Logo
Logo

रुकुम नरसंहारः जातीय विभेदविरुद्ध ऐतिहासिक फैसला


756
Shares

काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा साढे तीन वर्षअघि ६ जनाको हत्या भयो । २०७७ जेठ १० गते जाजरकोट भेरी–४ स्थित रानागाउँका २१ वर्षीय नवराज विक र उनका साथीहरूको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा कुटीकुटी हत्या गरिएको थियो ।

मल्ल थरकी प्रेमीकासँग विवाह गर्न भनि नवराज साथिहरुसहित छिमेकी जिल्ला रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए । सोहीबेला चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले नवराजसहित ६ जनालाई कुटीकुटी हत्या गरेका थिए ।

गाउँलेको आक्रमणबाट मारिनेमा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाही रहेका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा अरू १२ जना घाइते भएका थिए ।

उक्त जातीय नरसंहार प्रकरणमा जोडिएका हाल पुर्पक्षका लागि थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । तीमध्ये एकजना नाबालकसमेत छन् । अन्तरजातीय प्रेम विवाहलाई लिएर भएको विकसहित ६ जनाको हत्या प्रकरणका दोषीलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले उनीहरूलाई जन्मकैदसहित सामान्य तारेख र धरौटीमा रहेका आठ जनालाई सफाइ दिएको छ । नवराजकी प्रेमिका भनिएकी मल्ल थरकी युवती र उनकी आमासहित अन्यलाई जातीय छुवाछूतमा दुई वर्ष सजाय र ५० हजार रूपैयाँ जरिवाना सुनाइएको छ । मृतकका परिवारलाई दामासाहीले जनही ४० हजार रूपैयाँका दरले क्षतिपूर्ति भराउने फैसलासमेत गरिएको छ ।

जन्मकैदको सजाय पाउनेमा तत्कालीन वडाध्यक्ष मल्ल, नवराजकी प्रेमिका भनिएकीका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन (सर्वजित), एक नाबालक (नाम गोप्य), डिल्ली मल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी (इर्दबहादुर ठकुरी) छन् ।

त्यस्तै लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्तीमगर (जिएम), विराज पुनमगर, भीमबहादुर पुन, रमित मगर र विष्णु मल्ल रहेका छन् । उनीहरू हाल पुर्पक्षका लागि थुनामै छन् । जन्मकैदको सजाय सुनाइएहरूमध्ये एक जना पुर्पक्षबाहिर रहेका पनि छन् । ११ जना पुर्पक्षबाहिर रहेर तारेख खेपिरहेका थिए ।

सोती घटनामा संलग्न ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर भएको थियो । सफाइ पाउनेमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीम बहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन् ।

नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको यो पहिलो मुद्दा हो । रुकुम अदालतको उक्त निर्णयले लामो समयदेखि न्यायको पर्खाइमा बस्दा अनेक सन्देहले गलेका पीडित परिवार र दलित अधिकारकर्मीहरूले न्याय महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्