Logo
Logo

एचआइभी संक्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै


441
Shares

भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।

चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित ‘सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र’ले नेपालका २२ जिल्लाका एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो ।

क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान) को सहयोगमा अध्ययन हुन लागेको केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । केन्द्रले सातवटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे आगामी सातादेखि अनुसन्धान गर्ने भएको छ ।

देशका एचआइभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन नभएको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले बताउनुभयो । सात प्रदेशका हिमाल, पहाड, तराई क्षेत्रमा अनुसन्धान गर्नेछ । अनुसन्धानपछि सङ्क्रमित महिला तथा युवतीका लागि उपचार तथा पुनः स्थापनाका कार्यक्रम अघि बढाउने उनले बताए ।

एचआइभी एड्स सङ्क्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मा सूचीकृत महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको दिदियाले बताए । अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्यान्डमा एकै पटक सुरु हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्