Logo
Logo

रास्वपाले गर्‍याे पदाधिकारीको कार्यविभाजन, कसलाई के जिम्मेवारी ?


1.4k
Shares

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीको कार्यविभाजन गरेको छ । रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुंगो लगाएको हो ।

रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई संगठनमा केन्द्रित गराउने छ भने अर्का उपसभापति तथा अर्थ नीति विभाग प्रमुख स्वर्णिम वाग्लेलाई नीति सम्बन्धी जिम्मेवारी तोकेको छ । महामन्त्री मुकुन ढकालका अनुसार उपसभापति अर्याललाई पार्टी संगठन र वाग्लेलाई नीति सम्बन्धी जिम्मेवारी तोकिएको छ ।

रास्वपामा महामन्त्री तथा प्रवक्ता ढकाललाई नीति तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी छ । त्यस्तै पार्टी विधानमा दुई सहमहामन्त्रीको व्यवस्था भए पनि रास्वपाले विधान विपरीत तीन जना सहमहामन्त्री बनाएको छ । पार्टी विधानको धारा २६ (४) अनुसार सहमहामन्त्रीहरुको कामको क्षेत्र छुट्याइएको छ ।

पार्टी संगठन विभाग प्रमुखसमेत रहेका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई ८ वटा काम तोकिएको छ । पार्टी संगठनलाई चुस्त, क्रियाशील र प्रभावकारी बनाउन नेतृत्व गर्ने, पार्टीका समिति, विभाग, आयोग तथा अन्य संयन्त्र र पार्टी सदस्यहरूलाई पार्टी सम्बन्धी गतिविधि र आवश्यकता अनुसार अन्य सूचना प्रवाहित गर्न निर्णयको जानकारी गराउन तथा निर्देशन जारी गर्न महामन्त्रीलाई आवश्यक सहयोग गर्ने जिम्मा दिइएको छ ।

त्यस्तै केन्द्रीय समिति एवं पार्टी सचिवालयका बैठकहरुको निर्णय पुस्तिका तयार गर्न तथा पारित नीति निर्णयहरु कार्यान्वयन गर्न महामन्त्रीलाई आवश्यक सहयोग गर्ने, दैनिक कार्यसञ्चालनमा महामन्त्रीलाई आवश्यक सहयोग गर्ने कार्य तोकिएको छ । पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा महामन्त्रीलाई आवश्यक सहयोग गर्ने र महामन्त्रीको निर्देशन बमोजिम अन्य कार्यहरू गर्ने कार्यविभाजनमा उल्लेख छ ।

आफूले गरेका काम कारबाही तथा पार्टी सम्बन्धी आफूलाई प्राप्त सूचना महामन्त्रीलाई नियमित रुपमा रिपोर्टिङ गर्ने र महामन्त्रीलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिने जिम्मेवारी बुर्लाकोटीको भागमा परेको छ ।

यस्तै पार्टी विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेकी सहमहामन्त्री सुमना श्रेष्ठलाई ६ वटा काम तोकिएको छ । पार्टीको समिति, विभाग, आयोग तथा अन्य संयन्त्र र पार्टी सदस्यहरूबाट सदनमा आवाज उठाउनका लागि अनुरोध गरिएका विषयरमुद्दाहरू अध्ययन गरी पार्टीका सांसदहरूद्वारा सदनमा प्रस्तुत गर्न आवश्यक सहजीकरण तथा समन्वय गर्ने जिम्मा श्रेष्ठको भागमा परेको छ ।

पार्टीको संसदीय दलको संस्थागत विकासका लागि आवश्यक नीति तथा योजना निर्माण र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने जिम्मा पनि श्रेष्ठलाई छ ।

यस्तै पार्टीको नीति, विचार तथा कार्यक्रम अनुरुप सांसदहरुको प्रस्तुतिमा एकरुपता कायम गर्न आवश्यक भूमिका निभाउने, महामन्त्रीको निर्देशन बमोजिम अन्य कार्यहरू गर्ने, आफूले गरेका काम कारबाही तथा पार्टी सम्बन्धी आफूलाई प्राप्त सूचना महामन्त्रीलाई नियमित रूपमा रिपोर्टिङ गर्ने र महामन्त्रीलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिन सहमहामन्त्री श्रेष्ठलाई भनिएको छ ।

सहमहामन्त्री तथा पार्टीको अभियान तथा प्रचार प्रसार विभाग प्रमुख विपिन आचार्यलाई १० वटा काम दिइएको छ । पार्टीको छवि निर्माणका लागि विभिन्न रचनात्मक, अभियानमूलक योजना तथा कार्यक्रमहरू तयार गरी कार्यान्वयन गर्न भनिएको छ ।

पार्टीका प्रचारप्रसारसँग सम्बन्धित सूचना प्रविधिमा आधारित माध्यमहरू (वेबसाइट, मोबाइल एप आदि), सामाजिक सञ्जालहरु (फेसबुक, ट्वीटर, युट्युब आदि) लगायतलाई पार्टीको हितमा योगदान पुर्याउने गरी प्रभावकारी परिचालन गर्न आवश्यक योजना तयार गरी कार्यान्वयन गर्ने जिम्मा पनि उनलाई दिइएको छ ।

विभिन्न माध्यमहरूबाट प्राप्त जनचासो, सल्लाह, सुझाव वा प्रतिक्रियालाई आवश्यकता अनुसार सम्बोधन गर्ने लगायतका जिम्मेवारी उनलाई दिइएको छ ।

आर्थिक व्यवस्थापन विभाग प्रमुखको जिम्मा कोषाध्यक्ष लिमा अधिकारीलाई छ । पार्टीका निम्ति आवश्यक आर्थिक स्रोतसाधनको व्यवस्था गर्ने, त्यसको संरक्षण गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्नेसहित ६ वटा काम विधानमै उल्लेख छ ।
सह–कोषाध्यक्ष तथा जनसम्पर्क विभाग प्रमुख दीपक बोहोरा र सह–कोषाध्यक्ष वसुमाया तामाङलाई कोषाध्यक्षको काममा कोषाध्यक्षले तोके बमोजिम आवश्यक सहयोग गर्ने जिम्मेवारी छ । कोषाध्यक्षले प्रत्यायोजन गरेका कार्य गर्ने र केन्द्रीय समिति र केन्द्रीय कार्य समितिले तोकेका कार्य गर्ने भनिएको छ ।
सहप्रवक्ता तथा सार्वजनिक लेखा परीक्षण विभाग प्रमुखमा मनिष झा छन् । सहप्रवक्ता प्रतिभा रावल र रमेश प्रसाईँलाई पनि प्रवक्तालाई सहयोग गर्ने जिम्मेवारी तोकिएको छ । पार्टीको विधान २६ को ८ मा सह–प्रवक्ताको काम कर्तव्य र अधिकार उल्लेख छ । जसमा प्रवक्ताको काममा सह–प्रवक्ताले तोके बमोजिम आवश्यक सहयोग गर्ने, प्रवक्ताले प्रत्यायोजन गरेको कार्य गर्ने र केन्द्रीय समिति र केन्द्रीय कार्यसमितिले तोकेको कार्य गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्