
काठमाडौं । फुटबल खेल्न इजरायल पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएका छन् ।
सावित्रा बुधबार राति इजरायलबाट काठमाडौं आइपुगेका हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएका थिए । अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएपछि सावित्रा घर फर्किएका हुन् ।
हमासको आक्रामणबाट १० नेपालीको मृत्यु भइसकेको छ भने २५४ जना नेपाली आज स्वदेश फिर्ता हुँदैछन् । उनीहरुलाई लिन परराष्ट्रमन्त्री एपनी साउद नेतृत्वको टोली इजरायल प्रस्थान गरिसकेको छ ।














