
काठमाडौं । कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा एसीसी यू-१९ प्रिमियर कपमा नेपालले इरानमाथि शानदार जित निकालेको छ । मलेसियामा आज बिहीबारदेखि सुरु भएकाे प्रिमियर कपमा इरानलाई २ सय ७४ को फराकिलो रनले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो ।
नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा मात्र ७९ रन बनाउँदै अलआउट भयो ।इरानलाई कम स्कोरमा रोक्न नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए ।
घातक बलिङ गरेका सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । दिपेश कँडेलले ७ ओभरमा ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । आकाश चन्दले र हेमन्त धामीले समान २ विकेट लिए । विकेट किपर अमेर खोर्सान्दले बनाएको ३७ रन नै इरानका लागि सर्वाधिक रह्यो ।














