Logo
Logo

किन आउदैछन सीपीसी तिब्बत सचिव ?



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत सचिव वाङ जुङचेङ नेपाल आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार उनी कात्तिक २३ मा नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा भुकम्प जानुअघि नै उनी नेपाल आउने कार्यक्रम तय भएको थियो ।

भूकम्पबाट प्रभावित रहेका जनता र क्षेत्रमा चीनले राहतस्वरुप १० करोड बराबरको सहयोग गर्ने घोषणा गरिसकेको छ । उनको भ्रमणले यसका अतिरिक्त अन्य विकास निर्माणको काममा पनि सहयोग हुने अपेक्षा राखिएको छ ।

‘उहाँले नेपाल भ्रमणमा के के सम्झौता गर्ने भन्ने सम्बन्धमा गृहकार्य भइरहेको छ । चिनियाँ पक्षका तर्फबाट नेपालस्थित चिनियाँ दूतावासले यसबारेमा काम गरिरहेको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘उहाँको भ्रमण दुईदेखि तीन दिनसम्मको हुनेछ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोजमा भएको चीन भ्रमणका दौरान सचिव वाङसँग पनि भेटवार्ता भएको थियो ।

उक्त अवसरमा दुई देशबीचको सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको थियो । चीन भ्रमणका क्रममा तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्डलाई गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं सीपीसी तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेकी थिइन् ।

त्यतिबेला जनवादी गणतन्त्र चीन सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एक मात्र कानुनी सरकार भएको, ताइवान चीनको अभिन्न भाग भएको र नेपाली पक्ष ‘ताइवान स्वतन्त्रता’ को विरुद्धमा प्रतिबद्धता जनाएका थिए ।

अहिले वाङ जुङचेङ नेपाल भ्रमणमा आएका बेला पूर्वाधार, सडक, ट्रान्समिसन लाइन, व्यापारिक र पारम्परिक नाका सञ्चालनमा ल्याउने, नेपालतर्फको सडकको स्तरोन्नति र विभिन्न परियोजना अघि बढाउनेलगायतका विषयमा सचिव वाङको भ्रमणमा कुराकानी हुने बताइएको छ ।

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र अन्य समयमा भएका सहमति र सम्झौताका सम्बन्धमा पनि कुराकानी हुनेछ । उनको भ्रमणका दौरान नेपाल र तिब्बतको ल्हासामा सिधा हवाई उडानका बारेमा पनि कुराकानी हुने गरी गृहकार्य भइरहेको स्रोतले बतायो । यसअघि पनि नेपाल ल्हासामा सिधा उडान हुने विषयमा दुई देशबीच संवाद चलेको थियो । तर, त्यो सफल हुनसकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्