
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरीको बर्दिबास पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज बिहान बर्दिबास पुगेका हुन् ।
अध्यक्ष प्रचण्ड बर्दिबास–४ माइस्थानमा दलको तीन महिने रूपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहेको माओवादी मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले बताए ।
उनले बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रूपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानबारे समीक्षा भइरहेको जानकारी दिए । प्रदेशका आठ वटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष प्रचण्डले थप निर्देशन दिनेछन् ।
प्रचण्ड आजै दिउँसो जिल्लाको गौशाला–५ स्थित बहूद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरू, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन् । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री आजै काठमाडौं फर्कनेछन् ।














