Logo
Logo

महासंघमा गोल्छाले बनाए छुट्टै गुट ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ फेरि पनि गुटबन्दीमा अल्झिएको छ । महासंघलाई गुटबन्दीबाट मुक्त गर्नकै लागि वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने परम्पराको थालनी गरिए पनि गुटबन्दीले महासंघलाई छाडेको छैन । आगामी चैत २८ र २९ गते काठमाडौँमा सम्पन्न हुने महासंघको साधारणसभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वतः अध्यक्षमा चयन गर्नेछ । त्यसपछि वरिष्ठ उपाध्यक्षको निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकालले बागलुङबाट आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकालका विरुद्ध फागुन १ गते मोरङबाट किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानको उम्मेदवारीले महासंघ दुई गुटमा विभाजित गरेको छ । प्रधानको उम्मेदवारी घोषणासभामा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको उपस्थितिले गोल्छा अहिलेदेखि नै गुटबन्दीमा लागेको आरोप छ । भावी अध्यक्षका रुपमा हेरिएका गोल्छाको भूमिका तठस्थ हुनुपर्ने भनाइ धेरै उद्योगी व्यवसायीको छ । किनभने, महासंघको अन्य पदमा चुनावी प्रतिस्पर्धाबाट जोसुकै व्यक्ति निर्वाचित भएर आए पनि सबैलाई समेटेर अगाडि बढ्नुपर्ने दायित्व गोल्छाकै हो । तर, गोल्छा स्वयं प्रधानको उम्मेदवारी घोषणासभामा उपस्थित हुनुले महासंघको नेतृत्वमा ‘जुन जोगी आए पनि कानै चिरेका’ जस्तो भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई समर्थन जनाएका गोल्छाले विराटनगरबाटै आफ्नो गुट पनि घोषणा गरेका छन् । गोल्छाको गुटमा प्रधान वरिष्ठ उपाध्यक्ष, दिनेश श्रेष्ठ जिल्ला नगरका तर्फबाट उपाध्यक्ष, अञ्जन श्रेष्ठ वस्तुगतको तर्फबाट उपाध्यक्षका उम्मेदवार बन्ने तयारी गरिँदैछ भने नाडाका अध्यक्ष कृष्ण दुलाललाई पनि गोल्छाको टिममा समावेश गरिँदैछ ।

गोल्छाको यो गुटबन्दी चन्द्रप्रसाद ढकालको विपक्षमा भन्दा पनि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका विरुद्ध भएको बताएको छ । विगत लामो समयदेखि निवर्तमान अध्यक्ष ढकालले महासंघमा हालीमुहाली गरेकै कारण महासंघभित्र एकता कायम नभएको र गुटबन्दीले महासंघको प्रतिष्ठामाथि आघात पु¥याएकोले ढकालको हालीमुहाली अन्त्य गर्न गोल्छाले गुट बनाउन बाध्य भएको हो भनिन्छ । नभए अघिल्लो कार्यकाल किशोर प्रधानलाई चुनाव हराएर वरिष्ठ उपाध्यक्ष बनेका गोल्छाले चन्द्र ढकालका विरुद्ध प्रधानलाई समर्थन गर्ने थिएनन् । विगतमा अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकाल एउटै गुटका थिए । त्यो गुटको ‘किङमेकर’ चण्डी ढकाल नै थिए । तर, यसपटक विधान संशोधन गरेर महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने अडान चण्डी ढकालले राखेपछि वरिष्ठ उपाध्यक्ष गोल्छा उक्त अडानका विरुद्ध उभिएका थिए । उनलाई अध्यक्ष राणा र उपाध्यक्ष ढकाललगायतका पदाधिकारीहरुको समर्थन जनाएका थिए । जसका कारण चण्डी ढकाल आफ्नो अडानबाट पछाडि फर्कन बाध्य हुनुप¥यो ।

अब महासंघको चुनावी मैदानमा गोल्छा समूह र ढकाल समूहबीच प्रतिस्पर्धा हुने पक्काजस्तै भएको छ । तर, वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल भने अझै पनि सहमतिकै बाटो रोजिरहेका छन् । शेखर गोल्छापछि वरिष्ठ उपाध्यक्ष बन्ने रोलक्रम ढकालकै भए पनि गोल्छाले प्रधान बोकेपछि ढकाल अप्ठेरोमा परेका छन् । अब ढकालले आफ्नो टिम कसरी बनाउँछन् भन्ने कुराले महासंघको भावी नेतृत्व कस्तो हुनेछ भन्ने कुराको निक्र्यौल गर्नेछ । महासंघमा यसपटक प्रतिस्पर्धासँगसँगै पूर्वाग्रह र प्रतिशोधको राजनीति प्रवेश भएकोले गोल्छाको कार्यकाल चुनौतीपूर्ण बन्ने कुरालाई कसैले नकार्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्