Logo
Logo

‘अडिसन दिएरै मोडलिङ सुरु गरेकी हुँ’



भक्तपुर लोकन्थलीकी अदिती श्रेष्ठ कलाकारितामै करिअर बनाउन चाहिन्छन् । उनी कला क्षेत्रमा भविष्य रहेको बताउँछिन् । भर्खरै १७ लागेकी अदिती भन्छिन्, ‘मोडलिङमै करिअर बनाउन सकिन्छ, तर, त्यसका लागि मिहिनेतचाहिँ गर्नुपर्छ ।’ आठ वर्षकै उमेरमा ‘लिटिल स्टार’मा सहभागी भएर मोडलिङयात्रा प्रारम्भ गरेकी अदिती ‘मिस ई-कलेज-२०२३’की विजेता हुन् । साइन्स विषयमा १२ कक्षामा अध्ययनरत अदिती मोडलिङका अलावा फिल्मी अभिनयमा पनि रुची राख्छिन् ।

‘समग्रमा कला क्षेत्रबाटै नाम र दाम कमाउने मेरो उद्देश्य हो’ उनी भन्छिन्, ‘मेरो रुची र इच्छामा बाबुआमाको पनि सपोर्ट पाएकी छु ।’ ‘मिस टिन–२०२२’मा समेत सहभागी भए्र फोटोजेनिक टाइटल जितेकी अदिती हिजोआज म्युजिक भिडियोमा व्यस्त छिन् । अदिती अभिनीत पछिल्लो ‘तिमी हाँस’ बोल गीतको भिडियो हालै सार्वजनिक भएको छ । अदिती नृत्य र खेलकुदमा पनि रुची राख्छिन् । तेइक्वान्दोकी ‘ब्ल्याक बेल्ट’समेत रहेकी मोडल अदिती श्रेष्ठसँग एमपी सुब्बाको जम्काभेट :

सानै देखिनुहुन्छ, मोडलिङप्रति कसरी आकर्षित हुनुभयो ?
सानैदेखि मोडलिङबाट प्रभावित थिएँ । सानो छँदा ‘मिस नेपाल’लगायतका सौन्दर्य प्रतियोगिताहरु हेर्थेँ । विशेषगरी ‘मिस नेपाल’बाट प्रभावित भएर आठ वर्षको छँदै ‘लिटिल स्टार’मा भाग लिएकी थिएँ । मोडलिङको मेरो पहिलो जर्नी ‘लिटिल स्टार’ हो ।

‘लिटिल स्टार’मा उपाधि जित्नुभयो ?
शीर्ष उपाधि जितिनँ । त्यो मेरो पहिलो एक्सपिरेन्स हो । मैले ‘मिस इनोसेन्ट’ सबटाइटल पाएकी थिएँ । त्यसपछिचाहिँ पढाइले गर्दा केही वर्ष ग्याप भयो । फेरि २०२२ मा आएर ‘मिस टिन’मा सहभागी भएँ । ‘मिस टिन–२०२२’मा ‘फोटोजेनिक भएँ । र, ‘मिस ई–कलेज–२०२३’को विनर हुँ ।

‘मिस ई–कलेज’को विजेता भएपछि मात्रै म्युजिक भिडियोमा काम गर्न थाल्नुभएको हो ?
हो, तर ‘मिस ई–कलेज’ विनर भएकै हिसाबले म्युजिक भिडियोमा मोडलिङको अवसर पाएको होइन, अडिसन दिएरै म्युजिक भिडियो मोडलिङ सुरु गरेकी हुँ ।

अडिसन दिएर मोडलिङ गर्नुभएको भिडियो कुन हो ?
‘देखेको छु फोटो’ बोलको गीत हो । जुन गीतमा मोडलिङका लागि थुप्रै जनाले अडिसन दिएका थिए, जसमा पनि म पनि थिएँ । म सेलेक्ट भएँ । जुन मेरो म्युजिक भिडियो मोडलिङका लागि पहिलो पाइला थियो । एउटा गीतमा मोडलिङ गरेपछि अरु भिडियोका लागि अफरहरु आउन थाल्यो ।

अहिलेसम्म कतिवटा भिडियोमा मोडलिङ गर्नुभयो ?
अहिलेसम्म तीन वटामात्र हुँदैछ । मैले म्युजिक भिडियोमा मोडलिङ गर्न थालेको धेरै भएको छैन । मैले अभिनय गरेको पछिल्लो ‘तिमी हाँस’ बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ । एउटा भिडियो रिलिजको तयारीमा छ । मैले म्युजिक भिडियोबाहेक टिभीसीमा पनि मोडलिङ गर्दै आएकी छु ।

तपाइँको रुची मोडलिङ कि फिल्मी अभिनय ?
मलाई दुवैमा रुची छ । समग्रमा भन्नुपर्दा ग्ल्यामरस क्षेत्र मेरो रुचीको विषय हो । त्यही रुची र रहरले मोडलिङ सुरु गरेकी हुँ । मोडलिङ गर्दै जाँदा अवसर आयो भने फिल्ममा पनि काम गर्छु ।

कस्तो विषयवस्तु बोकेको फिल्ममा काम गर्ने इच्छा छ ?
मलाई ठ्याक्कै यस्तै विषयवस्तु हुनुपर्छ भन्ने छैन । स्टोरीलाइन राम्रो लाग्यो भने जस्तोसुकै फिल्ममा पनि काम गर्छु ।

कति वर्षको हुनुभयो ?
मैले सानैदेखि मोडलिङ सुरु गरेकी हुँ । आठ वर्षको हुँदै इभेन्ट मोडलिङ गर्न सुरु गरेकी हुँ । अहिले १७ वर्षकी भएँ ।

तपाइँलाई फिल्मका लागि अफर आएको छ कि छैन ?
फिल्मका लागि आएको छैन । अहिलेसम्म म्युजिक भिडियो र टिभी एडहरुमा मात्र काम गर्दै आएकी छु । मैले सामसोङ कम्पनीको टिभी एडमा पनि मोडलिङ गरेकी छु ।

मोडलिङमा करिअर देख्नुहुन्छ ?
मोडलिङमा करिअर छ । तर, त्यसका लागि संघर्ष र मिहिनेत धेरै गर्नुपर्छ । म करिअरका लागि जस्तोसुकै मिहिनेत र संघर्ष गर्न तयार छु ।

मोडलिङप्रति किन यति धेरै लगाव ?
देश र समाजमा चिनिनका लागि कलाकारिता राम्रो प्लेटफर्म हो । मोडलिङ वा कलाकारितामार्फत अडियन्सका आँखामा पर्न सजिलो छ । अडियन्सले चिनेपछि हरेक क्षेत्रमा आवाज उठाउन सजिलो हुन्छ र प्रभावकारी पनि हुन्छ । साथै, मोडलिङबाटा नामसँगै दाम पनि कमाउन सकिन्छ

तपाइँको पढाइ कहाँ पुग्यो ?
अहिले साइन्समा कक्षा १२ मा अध्ययन गर्दैछु ।

कलाकारितामा लाग्दा अध्ययन प्रभावित हुने हो कि ?
मलाई त्यस्तो लाग्दैन । समय मिलाएर काम गर्ने हो । अहिले मोडलिङ र पढाईसँगै व्यवसायी पनि गर्दै आएकी छु । तर, अहिलेसम्म समय मेनेज गर्दै आएकी छु । भनिन्छ नि, जहाँ इच्छा, त्यहाँ उपाय ।

तपाइँको लक्ष्य के हो ?
खाशमा लक्ष्यचाहिँ जेनेटिक इन्जििनियर बन्ने रहेको छ । तर, यससँगै मोडलिङलाई पनि साथै लैजाने सोच छ । हेरौँ ।

मोडलिङबाहेक तपाइँको अन्य रुची के हो ?
म नृत्य पनि गर्छु । मोडलिङबाहेक नृत्य र खेलकुदमा रुची छ । म तेइक्वान्दोको ब्ल्याकबेल्ट पनि हुँ । फुर्सदमा तेइक्वान्दो खेल्छु ।

सोशल मिडियामा कतिको सक्रिय हुनुहुन्छ ?
सक्रिय नै छु । मैले धेरै चलाउने भनेको इन्स्ट्रा हो । त्यसबाहेक टिकटक चलाउँथेँ । तर, त्यो बन्द भयो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयलाई कसरी लिनुहुन्छ ?
टिकटक बन्द गर्नु हुँदैनथ्यो किनकि, टिकटक व्यापार व्यवसायी गर्नेका लागि राम्रो प्लेटफर्म थियो । कमाउनेले कमाइरहेका पनि थिए । सरकारले टिकटक बन्द गर्नुभन्दा पनि नियमन गर्नु पर्दथ्यो ।

मोडलिङमा आउन चाहने नयाँ पुस्तालाई के भन्नुहुन्छ ?
मोडलिङमा करिअर बनाउन सकिन्छ । यसो भनेर सबैलाई राम्रो हुन्छ भन्ने छैन । संघर्ष र मिहिनेत गर्नुपर्छ । कुनै पनि क्षेत्रमा करिअर बनाउनु छ भने मिहिनेछ गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्