Logo
Logo

स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा


630
Shares

सल्यान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको रहेको स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।

सल्यानको कपुरकोट गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन र सेवा प्रवाहको भएकाले स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनु अघि नै पाठ्यपुस्तक पुग्न सकेको, मल आपूर्ति सहज भएको, सेवा प्राप्त गर्ने कार्यालयमा लाइन हटेको लगायतका उदाहरण पेश गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताइन् ।

स्थानीय सरकारले सुशासन र सेवा प्रवाहलाई मूल मन्त्र बनाउनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले पूर्वाधार निर्माण र विकासका अन्य काम सङ्घीय र प्रदेश सरकारले गर्ने बताइन्। सङ्घीयताले जनताको घर नजिकमा सरकार पुर्याएको उल्लेख गर्दै उहाँले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने बताइन् ।

मन्त्री शर्माले राप्ती लोकमार्गको स्तरोन्नति, टेलिफोन सेवा सुधार लगायत विकास निर्माणमा सरकारको प्राथमिकता रहेको स्पष्ट गरिन् । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले गरेका थिए । गाउँपालिकाका समस्याबारे उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्