Logo
Logo

मुन्धुम र प्रकृतिको अनुपम संयोजन फङफङदेन झरना


आङ्बुहाङ अवोध अविरल र विवेक कोइराला


माङसेबुङ । गत असोज २९ मा ज्यादै सुन्दर मुन्धुमी झरना ‘फङफङदेन झरना’को यात्रामा थियौँ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारदेखि करिब पाँच घण्टाको कठिन मोटरसाइकल यात्रापछि हामी गन्तव्यमा पुग्यौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा ४ मा अवस्थित यो झरना पुग्दा बिहानको ११ बजेको थियो । 

‘फङ फङ’ गर्दै अकासबाट एउटा नदी झरनाको रूपमा आँखै अगाडि धर्तीमा हाम फाल्दै थियो । झरनाको आवाजले कान बन्द भए । तीन सय मिटरमाथिबाट झरना जमिनमा बजारिएपछि उठेको जल वाष्पमा जताततै इन्द्रेणी देखियो । टन्टलापुर बिहानीमा पनि झरना आसपास वर्षा भइरहेको थियो ।

फङफङदेन झरनाको दृश्यले मुटुको गति एक्कासि बढ्यो । मन एक प्रकारको त्रास र रोमाञ्चकताले भरियो । झरनातर्फ फर्केर सेवा गर्‍यौ । फङफङदेन झरना सुने, पढे र कल्पना गरेभन्दा लामो, ठूलो र भव्य थियो । 

फङफङदेन झरनाको पाइलामा मिडल मेवा हाइड्रोका एक गाडी चालक भेटिए । झरनाबारे केही जानकारी लियौं । तिनै चालकको सल्लाह मुताबिक फङफङदेन र मेवाखोलाको संगमस्थानमा रहेको देवीथानमा सेवा गर्‍यौँ । झरनाका केही तस्बिर खिच्यौँ । त्यसपछि झरना नजिकबाट हेर्न निर्माण गरिएको चौतारातर्फ लाग्यौँ । 

देवीथानदेखि करिब दुई सय मिटर जति उकालो चढ्यौँ । बाटोको केही भागमा ढुङ्गा र सिमेन्टको राम्रो सिँढी निर्माण गरिएको रहेछ । सिँढीको अन्त्यमा झरनाको जल वाष्पले निथ्रुक्क र ल्याउले भरिएको चौतारो रहेछ । झरनाको करिब पाँच सय मिटर टाढा रहेको चौतारोको बिचमा ठुलो सिलाम साक्मा राखिएको रहेछ । त्यहाँ पुग्दा फङफङदेन झन् जोडले गडगडाइरहेको थियो ।   

त्यहाँ पुगेको एकाध मिनेटमै झरना जमिनमा बज्रिएर उठेको बाफ र वर्षाले निथ्रुक्क भिज्यौ । झरना अजङ्गको गगनचुम्बी पहरबाट फङ–फङ गर्दै बज्रिरहेको थियो । जता हेर्‍याै उतै इन्द्रेणी । झरनाको दर्जनौं तस्बिर र भिडियो कैद गर्‍यौ । छोटो भिडियो सन्देश बनायौँ । 

त्यस दिन झरना हेर्ने आउने हामी मात्र रहेछौँ । झरनाको अगाडि धेरै बेर टिक्न सकेनौँ । एक त धेरै नै भिजिसकेका थियौँ । अर्कोतर्फ, झरना आफ्नै शिरमा डरलाग्दो आवाजका साथ बज्रिरहेको हुनाले भयवित थियौं । करिब १५ मिनेट समय बिताएपछि सडकतिर फर्कियौँ ।

झरना नजिकै रहेको होटलमा खाना खायौँ । झरना फङ–फङ आवाजका साथ झर्ने भएकाले लिम्बू भाषामा ‘फङफङदेन’ नामकरण गरिएको जानकारी पायौँ । मुन्धुममा फङफङदेन झरनाको चर्चा पाइन्छ । मानिसको आकाङ्क्षा पूरा गर्ने तथा निःसन्तानलाई सन्तान दिने झरनाको रूपमा पुजिँदो रहेछ ।   

त्यसपछि पुगियो फङफङदेन     

बिहानको ७ बजे मोटरसाइकलबाट झरनातर्फको यात्रा तय भएको  थियो । त्यसअघि ताप्लेजुङमा रहेको मुक्कुमलुङ माङ अर्थात् पाथीभरा देवीको दर्शन गरेका थियौँ । फुङलिङबाट करिब एक घण्टाको यात्रापछि तमोर र मैवा खोलाको दोभानमा रहेको दोभान बजार पुगेर खाना खायौँ । मेरिङदेन गाउँपालिकामा पर्ने ताप्लेजुङको दोस्रो ठुलो सहर हो, दोभान बजार । कालो सुनको रूपमा चिनिने अलैँचीको बास्ना फैलिएको दोभान बजारबाट म्याखला क्षेत्रतर्फ हाम्रो यात्रा अघि बढ्यो ।  

दोभानदेखि फङफङदेन झरनासम्म मिडल मेवा हाइड्रोले सडक निर्माण गरी ग्राभेल गरेको रहेछ । सान्थाक्राको कठोर पहाडलाई फोडेर सान्थाक्राको सुन्दर बेसी चिर्दे सडक सुलुम्फीबाट अघि बढ्छ । सान्थाक्रा, खाम्लुङ, लिङ्तेप चिर्दै थुकिमा पुगियो । थुकिमा र साँबा जोड्ने मेवाखोलाको पुल तरेपछि हामी साँबा पुग्यौँ । यी गाउँहरू सेरेङ, हाङगाम, लिङतेप, साँबा, नाल्बो थरका लिम्बूहरूको उद्गमस्थल पनि हुन् । 

मेवाखोला कोरिडोरमा निर्माण गरिएको सडक मनमोहक धान बारी, मकै बारी र अलैँची बारी चिर्दै अघि बढ्यो । यसका साथै सखुवाको जंगल र उतिसका अनेक जंगल कटेपछि फङफङदेन पुगियो । बाटामा थुप्रै लिम्बू बस्ती र परम्परागत घरहरू अवलोकन गर्न पाइयो । फङफङदेन झरना पुग्नुअघि अनेक साना फङफङे झरनाको अवलोकन मिल्यो । सदरमुकाम फुङलिङ, हान्द्रुङ, थोक्लिङ, नाल्बो र साँबा हुँदै पनि फङफङदेन पुग्न सकिन्छ ।

लेखकद्वय आङ्बुहाङ अवोध अविरल र विवेक कोइराला फङफङदेन झरना क्षेत्रमा ।

हाइड्रोले हाइलाइट गरेको झरना 

प्रकृतिको अनुपम छटा र मुन्धुमी महत्वको फङफङदेन झरना पर्यटनको प्रचुर सम्भावनाले भरिएको छ । यो झरना नेपालको अग्ला र सुन्दर झरनामध्ये एक हो । तथापि, भौगोलिक विकटता र प्रचार–प्रसारको कमिले ओझेलमा छ ।

फङफङदेनको पाइलाबाट मेवा डेभलोपर्स लिमिटेडले मिडल मेवा हाइड्रो पावर निर्माण गरिरहेको छ । ७३.५ मेघाबाट विद्युत् उत्पादन क्षमताको सो हाइड्रोले मेची राजमार्गको बाह्रनन्दे खण्डबाट ३२ किलो मिटर सडक मर्मत गरेको छ । सडकले झरनालाई जोडेसँगै त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको छ । 

सदरमुकाम फुङलिङदेखि १६.८ किलोमिटर हवाई दुरीमा रहेको सो झरना हेर्न सदरमुकाम र विभिन्न जिल्लाबाट पर्यटक पुग्ने गरेका छन् । तोक्पोगोला जानो बाटोमै पर्ने यस झरनाका लागि प्रचार–प्रसार र भौतिक विकास आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्