Logo
Logo

‘सिलाई-बुनाई सिक्न सहर छिरेकी म गायिका भएँ’



लोक दोहोरीकी चर्चित गायिका हुन्, जुना श्रीस मगर । उनले औपचारिक रुपमा गायनमै दुई दशकभन्दा बढी बिताइसकेकी छन् । सानैदेखि गाउन थालेकी जुनाले यहाँसम्म आइपुग्दा १२ सयभन्दा बढी गीत गाइसकेकी छन् । २०६१ सालमा लोकदोहोरी प्रतियोगितामार्फत औपचारिकरुपमा गायनयात्रा प्रारम्भ गरेकी बागलुङ, गल्कोट-११ रिघाकी जुना भन्छिन्, ‘अहिले जुन स्थानमा छु, आफ्नो मेहनत र संघर्षले हो ।’ जुना सानैदेखि गुनगुनाउँथिन् । करिब १४ वर्ष दोहोरी साँझमा गाएकी उनी त्यहीँबाट व्यावसायीक गायिका बनेकी हुन् ।

उनी भन्छिन्, ‘दोहोरीमा गाउन छाडेको चार वर्षमात्रै हुँदैछ । कार्यक्रमहरुमा व्यस्त भएकाले दोहोरीमा गाउन छाडेकी हुँ ।’ ‘आज माया’ बोलको गीतमार्फत गायनमा चम्किएकी जुनाले ०६७ सालमा ‘आँशु’ नामक एल्बम ल्याएकी थिइन् । ‘त्यतिखेर एल्बमको जमाना थियो । अहिले युट्युबको जामाना छ’, जुना भन्छिन्, ‘त्यसैले अहिले सिंगल ट्रयाकमात्रै गाउँदै आएकी छु ।’ गायनकै क्रममा बेलायत, अष्ट्रेलिया, जापान, कोरिया, दुबई, कतारलगायत युरोप भ्रमण गरिसकेकी गायिका एवं राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य जुना श्रीस मगरसँग एमपी सुब्बाको जम्काभेट ::

लोकदोहोरी क्षेत्रमा तपाईँको प्रवेश कसरी भयो ?
सुरुमा साथीहरुको लहलहैमा लागेर गाउन थालेकी हुँ । त्यो समयमा दोहोरी गीत प्रतियोगिताहरु हुन्थ्यो, साथीहरुले भाग लियौँ भनेपछि दोहोरी गाउन थालेकी हुँ ।

औपचारिकरुपमा गाउन थाल्नुभएको कति वर्ष भयो ?
मेरो औपचारिक गायनयात्रा लोकदोहोरी प्रतियोगिताबाटै भएको हो । २०६१ सालमा लोकदोहोरी प्रतियोगितामा भाग लिएपछि व्यावसायिकरुपमा गाउन थालेकी हुँ । १४ वर्ष दोहोरी साँझमा गाएँ । दोहोरीमा गाउँदा–गाउँदै व्यावसायिक गायिका बनेकी हुँ ।

हिजोआज पनि दोहोरी साँझमा गाउनुहुन्छ ?
गाउँदिन । दोहोरी साँझमा गाउन छाडेको करिब चार वर्ष भयो । राति अबेरसम्म गाउने सिष्टम आयो । त्यससँगै कार्यक्रम गइरहनुपर्ने भएकाले समय नमिल्ने भयो । दोहोरीमा गाइरहेकै बेला बेलायत गएँ । बेलायतमा ६ महिना बसेर आएपछि दोहोरी साँझमा गाउन टोटल्ली छाडिदिएँ ।

तपाईंको गायिका बन्ने सपना थियो कि अचानक ?
अचानक यो क्षेत्रमा लागेँ । खासमा म गाउँबाट सिलाइ-बुनाई सिक्न भनेर बागलुङ झरेकी थिएँ । तर, साथीहरुले गर्दा गायनतिर लागियो । गाउन थालेपछि सिलाइबुनाई गर्न छाडिदिएँ । त्यसपछि म गायिका भएँ ।

तपाईँले पहिलोपटक गाउनुभएको व्यावसायीक गीत कुन हो ?
पोखरामा हुँदा गाएकी थिएँ । तर, खासै चलेन । मैले दोस्रोपटक रेकर्डिङ गरेको ‘आज माया म सँग तरक तरक’ बोलको गीत हो । वसन्त थापाको संगीतमा उहाँसँगै गाएको उक्त गीत अत्यधिक रुचाइयो । त्यो बेला सिआरबिटी पीआरबिटीको चलन थियो । सिआरबिटी र पीआरबिटी राम्रो गएको थियो । मलाई त्यही गीतले गायिका भनेर चिनाएको हो ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
आफ्नो एल्बमको गीतसहित १२ सयको हाराहारीमा गाएकी छु । गायन सुरु गरेको केही वर्षपछि मैले ‘आँशु’ नामक एल्बम निकालेकी थिएँ । त्यो बेला अडियो एल्बम र भिसीडीको जमाना थियो । युट्युबले गर्दा अहिले त्यो जमाना सपनाजस्तो भइसक्यो ।

तपाईँका आधा दर्जन चर्चित गीतहरु भन्नुपर्दा ?
बाह्र सयमा एक सयभन्दा बढी चर्चित बन्यो होला । त्यसमा पनि आधा दर्जन भन्नुपर्दा ‘आज माया’, ‘जाम सुस्तै’, ‘बिर्सनलाई सम्झिने म उस्तै’, ‘वारी घुम्टे पारी गाजा’, ‘घुम्दै आयो फूलमा भमरा’ र मनमा मेरो गहिरो घाउ’ बोलका गीतहरु हुन् । यी गीतहरु हिजोआज पनि कार्यक्रमहरुमा गाउँदै आएकी छु ।

यति धेरै हिट गीत गाउनुभयो, अवार्डहरु कति पाउनुभयो ?
अवार्डहरु खासै धेरै पाएकी छैन । अहिलेसम्म पाँचवटा मात्र पाएकी छु । मैले अवार्डहरुमा ध्यान पनि दिइनँ । अवार्ड भनेको अरुले मूल्यांकन गरेर दिनेजस्तो लाग्थ्यो । तर, होइन रहेछ । अवार्ड पनि नमागी नपाइने रहेछ । मागेर पाएको अवार्डको भ्याल्यु नै हुँदैन । मैले आजसम्म कसैसँग अवार्ड मागेको पनि छैन ।

कला क्षेत्रमा आयोजकसँग अवार्ड मागेरै लिनेहरुको जमात छ नि ?
होला । तर, म मागेर लिन्न । अवार्ड भनेको आयोजकले अवार्ड पाउन लायक छ भनेर सम्मानस्वरुप दिने हो । अगाडि नै अवार्ड पाउँदैछु भनेर थाहा भयो भने त्यस्तो अवार्ड लिनुको पनि मज्जा हुँदैन ।

गीतसंगीतबाहेक के गर्नुहुन्छ ?
केही गर्दिनँ । फुलटाइमर गायिका हुँ । अहिलेसम्म गाएरै बाँचेकी छु ।

गीतसंगीतबाट जीविका धान्ने अवस्था आएको हो ?
अरुका लागि भन्न सक्दिनँ । तर, मेरो लागि त्यही भइरहेको छ । म गाउँबाट खाली हात सहर छिरेकी हुँ । म गाउँमा मध्यम वर्गको परिवारमा जन्मेकी हुँ । मेरो बुवा वीरबहादुर श्रीस र आमा जसिन्ताले दुःख गरेर हुर्काउनुभयो । दुःखले नै सहर छिरेर गायन सुरु गरेकी हुँ । अहिले गायनबाटै यो सहरमा मलाई खान, बस्न र लगाउन पुगिरहेको छ ।

घरजम गर्नुभएको छ कि छैन ?
अहिलेसम्म सिंगल हुँ । घरजम गर्ने सोच पनि बनाएकी छैन ।

घरजम गर्ने बेला त भयो नि, होइन ?
बेला भएरमात्र हुँदैन । मन मिल्ने पनि मन मिल्ने पनि भेट्नुपर्यो नि । आफूले मन पराएकाले मन पराउँदैन । जसले मन पराउँछ, आफूलाई मन पर्दैन । त्यसैले घरजम गर्ने साइत नजुरेको हो ।

दर्शक तथा स्रोतालाई के भन्नुहुन्छ ?
हिजोका दिनमा जसरी माया र हौसला दिनुभयो, भोलिका दिनहरुमा पनि माया गर्नुहोला । अनि, मेरो भर्खरै आफ्नै युट्युबबाट सालैजो गीत रिलिज गरेकी छु । हेरिदिनुहोला भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्