Logo
Logo

महावाणिज्यदूत नियुक्तिका लागि बिचौलियाको चलखेल



काठमाडौं । गठबन्धन सरकार नै बिचौलियाहरुले चलाउन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सरोकारवाला निकायहरुले अनुसन्धान गर्ने हो भने नेपाल सरकारका प्रत्येक मन्त्रालयका सचिवदेखि मुख्यसचिवसम्म बिचौलियाकै डिजाइनमा चल्ने गरेका छन् । पुनर्वीमा कम्पनीको अनुमतिदेखि स्टक एक्सचेन्जको लाइसेन्स लिनसम्म बिचौलियाहरुले बालुवाटारदेखि संसदको अर्थसमितिलाई नै प्रभावमा पार्न सफल भएको कुरा नसेलाउँदै महावाणिज्यदूत नियुक्तिमा समेत बिचौलियाकै बोलवाला देखिन थालेको छ ।

दुई मुख्य पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैतिर बिचौलियाहरुले सेटिङ मिलाएर यसअघि नयाँदिल्लीको इकोनोमिक काउन्सिलरमा तारानाथ अधिकारीलाई पठाइसकिएको छ । चीनको छेन्दुमा रहेको महावाणिज्य दूतमा बढुवा भएको एक बर्षमात्र पुगेका सुरेश राउतलाई पठाइएको छ ।

महावाणिज्यदूत बनाउँदा वाणिज्य मन्त्रालयमा काम गरेको हुनुपर्ने मापदण्ड नै लत्याउने काम भएको छ । वाणिज्य दूतको नियुक्तिको प्रस्ताव परराष्ट्र मन्त्रालयबाट आउनुपर्ने हुन्छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनपी साउद विदेश भएको मौका पारी ठाडो प्रस्ताव ल्याएर नियुक्ति गरेका थिए । मन्त्री साउदलाई वाणिज्यदूत नियुक्तिका बारेमा अडान नै राख्न नसकेको बिषय कांग्रेसभित्रै उठेको छ ।

दिल्ली र छेन्दुमा कांग्रेस निकट सहसचिवहरुले अवसर नपाएको गुनासो सभापति शेरबहादुर देउवासम्म पुगेको छ । दिल्लीमा पठाइएका सहसचिव तारानाथ अधिकारी प्रधानमन्त्रीका नातेदार रहेको र सुरेश राउतले बिचौलियामार्फत् बालुवाटार मिलाएर नियुक्त भएका छन् ।

चीनको ग्वान्झाउ, कलकत्ता र ल्हासाको रिक्त महावाणिज्यदूतका लागि पनि बिचौलियाहरुले चलखेल सुरु गरेका छन् । बिचौलिया रामचन्द्र भट्टले कांग्रेस नेतृ आरजु राणासँग सेटिङ मिलाउने र पूर्वमुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्री प्रचण्डलाई मिलाउनेगरी ग्वान्झाओको दूतका लागि मोलतोल भइरहेको छ ।

मुख्यसचिवको पदावधि २ महिना छँदै राजीनामा दिएर ५ बर्षका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका बैरागीको प्रधानमन्त्री प्रचण्डसँग बाक्लो उठबस भएकाले बालुवाटार मिलाउन भट्टले उनलाई परिचालन गर्दैआएका छन् । भट्टले महावाणिज्यदूत, सचिव सरुवादेखि वाणिज्य विभागबाट सुपारी र केराउको अनुमति दिने कुरामा समेत चलखेल गर्दैआएका छन् ।

ग्वान्झाउ र चीनको इकोनोमिक काउन्सिलर नियुक्त हुन चाहने र खर्च गर्नसक्ने सहसचिवहरुसँग भट्टले कुराकानी गर्ने गरेका छन् । ग्वान्झाउ जानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय महाशाखा प्रमुख रहेका रामचन्द्र तिवारी लागेका छन् । उनी बैरागीकै गृहजिल्लाका भए पनि उनलाई पनि रामचन्द्र भट्टले दररेट तोकेरै बार्गेनिङ गरेको स्रोत बताउँछ ।

आरजु राणा २०८० मंसिर १ गते शुक्रबार उपचारका लागि भनेर जापान गएकी छिन् । प्रधानमन्त्री प्रचण्डले ग्वान्झाउमा आफ्ना पूर्व निजी सचिव तथा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई पठाउने भनेपछि तिवारी थप तनावमा परेका छन् । ग्वान्झाउमा जानका लागि सहसचिव नरेन्द्रकुमार रानाले पनि लबिङ गरिरहेका छन् ।

कलकत्ताका इश्वर पौडेल, ल्हासाका नवराज ढकाल र हङकङका महावाणिज्यदूत उदय रानाको ४ बर्ष नपुगे पनि उनीहरुलाई फिर्ता बोलाएर भए पनि नियुक्ति हुने दाउमा सहसचिवहरु छन् । पौडेल, ढकाल र रानाको आगामी २०८१ भदौमा ४ बर्ष पुग्छ ।

प्रतिक्रिया दिनुहोस्