काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट आजियटा बाहिरिने क्रममा भएको सेयर खरिद–बिक्री प्रक्रियाका विषयमा नौबुँदे स्पष्टीकरण सोधेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणलाई सोधिएको स्पष्टीकरणमा एनसेलको सेयर बिक्री नियमसंगत भए÷नभएको, त्यसले नेपालको राजस्व र आयमा के÷कस्तो असर गर्छ भन्ने स्पष्ट पार्न भनिएको छ । समितिले त्यसको अनुसन्धान र विश्लेषण गरी ‘चाँडोभन्दा चाँडो जवाफ पठाउन’ भनेको छ ।

‘आजियटाले बिक्री गरेको सेयरको खरिद–बिक्री प्रक्रिया नियमसंगत हो कि होइन ? यस्तो खरिद–बिक्रीले सेवा प्रवाहमा के कस्तो असर पार्छ ? राजस्व र आयमा के कस्तो प्रभार र असर गर्छ ?’ भनेर प्रश्न सोधिएको छ ।
सभापति पोखरेलको निर्देशनमा समितिका तर्फबाट सचिवालयले पत्राचार गरेको हो । समितिबाट पठाइएको स्पष्टीकरणपत्रमा राज्यलाई तिर्न बाँकी एनसेलको दायित्व, ऊसँग रहेको बेरुजु, नियमित रूपमा तिर्नुपर्ने अन्य शुल्क के हुने भन्ने विषय पनि उल्लेख छ ।
त्यसबाहेक पत्रमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण र दायित्व कसले निर्वाह गर्ने भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख छ ।














