
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको पूर्व उपप्रधानमन्त्री तथा तत्कालीन एमाले सचिव टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् ।
उच्च अदालत पाटनले रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएसँगै थुनामुक्त हुने रायमाझीको प्रयास असफल भएको छ । तर, छोरा सन्दीप रायमाझी भने थुनामुक्त हुने भएका छन् ।
अदालतले सन्दीपसँग ३० लाख धरौटी माग गरेको छ । सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश भएको उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै पूर्व गृहमन्त्री बालकृष्ण खाँड, इन्द्रजीत राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।
उच्च अदालतले यसै मुद्दामा थुनामा रहेको भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।














