Logo
Logo

‘रियलमा पनि रोमान्टिक नै छु’



काठमाडौं । मोडल तथा अभिनेत्री अनिता गिरी मोडलिङलाई भन्दा फिल्मी अभिनयलाई प्राथमिकता दिन्छिन् । करिब ६ वर्षअघि ‘र्याम्प–शो’मार्फत मोडलिङ यात्रा प्रारम्भ गरेकी खोेटाङ, सिम्पानीकी अनिता भन्छिन्, ‘पछिल्लो समय म फिल्ममै व्यस्त छु । मेरो प्राथमिकता पनि फिल्म नै हो ।’

‘र्याम्प–शो’लाई उनी ‘सिक्ने अवसर’का रुपमा मात्र लिएकी छिन् । एक दर्जनभन्दा बढी प्रतिष्ठित रन–वे फेसन शोहरूमा क्याटवाक गरेपछि भिडियो मोडलिङमा लागेकी अनिता भन्छिन्, ‘रन–वे फेसन शोहरूबाट ग्ल्यामरस क्षेत्रलाई बुझ्ने र सिक्ने मौका पाएँ । तर, हिजोआज र्याम्पमा क्याटवाक गर्दिन ।’

‘सम्झनामा ताज महल’, ‘तिमी धोकेबाज हौं’, ‘सजाएर तिम्रो माया’जस्ता थुप्रै चर्चित गीतहरूमा मोडलिङ गरेकी अनिता कलाकारितामै करिअर बनाउन चाहन्छिन् । अनिता अभिनीत तीनवटा फिल्म रिलिजको क्रममा छन् । ‘नम्बरी सुन’, ‘द आउटलक’ र ‘हात्ती छाप’ अनिता अभिनीत फिल्म हुन् । हाल ‘नम्बरी सुन’को प्रमोशनमा व्यस्त रहेकी मोडल तथा अभिनेत्री अनिता गिरीसँग एमपी सुब्बाको जम्काभेट-

आजभोलि के गर्दै हुनुहुन्छ ?
फिल्म र म्युजिक भिडियोहरूमै व्यस्त छु । खासगरी मेरो फिल्म ‘नम्बरी सुन’ माघ १९ गतेबाट रिजिल हुँदैछ । त्यसैले ‘नम्बरी सुन’को प्रमोशनमा पनि जुटिरहेकी छु ।

उक्त फिल्ममा तपाईँको भूमिका के छ ?
फिल्ममा मेरो लिड रोल छैन । ‘नम्बरी सुन’मा नेगेटिभ रोलमा देखिँदैछु । तैपनि, मेरो पहिलो डेब्यू रिलिज फिल्म भएकाले मेरो लागि महत्पूर्ण छ ।

तपाईँ अभिनीत तीन फिल्म रिलिजको क्रममा छ, कुनबाट बढी अपेक्षा राख्नुभएको छ ?
आफूले काम गरेका सबै फिल्म राम्रो लाग्छ । तैपनि, मैले ‘नम्बरी सुन’बाट बढी अपेक्षा गरेकी छु । फिल्ममा नेगेटिभ भूमिका भएपनि दर्शकको माया र साथ पाउने छु भन्ने मेरो अपेक्षा छ ।

म्युजिक भिडियोहरू गरिरहनुभएको छ कि छैन ?
म्युजिक भिडियोहरू पनि गर्दैछु । तर, केही समय यताचाहिँ अलिक बढी फिल्ममा व्यस्त भएँ । अहिले पनि नयाँ फिल्मका लागि कुरा भइरहेको छ ।

फिल्मको नाम खुलाउन मिल्छ ?
अँह, मिल्दैन । निर्माणपक्षले अहिले नाम सार्वजनिक नगरौँ भन्नुभएको छ । सबै तयारी भएपछि पत्रकार सम्मेलनमार्फत नै नाम घोषणा गरिनेछ ।

पछिल्लो समय फिल्मलाई प्राथमिकता दिनुभएको हो ?
हो, फिल्मबाहेक म्युजिक भिडियोहरू पनि गर्दै आएकी छु । तर, ¥याम्प शोहरू चाहिँ गर्दिनँ । ¥याम्प शोबाहेक फिल्म, भिडियो र विज्ञापनहरूमा काम गर्दै आएकी छु ।

मोडलिङ करिअर फेसन शोमार्फत सुरु गर्नुभयो । अनि बीचैमा किन छाड्नुभयो ?
सुरुका दिनमा मैले ¥याम्प शोहरू थुप्रै गरेँ । जसबाट ग्ल्यामरस क्षेत्रलाई बुझ्ने अवसर पाएँ । ग्ल्यामरस क्षेत्र के हो भन्ने ¥याम्प तथा फेसन शोहरूमार्फत सिक्ने मौका पाएँ । तर, पछिल्लो केही समययता फिल्म र म्युजिक भिडियोमै व्यस्त हुन थालेँ । अहिले मलाई ¥याम्प शो गर्न आवश्यक छैन ।

मोडलिङ करिअरको सुरुमै फेसन शोमा अवसर कसरी मिल्यो ?
पहिलोपटक दिदीमार्फत एउटा फेसन शोका लागि अडिसन दिएकी थिएँ । त्यो अडिसनमा सेलेक्ट भएँ । त्यसपछि मेरो मोडलिङ यात्रा सुरु भएको हो । त्यस बीचमा फेसन शोका अलावा विभिन्न विज्ञापनहरूमा मोडलिङ गरेँ । मैले करिब एक दर्जन फेसन शोमा क्याटवाक गरेँ । त्यसपछि फिल्ममा काम गर्न थालेकी हुँ ।

कलाकारलाई फिल्मभन्दा म्युजिक भिडियोमा काम गर्दा फाइदा छ भन्छन् नि ?
फिडब्याककै कुरा गर्ने हो भने म्युजिक भिडियोमा काम गर्दाँ कलाकारलाई फाइदा छ । भिडियोमा काम गर्दा चाँडै फिडब्याक पाइन्छ । तर, फिल्ममा महिनौँ कुर्नुपर्ने हुन्छ । दर्शकको फिडब्याकले कलाकारलाई अगाडि बढ्न थप हौसला मिल्छ ।

तपाईँ कस्तो फिल्मका काम गर्न चाहनुहुन्छ ?
लभस्टोरी फिल्ममा मलाई काम गर्ने इच्छा छ । साथै, टिनएजको रोमान्टिक कथावस्तु भएको मलाई मनपर्छ । यो आफ्नो इच्छा र रुचीको कुरा हो । म एक कलाकार हुँ, त्यसैले म यस्तो र उस्तो भन्दिनँ, सबै जनराका फिल्ममा काम गर्न सक्छु ।

तपाईँ रियल लाइफका कतिको रोमान्टिक हुनुहुन्छ ?
रियलमा पनि रोमान्टिक नै छु । सबैसँग मिठो कुरा गर्ने एकदम हब्बल छु । र, कामप्रति रुची राख्ने र मिहेनती छु ।

यहाँसम्म आइपुग्न कतिको संघर्ष गर्नुपर्यो ?
संघर्ष त धेरै गरेकी छु । काम दिन्छु भन्दै झुल्याउने, फिक्स भइसकेको कम पनि रिजेक्ट हुने जस्ता धेरै कुराहरू भोग्दै यहाँसम्म आएकी हुँ । कतिपय कामको प्रलोभन दिएर कफी गफमै अल्मल्याउनेहरू पनि यो क्षेत्रमा छन् ।

फिक्स भइसकेपछि रिजेक्टचाहिँ किन ?
फाइदा लिन खोज्ने र स्वास्र्थ पूरा नभएपछि रिजेक्ट हुन्थ्यो । जस्तै, एउटा फिल्मका लागि म फिक्स भएँ रे । तर, निर्माता वा निर्देशकको स्वास्र्थ पूरा भएन भने रिजेक्ट गर्ने जस्ता परिपाटी कला क्षेत्रमा छ । मैले पनि केही भोगेकी छु ।

अभिनेत्रीहरूलाई अगाडि बढ्न ‘गडफादर’ चाहिन्छ रे नि ?
हुन सक्छ । तर, मेरो कोही गडफादर छैन । म एक्लै आफ्नै मिहिनेत र संघर्ष गरेर अगाडि बढ्ने प्रयास गरिरहेकी छु ।

तपाईँलाई कुन अभिनेतासँग स्क्रिन शेयर गर्ने इच्छा छ ?
मलाई त्यस्तो खास लाग्ने कोही छैन । आफ्नो ठाउँमा सबै राम्रा छन् । काम गर्दै जाँदा सबैसँग रमाइलो हुन्छ ।

रियल लाइफमा अफेयर्स छ कि छैन ?
छैन । अहिलेसम्म सिंगल छु । कला क्षेत्रमै करिअर बनाउने सोचसहित मिहिनेत र संघर्ष गरिरहेकी छु ।

प्रतिक्रिया दिनुहोस्