Logo
Logo

नक्कली परीक्षार्थी खडा गरी कोरिया पुगेका नेपालीलाई पक्राउ गर्दै फर्काइँदै


- दृष्टि न्युज/संवाददाता


सियोल ४ फागुन । कोरियन अध्यागमन विभागले नक्कली परीक्षार्थी खडा गरी कोरिया भाषा पास गरी कोरिया छिरेका कामदारहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । हालसम्म एक सयभन्दा बढी नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउन सुरु गरेको छ ।
यसरी नक्कली परीक्षार्थी खडा गर्नेलाई पक्राउ गर्न थालेसँगै परीक्षा दिनेलाई समेत कारबाही गर्ने अध्यागमनले जनाएको छ । नक्कली परीक्षार्थी भएर परीक्षा दिनेलाई अदालतमा ६ महिनासम्म समय थुनामा राखेर मुद्दा चलाउनेसम्मको कारबाही गर्ने जनाएको छ ।
हालसम्म पक्राउ परेका नेपालीलाई पुन कोरिया आउन नपाउने गरि फर्काइरहेको छ । अनुहार मिल्ने साथीलाई भाषा परीक्षा दिन लगाई कोरिया प्रवेश गरेको भन्ने सुचनाको आधारमा एक जनालाई पक्राउ गरिएपछि अध्यागमनले अनुसन्धान सुरु गरेको हो । अरूबाट कोरिया भाषा पास गराएर आएका नेपालीहरूलाई सोझै नेपाल डिपार्ट गर्ने र अर्काको परीक्षा दिनेहरुलाई भने सुरक्षासम्बन्धी विभिन्न मुद्दा चलाई अनुसन्धान अघि बढाउने अध्यगमन कार्यालयले जनाएको छ ।
यसरी कोरिया आउने ठूलो संख्या हुनसक्ने भन्दै कोरिया सरकारले अनुसन्धानलाई तीव्रता दिएको हो । पक्राउ गरी डिपोर्ट हुनेहरूमा पाँचथर, ताप्लेजुङ, म्याग्दीलगायतका जिल्लाका छन् । उनीहरु कोरिया प्रवेश गरेको ३ महिनादेखि ३ वर्षसम्म भएको प्रवासी श्रम संगठन (एमटियू)का प्रमुख उदय राईले बताएका छन् । अझैपनि यसरी नक्कली परीक्षार्थी खडा गरी कोरिया प्रवेश गरेका ठुलो संख्यामा कामदार रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्