Logo
Logo

महानिरीक्षक ज्ञवालीलाई हिरो बन्ने अवसर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ फागुन । २०६२/६३ सालपछि नेपाल प्रहरीमा ठूलो परिवर्तन भएको छ, केही सकारात्मक अनि केही नकारात्मक । भ्रष्टाचारको सन्दर्भमा प्रहरीमा व्यापक सुधार देखिएको छ, विगतमा प्रहरीकै मिलेमतोमा खुलेआम ठूला तस्करीसमेत हुने गरेको र ठूला अपराधीले उन्मुक्ति पाउने गरेको थियो । तर अहिले त्यस्तो धन्दा बन्द भएको छ । यो सकारात्मक पक्ष हो । नेपाल प्रहरीमा सुधारसँगै विकृति पनि बढ्दै गएको छ । खासगरी प्रहरीको बढुवामा अत्याधिक राजनीति हुन थालेको छ । जसले गर्दा संगठन कमजोर हुँदै गएको छ । चेन अफ कमाण्डमा चल्नुपर्ने प्रहरी संगठन राजनीतिक शक्तिको आडमा चल्न खोज्दा प्रहरीको बदनाम भएको हो । पत्रकार रवि लामिछानेको प्रसंगमा चितवन प्रहरीले प्रक्रिया नै नपु¥याई पूर्वाग्रही ढंगले लामिछानेमाथि दुरुत्साहन मुद्दा चलाउँदा प्रहरी बदनाम भयो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालसमेत उक्त कार्यमा अनावश्यकरुपमा मुछिन पुगे । त्यसको कारण भनेकै चितवनका एसपी दानबहादुर मल्ल थिए । मल्ल त नेपाल प्रहरीमा एक जना पात्र मात्र हुन्, त्यस्ता प्रवृत्ति भएका धेरै हाकिम नेपाल प्रहरीमा छन्, जो संगठनप्रति होइन, नेता र पार्टीप्रति बफादार छन् ।

विगतमा प्रहरी महानिरीक्षकहरु असफल हुनुको कारण चरम गुटबन्दी हो । उपेन्द्रकान्त अर्याल महानिरीक्षक हुँदा उनले राजेन्द्रसिंह भण्डारी तथा सुरेन्द्रबहादुर शाह निकट प्रहरीलाई लखेट्ने काम गरे । प्रकाश अर्यालको पालामा नवराज सिलवाल निकट प्रहरी पीडित बने । सर्वेन्द्र खनालले पनि रमेश खरेल र पुष्कर कार्की निकट भएको भन्दै धेरै प्रहरीलाई पेल्ने काम गरे । ज्ञवालीले पनि सरुवा बढुवामा त्यसरी काखी च्याप्ने र पेल्ने काम गरे भने भने त्यो संगठनका लागि फेरि दुर्भाग्य हुनेछ । ज्ञवालीका लागि यो एउटा शिक्षा पनि हो ।

२०६२/६३ पछिका प्रहरी महानिरीक्षकहरु सबैले केही न केही प्रहरीमा परिवर्तन गरेका छन् । अनौठो के छ भने जोबाट धेरै सुधारको अपेक्षा गरिएको थियो, उनीहरुबाटै प्रहरीहरु निराश बने । जसबाट संगठनले धेरै अपेक्षा गरेको थिएन, उनीहरुले सफल भएर संगठनबाट बिदा भए । सर्वेन्द्र खनालले अवकाश पाएपछि ठाकुरप्रसाद ज्ञवाली २७औं महानिरीक्षकका रुपमा नियुक्त भएका छन् । छोटो अवधि भएकाले उनीसँग धेरै अपेक्षा गरिएको छैन । तर, पाँच महिनाको छोटो अवधिमा चाहेभन्दा उनी सर्वाधिक सफल प्रहरी महानिरीक्षक पनि बन्न सक्ने अवस्था छ । तर, त्यो त्यति सजिलो भने छैन । यसका लागि उनले विगतका महानिरीक्षक भन्दा धेरै फरक शैलीले काम गर्नुपर्ने हुन्छ । प्रहरीमा महानिरीक्षकको मुख्य चुनौती राजनीतिक हस्तक्षेप हो । त्यसबाट प्रहरी संगठनलाई बचाउन सके भने ५ महिनामा ज्ञवालीले अरुले ५ वर्षम ागर्न नसकेको सफलता हात पार्नेछन् ।

सकारात्मक सुरुवात

सालिन र लो प्रोफाइलमा बस्न रुचाउने प्रहरी अधिकारीका रुपमा चिनिएका ज्ञवालीले केही सकारात्मक सुरुवात गरेका छन् । उनले पूर्व महानिरीक्षकहरुसँग भेटेर सुझाव लिएका छन् । महानिरीक्षक भएलगत्तैका उनका भाषण र केही निर्णयहरु पनि सकारात्मक नै रहेको प्रहरी अधिकारीहरु बताउँछन् । सबैभन्दा महत्वपूर्ण कुरा यसपटक महानिरीक्षक नियुक्तीमा ब्याचीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएन । उनका प्रतिस्पर्धी रहेका डिआईजी तारिणी लम्सालले बधाई दिदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आईजिपी ज्ञवालीले पनि संगठनमा भातृत्वको भावना विकास गर्ने घोषणा गरेका छन् । महानिरीक्षक बढुवामा उनले चलखेल गर्नुपरेन । धेरै नेताकोमा पनि धाउनु परेन । त्यसकारण निर्णयहरुमा उनले धेरै राजनीतिक दबाब झेल्नुपर्ने बाध्यता छैन । यसकारण पनि उनले काम देखाउने र संगठनलाई बलियो बनाउने वातावरण छ ।

सरुवा–बढुवा, पहिलो चुनौती

प्रहरीका विभाग तथा प्रदेश कार्यालयहरु यतिबेला नेतृत्वविहीन अवस्थामा छन् । तीन एआइजी र २० डिआइजीको दरबन्दी रिक्त हुँदा प्रहरी अस्तव्यस्त अवस्थामा चलेको छ । त्यसकारण छिटो भन्दा छिटो एआईजी र डिआईजीको बढुवा गर्नुपर्ने बाध्यता महानिरीक्षकमाथि छ ।

तर यो काम सहज छैन । एआईजीको तीन दरबन्दीमा सात जना डिआईजीहरु प्रतिस्पर्धामा छन् । आइजिपी ज्ञवालीकै ब्याची तारिणी लम्साल र सूर्य उपाध्याय छन् । त्यसपछिको ब्याचबाट शैलेश थापा क्षेत्री, हरि पाल, निरज शाही र प्रद्युम्न कार्की छन् । गत बैशाखमा मात्र बढुवा भएका विश्वराज पोखरेल पनि जसरी पनि एआइजी हुन शक्तिकेन्द्र धाइरहेका छन् । पोखरेललाई रक्षामन्त्री ईश्वर पोखरेलको बलियोे समर्थन छ । त्यसैले उनी एक नम्बरमा बढुवा हुने कुरामा ढुक्क छन् । यस्तो अवस्थामा तीन जनालाई एआईजीमा बढुवा गर्न सहज छैन । महानिरीक्षक ज्ञवालीले गृहमन्त्री र प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेर छिटो बढुवा प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । एआईजीको बढुवा नुहँदा तल्लो तहसम्मको बढुवा रोकिन्छ । समयमा बढुवा नहुँदा संगठनमा निराशा छाउँछ । त्यो नै महानिरीक्षकको असफलताको आधार बन्छ । विगतमा एक वर्षपछि मात्र एआईजी बढुवा भएका घटना समेत छन् ।

त्यस्तै बढुवासँगै सरुवा र पदस्थानमा महानिरीक्षकको ठूलो भूमिका हुन्छ । एसपीभन्दा माथिको सरुवाको अधिकार महानिरीक्षकलाई नहुने भएपनि त्यसमा उनको सिफारिस महत्वपूर्ण हुन्छ । सरुवामा पनि क्षमताअनुसारको जिम्मेवारीमा ज्ञवालीले ध्यान दिनुपर्ने हुन्छ ।

उनको दोस्रो चुनौती प्रहरी समायोजनमा छ । मंगलबार( फागुन ६)देखि प्रहरी समायोजन ऐन लागू भएको छ । यसको एक महिनाभित्र सबै प्रदेश र केन्द्रको दरबन्दी टुंगो लगाएर समायोजन प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ ।

संसदले डिएसपीसम्मका प्रहरीलाई प्रदेशमा समायोजन गर्ने ऐन बनाएको छ । जसकारण इन्सपेक्टर र डिएसपीको ‘करिअर’मा असर पर्न सक्ने देखिन्छ । प्रदेशमा समायोजन भइसकेपछि अर्काे प्रदेशमा जान नमिल्ने प्रावधान छ । यसले प्रहरीमा चिन्ता बढाएको देखिन्छ । सिनियर अधिकृतको हकमा भने सकेसम्म तत्कालका लागि पुल दरबन्दीमा राखेर पछि समायोजन गर्ने वातावरण बनाउन सक्नुपर्छ । समायोजनको क्रममा प्रहरी निकै कमजोर हुनसक्ने भएकाले यो अवस्थामा प्रहरी नेतृत्वले निकै ध्यान दिनु जरुरी देखिन्छ । यसमा महानिरीक्षकले एक्लैले नभ्याउने भएकाले क्षमतावान प्रहरी अधिकृतहरुको विश्वास जित्न सक्नुपर्छ ।

त्यस्तै, संघीय प्रहरी ऐन अन्तिम चरणमा पुगेको छ । ऐनमा प्रहरीलाई बलियो बनाउने प्रावधानहरु राख्न उनले कत्तिको लबिङ गर्न सक्छन् त्यो पनि महानिरीक्षक ज्ञवालीको लागि चुनौती हो ।

निर्मला प्रकरणको निकास

निर्मला पन्त प्रकरण विगत डेढ वर्षदेखि प्रहरीलाई ठूलो टाउको दुखाइको विषय बनेको छ । यसैको असफलताले प्रहरीका राम्रा काम समेत ओझेलमा परेका छन् । महानिरीक्षक ज्ञवाली यो प्रकरणको भित्री पाटोसँग जानकार छन् भनिन्छ । किनकि, एकपटक उनकै नेतृत्वमा छानबिन समितिसमेत बनेको थियो । स्थलगतरुपमा उनीले महेन्द्रनगर पुगेर अनुसन्धानसमेत गरेका थिए ।

अहिले यो घटना सुल्झाउन प्रहरीलाई सहज छ । किनकि, डिएनएको परीक्षण प्रणाली नै गलत भएको पुष्टि भइसकेकाले अब पुरानै आरोपीमाथि पुनः प्रहरीले अनुसन्धान गर्न सक्ने अवस्था सिर्जना भएको छ । घटना सुल्झाउनुका साथै यो घटनामा अन्यायमा परेका प्रहरी अधिकारीलाई पनि उनले न्याय दिनु जरुरी छ ।

सिपाही हवल्दारलाई उत्साह

प्रहरीमा जागिर छाड्ने क्रम डरलाग्दो रुपमा बढेको छ । खासगरी पेन्सन अवधि पुगेलगत्तै हवल्दारहरुले राजिनामा दिएर विदेशिने गरेका छन् । यसपटक प्रहरीको काम कारबाही नै प्रभावित बनेको छ । यस्तो अवस्थामा उनले सिपाही हवल्दारलाई प्रहरी सेवाप्रति उत्साह दिन सक्नुपर्छ । रासनभत्ता तथा अन्य कल्याणकारी सुविधा वृद्धिलगायतका काम महानिरीक्षकले गर्न सक्छन् ।

विगतमा प्रहरी महानिरीक्षकहरु असफल हुनुको कारण चरम गुटबन्दी हो । उपेन्द्रकान्त अर्याल महानिरीक्षक हुँदा उनले राजेन्द्रसिंह भण्डारी तथा सुरेन्द्रबहादुर शाह निकट प्रहरीलाई लखेट्ने काम गरे । प्रकाश अर्यालको पालामा नवराज सिलवाल निकट प्रहरी पीडित बने । सर्वेन्द्र खनालले पनि रमेश खरेल र पुष्कर कार्की निकट भएको भन्दै धेरै प्रहरीलाई पेल्ने काम गरे । ज्ञवालीले पनि सरुवा बढुवामा त्यसरी काखी च्याप्ने र पेल्ने काम गरे भने भने त्यो संगठनका लागि फेरि दुर्भाग्य हुनेछ । ज्ञवालीका लागि यो एउटा शिक्षा पनि हो ।

छोटो अवधि भए पनि उनको जिम्मेवारी धेरै छ । एकभन्दा धेरै सिनियर पदमा बढुवा गर्नुपर्ने छ । प्रहरी समायोजनदेखि प्रहरीका सुविधा वृद्धिमा समेत उनले काम गर्नुपर्ने छ । छोटो अवधि भए पनि सबैलाई विश्वासमा लिएर अघि बढेमा उनी सफल महानिरीक्षक बन्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्