Logo
Logo

‘अवसर पाए फिल्ममा काम गर्छु’



काठमाडौं । बागलुङकी उत्साह घिमिरे मोडलिङबाट उत्साहित छिन् । उत्साह एक दशकयता मोडलिङ क्षेत्रमा संषर्षरत छिन् । उनी भन्छिन्, ‘रुचिले मोडलिङ सुरु गरेकी हुँ । आफ्नै इच्छाले रोजेको क्षेत्र भएकाले खुसी छु ।’ २०६७ सालदेखि म्युजिक भिडियो मोडलिङमा रमाउँदै आएकी उत्साहले हालसम्म तीन दर्जनभन्दा बढी भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।

केही शर्ट फिल्ममा समेत अभिनय गरेकी उत्साह विशेषगरी फिल्ममा अभिनय गर्न रुचाउँछिन् । कला क्षेत्रमा आफूलाई अब्बल बनाउन अभिनय र नृत्य सम्बन्धी प्रशिक्षण लिएकी छिन् । मोडलिङमा भविष्य खोजिरहेकी उत्साह घिमिरेसँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियोहरूमै व्यस्त छु । फुर्सदमा बबरमहलस्थित सत्यवती कला केन्द्र जान्छु । जहाँ डान्स रिहल्र्सल गर्छु ।

मोडलिङ गर्न थाल्नुभएको कति भयो ?
सानैदेखि नृत्य र अभिनयमा रुचि राख्थेँ । मोडलिङ पनि सानैदेखि गर्न थालेकी हुँ । यो क्षेत्रमा लागेको एक दशकभन्दा बढी भयो । २०६७ सालमै म्युजिक भिडियोमा अभिनय गरेर मोडलिङ सुरु गरेकी हुँ ।

मोडलिङप्रति कसरी आकर्षित हुनुभयो ?
रुचि सानैदेखि थियो । तर, रुचि र इच्छा भएर मात्र हुँदैन । त्यसका लागि अवसर पनि मिल्नुपर्ने हुन्छ । मेरो चाहिँ मामाहरू म्युजिक क्षेत्रमा हुनुहुन्छ । उहाँहरूको गीत सुनेर मलाई मोडलिङमा रुचि जाग्यो । मोडलिङको पहिलो अवसर पनि उहाँहरूले नै दिनुभयो ।

पहिलोपटक मोडलिङ गर्नुभएको गीत कुन हो ?
मैले पहिलोपटक २०६७ सालमा तीज गीतको भिडियोमा मोडलिङ गरेकी हुँ । गायिका स्वरुपा रसाइलीले गाएको ‘चाउचाउ नि खाएँ’ बोलको तीज गीत हो । यही गीतमार्फत मोडलिङमा करिअर सुरु गरेकी हुँ ।

हालसम्म कति भिडियोमा मोडलिङ गर्नुभयो ?
तीज, लोकगीत र आधुनिकसहित चार दर्जनभन्दा बढी भयो । प्रायः सबै किसिमका गीतको भिडियोमा मोडलिङ गर्दै आएकी छु । पछिल्लो समय चाहिँ आधुनिक गीतमा बढी अफर आउने गरेको छ ।

तपाईँको रुचि मोडलिङ कि फिल्मी अभिनय ?
मलाई दुवैमा रुचि छ । समग्रमा भन्नुपर्दा ग्ल्यामरस क्षेत्र मेरो रुचिको विषय हो । त्यही रुचि र रहरले मोडलिङ सुरु गरेकी हुँ । मोडलिङ गर्दै जाँदा अवसर आयो भने फिल्ममा पनि काम गर्छु ।

तपाईँलाई फिल्मका लागि अफर आएको छैन ?
अहिलेसम्म त फिल्मका लागि अफर आएको छैन । म्युजिक भिडियोहरूमा मात्र काम गर्दै आएकी छु । नेपाली फिल्ममा पनि काम गर्ने मेरो इच्छा र सपना छ ।

मोडलिङमा करिअर देख्नुहुन्छ ?
मोडलिङमा करिअर बनाउन सकिन्छ भनेरै यो क्षेत्रमा लागेकी हुँ । तर, त्यसका लागि संघर्ष र मिहिनेत गर्नुपर्छ । करिअरकै लागि संघर्ष गर्दै आएकी छु ।

मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?
सानैदेखि मोडलिङप्रति रुचि थियो । तर, मोडल नै हुन्छु भनेर सोचेकी थिइनँ । तर, मोडलिङमा सोचेभन्दा धेरै गरेकी छु । त्यसैले रमाइलो लागिरहेको छ । र, खुसी पनि छु ।

मोडलिङमा करिअर बनाउने अवस्था छ कि छैन ?
त्यो भन्नै सकिन्नँ । मेहनत र संघर्ष गर्न सकियो भने करिअर बनाउन सकिन्छ । त्यस्तै, रातारात भाइरल भइयो भने दाम पनि कमाउन सकिन्छ । यदि, मोडलिङ वा कलाकारितामै करिअर बनाउँछु भनेर सोच्यो भने मेहनत गर्नुपर्छ । सबै कुरा आफूमा भर हुन्छ ।

मोडलिङको राम्रो र नराम्रो पक्ष के हो ?
राम्रो पक्ष भनेको मोडलिङबाट नाम र दाम एकसाथ कमाउन सकिन्छ । नराम्रो पक्ष केही छैन । विवादमा आउने भनेको आफूमा निर्भर हुने हो । आफू राम्रो भयो भने दुनियाँ राम्रो हुन्छ ।

तपाईँ अभिनीत केही भिडियो भन्नुपर्दा ?
प्रायः सबै भिडियोहरू रुचाइएको छ । त्यसमा केही यस्ता गीतको भिडियो गरेकी छु, जसलाई दर्शकले सदाबहार रुचाइदिनुभएको छ । जस्तै, ‘आयो चेली माइती सम्झेर’, ‘जुन बनेर आउनु तिमी’, ‘जोडी परेवा’, ‘धादिङ गजुरी’, ‘सुन्दर बजार कटेसी’ लगायत छन् ।

मोडलिङमा लागेर के पाउनुभयो ?
दर्शकको माया र सम्मान पाएकी छु । नाम पाएकी छु । यो क्षेत्रमा लागेर केही भएपनि चिनिएकी छु । साथै, आफूलाई पुग्ने दाम पनि कमाइरहेकी छु ।

तपाईँको लक्ष्य के हो ?
अहिले नै यही बन्छु भनेर लक्ष्य लिएकी छैन । अहिलेसम्म त मोडलिङलाई नै अगाडि बढाइरहेकी छु । भविष्यका कुरा त्यतिखेर नै थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्