Logo
Logo

आइजी र एआइजीको चलखेलमा को–को ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ माघ । नेपाल प्रहरीले सोमबार २७ औं महानिरीक्षक पाउने आँकलन धेरैले गरेका थिए । तर, अनेक चलखेलका आधारमा नियुक्ति हुन सकेन । आइजी सर्वेन्द्र खनालदेखि डिआइजी विश्वराज पोखरेलसम्मको चलखेलका कारण सोमबार निर्णय हुन नसकेको स्रोत बताउँछ ।

प्रहरी महानिरीक्षक खनाल आफ्नै कार्यकाल थप्ने लबिङमै छन् । एआईजी पुष्कर कार्की पनि आफ्नो मात्र म्याद थपेर आइजी हुने खेलमा छन् । ठाकुर ज्ञवाली त स्वभाविक दाबेदार नै भए । साथै विश्वराज पोखरेल आफूसमेत आइजी बन्न तयार रहेको भन्दै हिड्न थालेको छन् । यीनै खेलहरुका कारण सोमबारको बैठकले निर्णय गर्न नसकेको हो । मंगलबारको बैठकले आईजिपीको टुंगो लगाउने छ । उनीहरुमध्ये ठाकुरकै सम्भावना धेरै भएको र आजै निर्णय गर्दा अदालतमा मुद्दा पर्नसक्ने भएकाले मंगलबार निर्णय गर्न लागिएको स्रोत बताउँछ । यसपटक आइजीभन्दा एआइजी बढुवामा मारामार हुने देखिएको छ ।

एआइजीको तीन मात्र पद रिक्त रहेको छ । तर त्यसमा एक दर्जन प्रतिस्पर्धी भएकाले चर्काे प्रतिस्पर्धा हुने देखिएको छ । अहिले एआईजी बढुवा हुनेहरु पछि आइजी बन्ने सम्भावना हुने भएकाले पनि यस्तो प्रतिस्पर्धा देखिएको हो ।

नयाँ ब्याचबाट शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्की बढुवाका दाबेदार हुन् । उनीहरुमध्ये शैलेश थापाको राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छैन । तर, उनी क्षमतावान र इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनका लागि भक्तपुरका नेता महेश बस्नेतले लबिङ गर्दै आएको स्रोत बताउँछ । डिआइजी थापा भक्तपुरकै हुन् ।

पालको प्रधानमन्त्री निकट समूहसँग राम्रो सम्बन्ध छ । सोही आधारमा उनी डिआईजी बढुवामा दोस्रो नम्बरमा उक्लिएका थिए । निरज शाहीलाई मध्यम प्रहरी अधिकृतका रुपमा लिइन्छ । यसअघि बढुवामा पछि पारिएका प्रद्युम्नलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाउँदैनन् । उनी रमेश खरेलपछि प्रहरीमा ‘ड्यासिङ’ भएका प्रहरीका रुपमा चिनिन्छन् । नेताको चाकडी नगर्ने भएकाले उनलाई पनि बढुवामा समस्या हुने देखिन्छ ।

त्यस्तै गत बैशाखमा मात्र डिआईजीमा बढुवा भएका विश्वराज पोखरेल पनि अहिले नै आइजी हुने दाउमा छन् । सिनियरलाई समेत उछिनेर उनलाई बढुवा गरिएको थियो । अहिले एआइजी भएर असारमा आइजीी हुने उनको ‘गेमप्लान’ छ । स्रोतका अनुसार चर्काे प्रतिस्र्पा हुने भएकाले एआइजीको दरबन्दी थप्नेबारे छलफल सुरु भइसकेको छ । यही सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी घटाएर तीनमा झारेको थियो ।

त्यस्तै डिआइजीका २३ दरबन्दी रिक्त हुनेमा छ । त्यसमा पनि बढुवाको लागि चहलपहल सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्