्यालेन्ट थिएँ । तर, किन हो, मलाई ट्रेनिङ प्रियडदेखि नै उपाधि जित्छु भन्ने कन्फिडेन्ट थियो । त्यही कन्फिडेन्टका कारण विनर बनेँजस्तो लाग्छ ।

यो सौन्दर्य प्रतियोगितामा सहभागी भएर के सिक्नुभयो ?
विशेषगरी आफूमा लुकेको इच्छा र प्रतिभालाई लुकाउन हुन्न । सकेसम्म आफूमा निहीत प्रतिभा, इच्छा र रहरहरु प्रस्फुटन गर्नुपर्छ । जहाँ सिक्ने मौका मिल्छ, त्यो अवसर गुमायो भने पछि परिन्छ । आँट र कन्फिडेन्ट भयो भने सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा यही प्रतियोगिताबाट सिक्ने अवसर पाएँ ।

‘मिसेस’हरुले यस्तो सौन्दर्य प्रतियोगितामा भाग लिन आवश्यक छ ?
मेरो व्यक्तिगत धारणामा आवश्यक छ किनकि छोरी मान्छे हो, विवाह गरिसकेपछि पनि उनीमा इच्छा र रहरहरु हुन्छन् । अविवाहित पूरा गर्न नसकेका रहरहरु हुन्छन् नि, ती रहर र इच्छा पूरा गर्नका लागि पनि ‘मिसेस’का लागि सौन्दर्य प्रतियोगिता गर्न आवश्यक छ । छोरी मान्छे कसैको बुहारी पक्कै होला, तर उनी छोरी त हुनु नि, त्यसैले विवाहित भएर पनि इच्छा र रहर भए गुम्साएर नराख्नु होला भन्न चाहन्छु । आजै मैले जसरी हिम्मत गरेर इच्छा पूरा गर्न पाएकी छु ।

तपाइँको मोडलिङमा पनि रुची हो ?
हो, जतिखेर सानै थिएँ । त्यो बेला मिडियामा आउने मनैदेखि इच्छा थियो । त्यो समयदेखि नै मोडलिङ, नृत्य र अभिनय इच्छा भएको हो । मैले केही म्युजिक भिडियो र टेलिसिरियलहरुमा अभिनय पनि गरिसकेकी छु ।

मोडलिङ र फिल्मका लागि अफर आयो भने गर्नुहुन्छ ?
मोडलिङ अवश्य गर्छु । तर, त्यसका लागि पहिले प्रोजेक्टबारे सोच्छु । फिल्मका लागि त अफर आएको पनि थियो । तर, जतिखेर म यो प्रतियोगितामा सहभागी भएर ट्रेनिङ प्रियडमा थिएँ, त्यो बेला भोजपुरी फिल्मको लागि अफर आएको थियो । तर, मैले रिजेक्ट गरेँ । तर, अब आयो भनेचाहिँ सोचेर काम गर्छु ।

कुसल गृहिणी बन्नका लागि के के गुण चाहिन्छ ?
सबैभन्दा ठूलो कुरा संस्कार हो । त्यसैले संस्कारी हुुनुपर्छ । साथै, धेर्यता, लगनशीलता र सासु-ससुराको मन जित्ने हुनुपर्छ । म पनि आफ्नो ठाउँमा संस्कारी छु जस्तो लाग्छ । त्यसैले त अहिलेसम्म श्रीमान र सासु ससुराको मन जित्दै आएकी छु । उहाँहरुले पनि मेरो इच्छा र रुचीमा समर्थन गर्दै आउनुभएको छ ।

तपाइँ कुकिङमा कतिको सौखिन हुनुहुन्छ ?
सौखिन नै छु । नेवारी सेट, आलु साँधेको, नेपाली टिपिकल खाना बनाउन सौखिन छु । मिठो पनि बनाउँनु सक्छु । गुन्द्रुकको अचार मिठो बनाउँछु ।

महिलाका लागि सुन्दरता कतिको आवश्यक छ ?
सुन्दरता महिलाको मुख्य गहना हो । त्यसैले सुन्दरता आवश्यक छ । भित्रि सुन्दरता त चाहिन्छ नै, तर बाहिरी सुन्दरता भनेको आम मानिसका लागि अपरीहार्य चाहिन्छ । महँगो लुगा लगाएरमात्र हुँदैन, मिलाएर लगाउन सक्नुपर्छ ।

तपाइँ फेसन कन्सस पनि हो ?
फेसन कन्सस भन्नाले त्यतिधेरै होइन । मलाई गरगहना लगाउन मनपर्दैन । सिम्पल र तर आफूलाई फिट र सुहाउँदो पहिरन लगाउन मनपर्छ । मेरो धारणा के छ भने, मानिसमा ‘सिम्पल लिभिङ, हाई थिङकिङ’ हुनुपर्छ ।

तपाइँको लक्ष्य के हो ?
म एक स्वास्थ्यकर्मी हुँ । मेरो कलंकीमा भाटिका डेन्टल केयर छ । त्यसैले भविष्यमा दुःख पाएका असाहय, गरिब र विकटका बृद्धबृद्धाहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने मेरो लक्ष्य छ । अहिले सकेजति गर्दै पनि आएकी छु ।

तपाइँ प्रेम विवाह कि अरेञ्ज ?
हामीले प्रेम विवाह गरेका हौँ । सुधीर रिसालसँग ०६२ सालमा छोटो समयको प्रेमपछि विवाह गरेका हाँै । उहाँसँग मेनपावरमा काम गर्दा भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस्