Logo
Logo

२३ उद्योगको बिजुली आजदेखि पुनः जोड्दै प्राधिकरण



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि २३ उद्योगमा बिजुली लाइन जोड्ने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६०औँ बैठकले बक्यौता विवादमा लाइन काटिएका २३ उद्योगमा पुनः बिजुली जोड्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले बक्यौता विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेपनि प्राधिकरणले आधिकारिक पत्र नआएको बताउँदै आएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ५ मा ऊर्जा मन्त्रालयको समीक्षाका क्रममा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर भएपनि बक्यौता उठाउन निर्देशन दिएपछि पुस ६ मा प्राधिकरणले बिजुली काटेको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले चार चरणमा गरी २४ उद्योगको लाइन काटेको थियो ।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवाद ०७५ वैशाखबाट लोडसेडिङ अन्त्य भएपछि चर्किएको थियो । लोडसेडिङका समयमा डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् जडान गरिपाऊँ भनी प्राधिकरणमा निवेदन नदिएको तर प्राधिकरणले पछि अतिरिक्त महसुलको बिल काटेको भन्दै उद्योगीहरु रकम नतिर्ने अडानमा छन् । उनीहरुले टीओडी मिटरका आधारमा तिर्नुपर्ने रकम तिर्न तयार रहेको बताउँदै आएका छन् ।

लोडसेडिङ अन्त्यपछि पनि डेडिकेटेड र ट्रंकलाइन शीर्षकमा विद्युत् उपयोग गरेको भनी ६७ प्रतिशत महँगो बिल प्राधिकरणले पठाएको भन्दै उद्योगीले यो विवादित विषय भएको र समस्या समाधान गरिदिन सरकारसमक्ष निरन्तर आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्