Logo
Logo

चासोक तङ्नाम मनाउने चुम्लुङ अमेरिकाको भव्य तयारी



काठमाडौं । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम अमेरिकामा भव्य कार्यक्रमसहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा यही डिसेम्बर २३ मा विविध कार्यक्रम गरि चासोक तङ्नामा ५०८३ (२०८०) मनाउन लागिएको हो ।

कार्यक्रमलाई सफल बनाउन चुम्लुङले अमेरिकामा रहेका सम्पूर्ण लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम डिसेम्बर २३ मा युनाइटेड शेर्पा एसोसिएशन हलमा आयोजना हुने बताइएको छ ।

विगतका वर्षजस्तै यस वर्ष चासोक तङ्नाममा चासोक पूजा, यालाङ, केलाङ, हाक्पारेसहित सांस्कृति कार्यक्रम आयोजना हुने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले बताए । साथै, कार्यक्रममा डिजेसमेत प्रस्तुत गरिने अध्यक्ष थेबेको भनाइ छ ।

कार्यक्रममा गायिका लिला सिंघक, गायक विरेन्द्रहाङ लावुङ, मनु लिम्बु, भिम सुब्बा, राम सोदेम्बा, रेमश अधिकारीले गायन प्रस्तुती दिनेछन् भने कलाकार सोनिया योक्योक, ममता सुब्बालगायतको नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।

लिम्बू संस्कार संस्कृतिलाई जगेर्ना गर्दै दोस्रो पुस्तालाई आफ्नो मौलिक परम्परा हस्तान्तरण गर्न चासोक तङ्नाम जस्ता मौलिक पर्वहरुले टेवा पुग्ने हेतुले यसपटक अमेरिकामा विशेष रुपमा चासोक मनाउन लागिएको चुम्लुङ अमेरिकाका पूर्वउपाध्यक्ष तथा सल्लाहकार साथै वर्तमान चुम्लङ संस्कार संस्कृति संयोजक कुबेर वनेमले बताए ।

प्रकृतिपुजक किरात याक्थुङ समुदायले उधौली पर्वलाई चासोक तङ्नामको रुपमा मनाउने गर्दछन् । हरेक वर्षको मंसिर पूर्णिमाका दिन उधौंली पर्व मनाइन्छ । किराँती मान्यता अनुसार उधौलीको दिनदेखि हिउँद सुरु हुने, हिउँद याम सुरु भएलगत्तै बस्तुभाउ, चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय सङ्केतका रूपमा यो पर्वलाई किरात समुदायले लिने गरेका छन् । साथै, अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

पर्वत शृङ्खलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेसभुसा लगाएर यो पर्वमा किरात समुदायमा दाजुभाइ तथा दिदि–बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक नृत्य प्रस्तुत गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्