काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानञ्ज–कप्तानगञ्ज घटनाको अनुसन्धानका लागि ‘न्यायिक आयोग’ गठन गर्न माग गरेको छ । कांग्रेसले सुरुदेखि नै सुनसरी घटनामा न्यायिक आयोगको माग गर्दै आएको छ भने सांसदहरूले पनि सोही विषय उठान गर्दै आएका छन् ।

मंगलबार कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति निकालेर सरकारी संयन्त्र मात्र राखेर बनाइने आयोगले सरकारका कमजोरी लुकाउने काम मात्र गर्ने संशय व्यक्त गरेको र कांग्रेसको त्यो दाबी र संशयलाई सही साबित गरेको जनाएका छन् ।
निष्पक्ष आयोग गठनको मागसहित विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य स्थिति गम्भीर बन्दासमेत सरकारले कुनै चासो नदेखाएकोमा कांग्रेस थप गम्भीर र चिन्तित भएको चालिसेले बताए ।
“नेपाली कांग्रेस यसै विज्ञप्तिमार्फत तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न जोडदार माग गर्दछ,” उनले भने ।
राज्यको दमनका कारण निर्दोषको ज्यान गइरहेको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडले ठूलो क्षति पुगेको घटनामा सरकारले न्याय दिने प्रतिबद्धता गरे पनि चारजनालाई सहिद घोषणा गर्नुबाहेक अन्य सम्झौता अलपत्र पारेको कांग्रेसको ठहर छ ।
सरकारको गैरजिम्मेवार रवैयाकै कारण स्थानीय समुदायमा आक्रोश तीव्र बढेको र यसले अर्को दुर्घटना निम्त्याउने चेतावनी प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले भने, “सरकारले गरेका सम्झौताहरूको अविलम्व कार्यान्वयन गरी तत्काल काम अगाडि बढाउन जोडदार माग गर्दछ ।” सरकारले सहमति गर्ने, तर कार्यान्वयन नगरी त्यसलाई कीर्ते कागज नबनाउन पनि आग्रह उनले गरेका छन् । सरकारप्रतिको अविश्वासका कारण समाज र राष्ट्रमा नैराश्यता बढेको उनले बताए ।
“यस गम्भीर स्थितिलाई सरकारले समयमै संवेदनशील भई मनन गरोस् । नेपाली कांग्रेसको यो बैठक सरकारलाई गम्भीर बन्न अनुरोध गर्दछ,” उनले भने ।















