
काठमाडौँ । युद्धकै बिच ११ जना नेपाली केयरगिभरको रुपमा काम गर्न इजरायल उडेका छन्। इजरायल र गाजास्थित हमास समूहबिच युद्ध भइरहेकै अवस्थामा उनीहरू इजरायल उडेका हुन्।
गत अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमण गरेपछि जारी युद्धमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए।
उक्त घटनापछि इजरायल उड्न लागेका २४ जना केयरगिभर रोकिएका थिए। २४ जनामध्ये ११ जना उडिसकेपछि बाकी रहेका १३ जना पनि चाडै जाने सरकारले जनाएको छ। इजरायल जान पाउनुपर्ने माग राख्दै उनीहरूले दबाब दिँदै आएका थिए।
नेपाल र इजरायलबिच भएको सहमतिअनुसार १ हजार भन्दा बढी नेपालीलाई इजरायलमा रोजगारीको अवसर प्रदान गरिएको थियो। दुई वर्षदेखि छनौटमा परेका केयर गिभरहरूमाअन्तिम चरणमा २४ जना बाकी थिए।














