Logo
Logo

‘उच्च अहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति कमाएका सबैको सम्पत्ति छानविन गरौँ’


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानविन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।

शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई समबोधन गर्दै महामन्त्री थापाले संसदमा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार गर्ने मान्छे जो सुकै होस्, दोषी छ भने उसलाई कसैले जोगाउन सक्दैन । निदोष छ भने कसैलाई केही हुँदैन । नेपाली कांग्रेसले यो बेला सबैले निर्धक्क भएर यो कुरामा विश्वास गर्ने बातावरण बनाउनुपर्छ । ०४६ सालपछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानविन गरौं ।’

महामन्त्री थापाले कांग्रेसमा समाज र देशका लागि भएको सम्पत्ति गुमाएर काम गर्ने नेता कार्यकर्ताको खाँचो नभएको बताए । उनले भने, ‘गाउँगाउँमा कांग्रेसका साथीहरूले खानेपानीदेखि सडकसम्म सार्वजनिक काममा आफ्नो सम्पत्ति खर्च गरेर काम गर्नुभएको छ, कांग्रेसले भ्रष्टाचार गर्दैन, भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास दिलाउन हामीले अगुवाई किन नलिने ?’

अहिले कांग्रेससहितको गठबन्धन सरकार भएको भन्दै उनले सरकारलाई जनताको सवालमा केन्द्रीत भएर काम गर्न आग्रह गर्दै आएको बताए । ‘अहिले वडादेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । तर केन्द्र सरकारको नेतृत्वमा कांग्रेस छैन’ उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई भेटेर पटक पटक जनजीविकाको सवालमा केन्द्रीत हुन ध्यानाकर्षण गराएका छौँ । सहकारीमा समस्या छ, सरकारले अध्ययन गरेर रिपोर्ट बनाएको भएपनि रिपोर्टमा दिइएको विज्ञको सुझावअनुसार काम भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्