Logo
Logo

‘दृष्टि’विरुद्धको मुद्दामा डिएसपीको हार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ माघ ।
दृष्टि मिडियाका सम्पादक शम्भु श्रेष्ठका विरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा दृष्टि मिडियाको जित भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेशबहादुर सिंहले गाली बेइज्जती मुद्दा हालेका थिए । जिल्ला अदालतले सिंहको दाबी नपुग्ने फैसला मंगलबार गरेको छ ।


जिल्ला न्यायीश ब्रजेश प्याकुरेलको इजलाशले यस्तो फैसला गरेको हो । दृष्टि मिडियाका तर्फबाट अधिवक्ता रविन्द्रकुमार ढुंगानाले बहस पैरवी गरेका थिए । डिएसपी सिंहले दृष्टि साप्ताहिक र दृष्टि अनलाइनमा प्रकाशित समाचारले आफ्नो मानहानी भएको भन्दै मुद्दा दायर गरेका थिए । जबकी त्यसको खण्डन समेत पठाएका थिएनन् । प्रेस काउन्सिल नेपालमा समेत उजुरी गरेका पनि थिएनन् । यदी समाचारमा चित्त नबुझे खण्डन पठाउने तथा प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने प्रावधान छ । उनले गाली बेइज्जती मुद्दाको हतियार प्रयोग गरेका थिए ।
प्रहरी सरुवामा खराब पृष्ठभुमी भएका व्यक्तिहरुले महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै २०७६ साल भदौ १५ गते दृष्टि अनलाइन र भदौ १७ गते दृष्टि पत्रिकामा समाचार प्रकाशित भएको थियो । खराब प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी दिंदा शान्ति सुरक्षा कमजोर हुने र त्यसबाट नागरिक असुरक्षित हुने समाचार प्रकाशित भएको थियो । त्यसबाट आफ्नो गाली बेइज्जती भएको भन्दै सिंहले मुद्दा दायर गरेका थिए । तर, अदालतले उनको दाबी नपुग्ने फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्