Logo
Logo

एक विश्व शान्ति व्हिल चियर यात्रीको मर्मस्पर्शी कथा


एमपी सुब्बा


काठमाडौं, ५ माघ । अपांग छन् उनी तर उद्देश्य र लक्ष्य कुनै सपांगताहरुको भन्दा कम छ्रैन । उनको लक्ष्य छ, नेपाल र नेपालीलाई संसारमा चिनाउने । आज दुवै खुट्टा नभएर पनि तेजबहादुर कार्की संसारको यात्रामा छन् ।
५५ वर्षीय कार्की २०६१ सालदेखि ‘विश्व शान्ति व्हिल चियर पद यात्रा’मा निस्केका हुन् । उनको यात्रा निरन्तर जारी छ । उनले हालसम्म ३३ राष्ट्रको यात्रा गरिसकेका छन् । बिहीबारको भेटमा कुरा गर्दै उनले आफ्नो विश्व शान्ति व्हिल चियर पद यात्रा’को लक्ष्य र उद्देश्यबारे खुलाए । उनले भने, ‘यो विश्व यात्रा मेरो लागि मात्र नभएर नेपाल र सारा नेपालीको लागि हो ।’
‘गौतम बुद्ध नेपालमै जन्मेको हो भन्ने सन्देश संसारमा फैलाउने मेरो लक्ष्य छ’ उनले आफ्नो विश्व यात्राबारे खुलाउँदै भने, ‘अर्को उद्देश्य भनेको नेपाल राष्ट्र र नेपालीको पहिचान बढाउँदै अनाथ, पीडित र असाहयहरुलाई समेट्ने नेपाल सरकार अपांग आयोग गठन होस् भन्ने हो ।’
एक अपांगता भएको व्यक्तिको यी लक्ष्य र उद्देश्यले पक्कै पनि सारा नेपालीलाई खुसी तुल्याउने छ । उनी आफ्नो लक्ष्यमा सफलता पनि पाउ“दै आएका छन् । २०६१ सालमा ४ जेठबाट नेपालको मेची–कालीबाट विश्व यात्रा सुरु गरेका कार्कीले ३३ राष्ट्रको सफल व्हिल चियर पद यात्रा गरेसँगै अब उनी युरोप यात्रामा निस्किँदैछन् । ‘अब मेरो यात्रा स्विजरल्याण्डबाट सुरु हुँदैछ’ कार्कीले भने, ‘यो यसपटकको मेरो यात्रा युरोपको हो ।’
एक अपांगता भएर पनि नेपाली पहिचान र नेपाल राष्ट्रलाई विश्वसामू चिनाउने अभिलाषासहित विश्व यात्रामा रहेका कार्की कसरी अपांग भए भन्ने कथा निकै मर्म स्पर्शी छ ।
उनी २०५७ साल २२ माघसम्म सबलांग थिए । त्यतिखेर उनी पेसाले हेभी ड्राइभर थिए । कार्की त्यतिखेर काठमाडौ–काँकडभिट्टा चल्ने मकालु रात्रि बस चलाउँथेँ । रात्रि बस चलाइरहँदा उनको जीवन राम्रै चलेको थियो । तर, भनिन्छ, ‘दसा बाजा बजाएर आउँदैन ।’ कार्कीका लागि पनि त्यस्तै भयो ।
२०५७ माघ २३ गते करिब ३ बजे उनले हाँकेको मकालु यातायात्रको रात्रि बस धादिङको जोगिमाराबाट त्रिशुली नदीमा फाल हान्यो । त्यो बेला बसमा सवार ३२ जनाले ज्यान गुमाएका थिए । तर, कार्की भने बाँच्न सफल भए । उनी बाँच्न त बाँचे तर सधैका लागि आपांगता भए । त्यो क्षणलाई स्मरण गर्दै कार्कीले भने, ‘मान्नछेलाई कतिखेर दसा लाग्दोरहेछ भन्ने थाहै नहुने रहेछ ।’ उनले दुर्घटनापछि काठमाडौंका महाराजगञ्जस्थित शिक्षण अस्पतालको बेड नं ११३ मा साढे तीन वर्ष विताएको सुनाए । अस्पतालको बेडबाट डिस्चार्ज भएपछि नै उनले विश्व शान्ति व्हिल चियर पद यात्रा’ मा निस्किने सोच बनाएका हुन् ।
ओखलढंगामा जन्मिएका कार्कीले हालसम्म जापान, ताइवान, साइप्रस, जोर्डन, रसिया, चीन, भारत, उत्तर र दक्षिण कोािरया, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तानलगायतका राष्ट्रहरुको पद यात्रा गरिसकेका छन् ।
उनले भने, ‘अब बाँकी रहेका संसारका राष्ट्रहरुमा पद यात्रा गर्दै छु ।’ उनलाई पछिल्लो समय पद यात्राका लागि इन्द्रकुमार लिम्बू, राजन राना मगरलगायतले सहयोग गरिरहेका छन् । कार्कीले भने, ‘अपांगता भएर पनि सोच र उद्देश्य लिएमा केही गर्न सकिन्छ भन्ने उदाहरण बन्नु चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्