Logo
Logo

राजनीतिक नेतृत्व नै दलाल पुँजीपति बन्दाको परिणाम



चालिसको दशकपछि नेपाली चाहनामा व्यापक परिवर्तन आयो । २०४६ को राजनीतिक क्रान्तिले व्यवस्था मात्र फेरेन, नेपालीको चाहना र आकांक्षामा पनि व्यापक परिवर्तन ल्यायो । राजनीतिक परिवर्तनसँगै पलाएका आशाहरूको सूची अगिन्ति छन् । तर, चार दशक बितिसक्दा पनि समृद्धिको चाहना र उच्च सफलताको आकाङ्क्षा पूरा हुन सकेको छैन । यति लामो समयसम्मको प्रयास र असफलतामा राजनीतिक नेतृत्व जिम्मेवार छन् ।

चार दशक अघि नेपालीमा चाहना र आकांक्षा नै थिएन भन्ने होइन । आज जसरी नै सुख र समृद्धिको चाहना स्वाभाविक थियो । तर, त्यसका आयामहरू स्वाभाविक र माटो सुहाउँदो थिए । आज समय परिवर्तन भएको छ । मानिसका इच्छा र चाहनाका दायराहरू असीमित भएका छन् । जुन, असीमित इच्छा र चाहनाहरू पनि वर्तमान समस्याका आंशिक कारण हुन् ।
आजका असीमित इच्छा र चाहनाहरू आंशिक कारक हुन् भन्दै गर्दा विकास र समृद्धिको खिलाफ बुझ्नु हुँदैन । किनकि, माटोसँग नमिल्ने चाहनाहरूले मानिसलाई कहिले पनि समृद्ध बनाउन सक्दैन । यतिखेर सोच्नुपर्ने कुरा के हो भने– कतै असीमित चाहनाहरू पनि आफ्नै लागि अभिसाप भएनन् ? यो कोणबाट पनि हरेक नेपालीले समीक्षा गर्नुपर्छ । जुन समीक्षाको विन्दुबाट सुदृढ अर्थतन्त्र र त्यसको बलमा विकास र समृद्धि सम्भव छ ।

०४६ को परिवर्तनलाई नेपालीको चाहना र आकांक्षामा व्यापक परिवर्तनको विन्दु मान्नुको कारण छ । जुन परिवर्तनसँगै नेपालमा खुला अर्थतन्त्र र निजीकरणले व्यापकता पायो । त्यसअघिको राज्य नियन्त्रित अर्थतन्त्र उन्नत थियो भन्ने मत छैन । र, थिइन पनि । तर, त्यसपछिको परिस्थिति झनै अनियन्त्रित भयो । खुला र नीति अर्थतन्त्रको नाममा मौलाएको विकृतिले आज देशको अर्थतन्त्र नै कोल्याप्स हुने चरणमा पुगेको छ ।

नेपालको अर्थव्यवस्था सामन्तहरूको कब्जामा थियो । ०४६ को परिवर्तनपछि सामन्तहरू ‘दलाल पुँजीपति’मा परिणत भए । खुला अर्थतन्त्र र निजीकरणको नाममा उनीहरूले नै अर्थव्यवस्था कब्जामा राखेका छन् । ‘खुला र उदार अर्थतन्त्रमा मात्र सबैले अवसर पाउँछन्’ भन्ने मान्यता गलत त थिएन । तर, अर्थतन्त्र कसको कब्जामा छ ? भन्ने बुझाइमा समस्या थियो । त्यसैले, खुला अर्थतन्त्र र निजीकरणमा आम जनताको पहुँच स्थापित हुन सकेन ।

चार दशकपछि पनि तीन ठूला राजनीतिक घटनाक्रम भए । जनयुद्ध, २०६२–६३ को जनआन्दोलन र नयाँ संविधान निर्माण । यी तीन घटनाक्रमका अनेक सकारात्मक र नकारात्मक आयामहरू छन् । जुन आयामहरू नै आजका थप समस्या हुन् । जुन समस्याहरूको समाधान नभएसम्म हाम्रा सपनाहरू साकार हुँदैनन् । नेपाली जनताको घर–आँगनमा सुख र समृद्धि पुग्दैन ।

जनयुद्ध चरम निराशाको परिणाम थियो । राज्यमा व्याप्त विकृति र विसङ्गतिबाट आजित जनतामा जनयुद्धका नेतृत्वकर्ताले असीमित आशाका किरणहरू छरेका थिए । जनयुद्धले सुनौलो राज्य व्यवस्थाको सपना देखाएको थियो । सुख र समृद्धिका आशाहरू छरेको थियो । त्यस बखतका आश्वासनहरू कायापलट किसिमका थिए । तर, जनयुद्ध पछिका व्यवहारहरू त्यस अनुकूल भएनन् । र, आज आशाहरूको अवसान हुने अवस्था बनेको छ ।

जनयुद्ध र जनआन्दोलनको बलमा राज्यव्यवस्था फेरियो । संविधानमा जनताका अधिकारहरू सुनिश्चित भए । तर, संविधानमा सुनिश्चित अधिकार आज पनि व्यवहारमा लागू हुन सकेका छैनन् । संविधानको प्रस्तावनाबाटै निर्दिष्ट समाजवादी यात्रा अलपत्र परेको छ । अर्थात्, संविधानले पनि आशाहरू जगाएर अन्ततः निराशामै पु¥याएर छोड्न लागेको छ । जुन निराशाले राज्य असफलताको दिशातिर अघि लैजाने खतरा रहन्छ ।

हरेक दशकमा ठूला–ठूला राजनीतिक परिवर्तन भएका छन् । राजनीतिक घटनाक्रमहरूको उठान र बैठानले दशककै अवधि खर्चेका छन् । हरेक घटनाक्रमको दशक लामो राजनीतिक सङ्क्रमणले देश वर्षौँ पछि धकेलिएको छ । तर, राजनीतिक सङ्क्रमण अन्त्यपछि सङ्क्रमणका क्रममा राज्यले बेहोरेको क्षतिको पूर्ति गर्न राजनीतिक नेतृत्व असफल भएका छन् । आज त्यसैको परिणाम भोग्नु परेको छ ।

नेपाली अर्थतन्त्र करिब–करिब विघटनको चरणमा पुगेको छ । यसको मुख्य कारण अनियन्त्रित अर्थव्यवस्था हो । अनियन्त्रित अर्थव्यवस्थाका कारक राजनीतिक नेतृत्व हुन् । खुला र निजी अर्थव्यवस्थाको नेतृत्वकर्ताका रूपमा राजनीतिक नेतृत्व देखा परेका छन् । सत्ता र शक्तिको आडमा राजनीतिक नेतृत्व नै दलाल पुँजीपतिका रूपमा स्थापित हुँदा त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ ।

वर्षौँदेखि आर्थिक विकास र समृद्धिको समपना देखाइएको छ । हरेक वर्षको बजेटमार्फत आर्थिक वृद्धिका उच्च अंकहरूको आश्वासन बाँडिएको छ । तर, उच्च आर्थिक विकासको लक्ष्य लिने हरेक नीति तथा कार्यक्रम र बजेटले दल पुँजीपतिकै पक्षपोषण गरिरहेको छ । कार्यान्वयनको चरणमा पुग्दा जतालाई हाता लाग्यो शून्य हुन्छ । यसरी नै, हरेक पटक सपना बाँडेर जनतालाई पंगु मात्र बनाइएको छ ।

हरेक राजनीतिक घटनाक्रमले नेपाली जनतामा राजनीतिक चेतनासँगै असीमित चाहनाहरू पैदा गर्दै आएको छ । त्यसमध्ये आर्थिक समृद्धि हरेक नागरिकको पहिलो चाहना बन्ने गरेको छ । हामीले अवलम्बन गरेको व्यवस्था नै त्यस्तो हो । जुन व्यवस्थामा नागरिकले आफ्नो सम्पूर्ण जिम्मा आफैले लिनुको विकल्प छैन । त्यसैले, राजनीतिक नेतृत्व जसरी नै आम नागरिकमा पैसा पहिलो प्राथमिकतामा पर्दै आएको छ । र, पैसा आर्जन गर्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुनुपर्ने आम बाध्यता जस्तो बनेको छ ।

सूचना र प्रविधिको विकाससँगै आम नागरिक दुनियाँसँग बेखबर छैन । गाउँको एउटा कुनामा बसेर संसारको विकास र समृद्धि देखेका हरेक नेपालीले सोही अनुसारको विकास खोजेका छन्, यस्तै जीवनशैली रोजेका छन् । तर, हाम्रो अर्थतन्त्रले विश्वको जस्तै विकास र जीवनशैली धान्ने आधार नै बनाइदिएको छैन । दुनियाँलाई देखेर क्षणभरमै आफ्नो अवस्था बदल्नुपर्ने बहुसंख्यक नेपालीको असीमित र अनियन्त्रित चाहना हाम्रै कारण बनेको हो ।

राजनीतिक नेतृत्वले सपना देखाए । तर, साकार पार्ने आधार बनाइदिएनन् । आफ्नो जीवनशैली विश्वको विकसित राष्ट्रका नागरिककै दाँजोमा पु¥याए । तर, पिँधका जनतालाई सपनामै भुलाए । नेतृत्वले जनतालाई स्वार्थ पूरा गर्ने साधनको रूपमा उपभोग गर्दै आए । त्यसैको बेलामा असीमित आर्जनको बाटोमा लागे । आज उनैको चाहनामा यहाँको आर्थिक विकास र समृद्धि गौण बनेको छ । सीमित व्यक्ति रातारात नवधनाढ्यका रूपमा स्थापित हुँदै देशको अर्थतन्त्र ढल्दै छ ।

देशले लामो समयदेखि रोजगारी समस्या झेल्दै आएको छ । आर्थिक वृद्धि र विकासले अपेक्षाकृत सफलता पाउन नसके पनि आफ्नै मौलिकताका कारण अर्थतन्त्र नै संकटमा पर्ने अवस्था आएको थिएन । तर, समस्याहरू बढ्दै जाने, समाधानको उपायहरू नखोज्ने व्यवहारले संकट निम्त्याएको हो । किनकि, नेपालमा चरम आर्थिक सङ्कटका सङ्केतहरू धेरै पहिलेदेखि देखिन थालेका थिए । त्यसको समाधानको बाटो कहिले रोजिएन ।

विकृति र विसङ्गतिले सीमा नाघेको छ । रोजगारी र आर्थिक समस्याले हदैसम्म पेलेको छ । व्यापार व्यवसाय ठप्प हुँदा आर्थिक गतिविधि नै शून्य भएको छ । आम नागरिकमा चरम निराशा र आक्रोश बढेको छ । हरेक नेपालीले ‘स्वदेशी सपना’ त्यागिसकेका छन् । स्वर्गजस्तो देशको विमानस्थलमा जानेहरूको होइन, आउनेहरूको लाम हुनुपर्ने हो । तर, हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान गेटमा वर्षौँदेखि लाग्दै आएको भीड अब झनै बढ्ने छ ।

अर्थतन्त्र विघटनबाट बचाउनु अहिलेको मुख्य जिम्मेवारी र कार्यभार हो । यस क्षेत्रमा देखिएका गम्भीर समस्या पहिल्याउनु र समाधानको बाटो खोज्नु अति आवश्यक छ । यदि, अर्थतन्त्र अवस्था यस्तै रहने हो भने छिट्टै विघटन हुने छ । तर, देश नै असफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्