Logo
Logo

दुईपटक प्रधानमन्त्री भएका ओली प्रसाईंसँग रक्षात्मक


डा. दीपेश केसी


यतिबेला चर्चामा छन्, दुर्गा प्रसाईँ । मेडिकल व्यवसायी प्रसाईँको उग्र अभिव्यक्तिले मंसिर ७ गते काठमाडौंमा ठूलै भिडन्त हुने हो कि भन्ने आम चिन्ता छ ।

सामाजिक सञ्जालमा अश्लीलता र अराजकता बढी चासोमा परिरहँदा त्यसलाई बुझेका प्रसाईँ लगभग त्यसरी नै प्रस्तुत भएका छन् । उनले सर्वसाधारणको सेन्टिमेन्ट बुझेर गतिविधि पनि चलाएका छन् । सस्तो लोकप्रीयता कमाउने प्रवृत्तिलाई जोडबल दिएका छन् ।

बैंकहरूको अरबौं रकम नतिरेर बैंकलाई उल्टै धम्की दिइरहेका छन् । यो एक प्रकारको अराजक प्रवृत्ति नै हो । तर, उनको हाई हाई गर्नेहरूको जमात उत्तिकै छ । प्रसाईँले बोलेका कुराहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

हजारौं लाइक र शेयरले प्रसाईँलाई नेताजस्तो बनाएको छ । उनको सार्वजनिक कार्यक्रम सुन्न सयौं युवा एकसाथ भेला हुन्छन् । थपडी बजाउँछन् । कहिलेकाहीँ उनको भाषण सुन्दा हो कि जस्तो पनि लाग्छ ।

दुर्गा प्रसाईं नेपालमा अराजक, दिग्भ्रमित र झुटा आश्वासनको राजनीतिक गर्ने प्रवृत्तिको निरन्तरता मात्र हुन् । उनलाई यो अवस्थासम्म ल्याउनमा मुख्य दलका केही नेताहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । विशेषगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले । प्रसाईँ ओलीलाई हजुरबुवा भन्थे । उनको गुणगान गाउँथे । ओली पनि उनलाई निकै महत्व दिन्थे ।

ओलीले प्रसाईँको निवासमा बसेर मार्सी भात खाएको तस्बिर भाइरल नै भएको थियो । दुर्गा प्रसाईंले ओली र प्रचण्डलाई साथमा राखेर भात खुवाए र तस्बिर खिचेर भाइरल बने । उनको उपनाम नै मार्सी बन्न पुग्यो कुनैबेला ।

ओलीले प्रसाईँलाई एमालेको केन्द्रीय सदस्यमा योग्य ठाने । राज्यको महत्वपूर्ण पदमा पुगेर एमालेको राजनीतिमा सक्रिय रहेका कार्यकर्ताहरुले पनि त्यो पद पाउन हम्मे परेको यथार्थ छँदैछ । एमालेभित्र लामो समय संघर्ष गरेकाले पनि त्यो पद पाउन सकेका छैनन् ।

उतिबेला ओलीलाई रिझाएर प्रसाईंले केन्द्रीय सदस्य हात पारे । उनले संसदीय चुनावको टिकट दाबी गरेपनि पाएनन् । त्यसपछि उनले एमाले र ओलीविरुद्ध विष वमन नै गर्न थाले । ओलीका आन्तरिक विषयहरुको रहस्य खोल्न थाले ।

कम्बोडियामा ओलीको लगानीबारे फ्रान्सका खोज पत्रकार ज्याकार्डले ग्लोबल वाच एनलिसिसमार्फत् गरेको खुलासालाई प्रसाईंले चर्चामा ल्याइदिए । यो खबरको खण्डन ओलीले गरे पनि न त कम्बोडियाको सरकार बोलेको छ न त ज्याकार्डले खण्डन गरेका छन् ।

ओलीका विश्वासपात्र महेश बस्नेत पनि तारोमा परे प्रसाईंको । कुनैबेला बस्नेत र प्रसाईंबीच घनिष्ठ सम्बन्ध थियो । अहिले एक अर्काको दुश्मन बनेका छन् उनीहरु । एक अर्कालाई नग्याँउन सक्रिय छन् दुवै । मंसिर ७ गते मुठभेडमा उत्रने गरी तयारीमा छन् दुवै ।

ओलीको निर्देशन बिना बस्नेत प्रसाईंविरुद्ध यति आक्रामक भएनन् होला । रोचक त यो छ कि देशको दुईपटक प्रधानमन्त्री भएका ओली प्रसाईंसँग रक्षात्मक अवस्थामा पुगेका छन् ।

राजनीतिक जीवनमा ओली यति रक्षात्मक त्यो पनि कुनै दरिलो राजनीतिक जनाधार नभएका प्रसाईंसँग भए भन्ने घटनाले ओली कतिसम्म पानीमा छन् भन्ने कुरा बुझ्न सकिन्छ । यो घटनाले पनि ओली कति कमजोर भइसके भन्ने मापन गर्न सजिलो हुन्छ ।

कुनैबेला दुईतिहाइको बहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्री ओली मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग जुध्नुपर्ने अवस्थामा झरेका छन् अहिले । त्यो पनि आफैले एमालेको केन्द्रीय सदस्य बनाएका व्यक्तिसँग । ओलीको राजनीतिक निर्णयहरु कति फितलो र अपरिपक्व हुँदै गएका थिए भन्ने बुझ्न सकिने आधार यो पनि हो ।

कुनै बेला कठोर निर्णय लिएर राजनीतिक हलचल ल्याउने ओली एकपछि अर्को गर्दै आफ्नै खुट्टामा बन्चरो हान्दै गए । दुई तिहाईको सरकारको नेतृत्व गर्दा उनमा अहम् बढ्यो । आफूलाई सर्वशक्तिमान ठान्न थाले । देशको भूराजनीतिक अवस्थिति बिर्सेर कूटनीतिक सन्तुलन बिगार्न थाले ।

दुईतिहाइको समर्थन घट्दै बहुमतमा पुग्यो । आफूलाई दुईतिहाइको प्रधानमन्त्री बनाउने संसदलाई असंवैधानिक रुपमा विघटन गरे, त्यो पनि एकपटक नभई दुईपटक । ओलीको असवैधानिक कदम दुईपटक नै सर्वोच्च अदालतले असफल पारिदियो । उनी त्यसपछि राजनीतिक रुपमा ओरालो लाग्दै गए ।

निर्णयहरु फितलो र प्रत्युत्पादक बन्दै गएका छन् । ओलीको बोली कुनैबेला बजनदार मानिन्थ्यो । अहिले दुर्गा प्रसाईँसँग वाकयुद्ध गर्दा ओलीको स्तरमा झर्दै गएको छ । अब उनी पुराना ओली रहेनन् । राजनीतिक कुरामा भन्दा अराजनीतिक कुरामा ओलीले समय खर्चिन थालेका छन् । प्रसाईँजस्तै अन्टसन्ट बोल्न थालेका छन् । यो उनको ओरालो यात्रा हो ।

ओलीले जसलाई चाह्यो त्यसलाई गोजीबाट झिक्दै पद दिन थाले । जसमा दुर्गा प्रसाईं पनि परेका थिए । आज तिनै प्रसाईँसँग सिंगौरी खेल्ने अवस्थामा झरेका छन् ओली । योभन्दा दयनीय अवस्था के हुनसक्छ ओलीको ।

उनी आफ्ना पछिल्ला निर्णयहरुमा कति चुकेका छन् भन्ने यसबाट पनि बुझ्न सकिन्छ । प्रसाईंले ओलीबाट धेरथोक सिकेका छन् । सस्तो लोकप्रीयताका लागि बोल्छन् र भीडको समर्थन लिन सक्छन् । तर, त्यो तत्कालका लागि हो ।

कुनै बेला माओवादी अध्यक्ष प्रचण्डलाई लोकल फर्सीको व्यवस्था गर्ने प्रसाईँलाई अहिलेको हैसियतमा उठाउने ओली नै हुन् । गणतन्त्र ल्याउने माओवादीबाट एमाले हुँदै प्रसाईं राजा ल्याउने नेतृत्व गर्छु भन्दै हिंडेका छन् ।

प्रसाईँको नेतृत्वमा राजसंस्था फर्कँदैन भन्ने यथार्थबारे स्वयं ज्ञानेन्द्र शाह जानकार छन् । कमल थापा, राजेन्द्र लिङ्देनदेखि केशरबहादुर बिष्टलाई नहुने कुरै छैन । तैपनि, उनीहरु गणतन्त्रवादीलाई आच्छु आच्छु पारिरहेकाले प्रसाईंलाई साथ दिइरहेका छन् ।

त्यसो त ओली गणतन्त्रका लागि आन्दोलन चलिरहँदा वयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै गणतन्त्रवादीमाथि व्यङ्ग्य गर्दथे । जब गणतन्त्र आयो तब ओली निख्खर गणतन्त्रवादीमा बदलिए । अहिले गणतन्त्रमाथि दुर्गां प्रसाईंबाट खतरा बढ्यो भन्दै कुर्लन थालेका छन् । नेपाली राजनीतिमा यो भन्दा अर्को मजाक के हुनसक्छ ? प्रसाईं जस्ता पात्रलाई टाउकोमा बोक्ने ओलीले नै राजनीतिलाई मजाक बनाइरहेका छन् ।

त्यो मजाकको मूल्य अहिले ओलीले चुकाउनुपरेको छ । कुनैबेला मैं हुँ भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको प्रहारको सामना गर्ने ओली हल्लाको भरमा हल्लिइरहेका दुर्गा प्रसाईँको प्रहारका सामु रक्षात्मक बन्नुपर्ने वाध्यतामा छन् ।

ओली राजनीतिमा कमजोर बन्दै गएको संकेत हो यो । अब उनी पुरानो हालतमा उठ्न कठिन छ । रह्यो दुर्गा प्रसाईंको मामला । उनी जसरी आए त्यसरी नै हराउने नै छन् । तर, प्रसाईँले नेपाली राजनीतिमा शीर्ष भनिएका नेताहरुको वास्तविक हैसियत देखाइदिएका छन् । नेताहरु व्यवस्थामाथि खतरा आएको सपना देखाइरहेका छन् । तर, आफूलाई सुधार्न सकेका छैनन् । जसको जगमा प्रसाईँजस्तो झार उम्रिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्