काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव एवं संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फामा मिलेर अघि बढ्ने बताएका छन् । शनिबार एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईसहित संयुक्त पत्रकार सम्मेलन गर्दै तुलाधरले आफु नेपाली फुटबलमा मिलेर अघि बढ्न खोजेकाले एन्फामा रहेर काम गर्ने बताएका हुन् ।
तुलाधरले पंकजबिक्रम नेम्वाङ नेतृत्वको निर्वाचित कार्यसमितिलाई सहयोग गरेर जाने बताए । विधानमा रहेका प्रावधानअनुसार नै नेम्वाङलाई हटाउने प्रयास आफुहरुले गरेपनि सफल नभएको भन्दै उनले विधानअनुसार सबैलाई समट्ने प्रतिवद्धता नेम्वाङले गरेकाले अब सहयोग गर्ने धारणा राखेका थिए ।

उनले एन्फाको कन्ट्रोल फन्डिङलाई फुकाउन र प्रतियोगिता सञ्चालनको जिम्मेवारीमा सहयोग गर्ने पनि बताए । हरेक नेतृत्वलाई दुई कार्यकाल काम गर्न दिनुपर्छ भन्ने पक्षमा आफु रहेको उनले जिकिर गरे ।
पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले कन्ट्रोल फन्डिङका कारण काम गर्न अप्ठेरो भएको सत्य भएपनि त्यो बिषय आफुहरु नेतृत्वमा आउनुभन्दा पहिलेकै भएको जिकिर गरे । उनले फुटबल विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।
तुलाधरले कर्माछिरिङ समूहसँग मिलेर अध्यक्ष पंकजबिक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हेटौडामा भदौ २५ गते भएको एन्फाको विशेष महाधिवेशनमा भने तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गराएका नेम्वाङलाई नै साथ दिए । उनकै सहयोगमा नेम्वाङले झण्डै दुई तिहाई विश्वासको मत प्राप्त गरेका थिए ।














