Logo
Logo

सर्वोत्तम सिमेन्टको खुल्यो आइपिओ



काठमाडौं । सर्वोत्तम सिमेन्टले आजदेखि आइपिओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो ।

त्यस्तै, २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । कम्पनीले उक्त आइपिओ प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन खुला गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपिओमा दुवै समूहका लगानीकर्ताले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूले भने माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लिरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रणलीमार्फत् गरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्