Logo
Logo

हवाई सुरक्षामा हिमालय एअरलाइन्सको छलाङ

नेपालमै पहिलोपटक ‘आइओएसए’ पाउने कम्पनी बन्यो



काठमाडौं । इयूले नेपालका वायुसेवा कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाएको बेला चिनियाँ संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सले इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएसन ‘आयटा’ आइएटिएबाट हवाई सुरक्षा सम्बन्धमा आइओएसए प्रमाणपत्र पाउनु नेपाल र नेपालीका लागि गौरवकको कुरा हो । यस प्रमाणपत्रले नेपालको हवाई सेवा सुरक्षित र भरपर्दो छ भन्ने सन्देश विश्वभर फैलने छ ।

आइएटिएले सन् २०२३ डिसेम्बर २८ तारिख हिमालय एयरलाइन्सलाई उक्त प्रमाणपत्र उपलव्ध गराएको हो । उक्त प्रमाणपत्रको अवधि सन् २०२५ मार्च ३ सम्म कार्यान्वयन हुने छ । त्यसपछि नवीकरणका लागि आइएटिएको सम्पूर्ण सेफ्टी मापदण्ड पूरा गर्न पुनः परीक्षण गर्नुपर्ने हुन्छ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार स्थापनाकालदेखि नै हिमालय एयरलाइन्सले ‘सेफ्टी’का सम्पूर्ण नियम पालना गर्दै आएको छ । क्यानको सुपरीवेक्षणमा सम्पूर्ण आन्तरिक, अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेकोले नै आइएटिएले हिमालय एयरलाइन्सलाई उक्त सर्टिफिकेट प्रदान गरेको हो ।

यो सर्टिफिकेटले एयरलाइन्सको प्राविधिक अवस्थाका साथै यात्रु सेवालगायत व्यवस्थापन चुस्तदुरुस्त छ भन्ने प्रमाणित गर्दछ । एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठको भनाइमा आइओएसए भनेको जहाज र कम्पनीको ‘होलबडी चेकअप’ हो । ‘होलबडी चेकअप’ पछि पनि ‘इम्युन’ पावर कति छ भन्ने कुराले संक्रमणबाट जोगाउँछ । हवाई यात्राको पूर्ण सुरक्षाका लागि आइओएसए अत्यन्त महत्वपूर्ण कुरा हो, जुन नेपालमा पहिलोपटक हिमालय एयरलाइन्सले प्राप्त गरेको छ । यसले नेपालको हवाई सुरक्षाको विश्वसनीयता बढाएको छ ।

हिमालय एयरलाइन्सका अप्रेसन, स्टाण्डर्ड डिपार्टमेन्टका प्रमुख पवन विष्टका अनुसार धेरै लामो परीक्षण र प्रक्रियापछि मात्र आइएटिएले आइओएसए प्रमाणित गर्छ । विष्टका अनुसार आइओएसए अडिटका लागि ८ वटा क्षेत्रको परीक्षणमा पास हुनुपर्छ । आइओएसए अडिट पास गर्न संस्थागत संरचनाका साथै व्यवस्थापन कस्तो छ ? फ्लाइट अपरेशन चुस्तदुरुस्त छ छैन ? फ्लाइटको डिस्प्याच सिस्टम कस्तो छ ? मेन्टिनेन्स र इन्जिनियरिङको अवस्था कस्तो छ ? क्याविन अप्रेशन ठीक छ कि छैन ? ग्राउण्ड ह्याण्डलिङ सेवाबाट यात्रुहरु कत्तिको सन्तुष्ट छन् ? कार्गाे अप्रेशनको व्यवस्थापन कस्तो छ ? र अप्रेशनल सुरक्षाका बारेमा अध्ययन गरेपछि मात्र आइएटिएले आइओएसए प्रमाणपत्र दिन्छ ।

हिमालय एअरलाइन्सका लागि आइओएसए प्रमाणीकरणले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्न सफल भएको जनाइएको छ । नेपालको पहिलो र एकमात्र आइओएसए प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

एअरलाइन्सका उपाध्यक्ष श्रेष्ठले ‘यो कोसेढुङ्गाले विश्वमै नेपालको उड्डयन क्षेत्रमा सकारात्मक परिवर्तनको संकेत गर्छ, हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दछौं’, भन्नुभयो । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौँ ।’

यसै सिलसिलामा उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित आइओएसए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा गर्नुभयो । ‘हिमालय एअरलाइन्सको यो उपलब्धिले निश्चितरूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’

नेपालको पहिलो र एकमात्र आइओएसए प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । आइओएसएको यस कठिन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मूल्याङ्कन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।

आइएटिए अपरेशनल सेफ्टी अडिट (आइओएसए) अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मूल्यांकन गर्नका लागि विकास गरिएको हो ।

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरुको मूल्यांकनका साथै साइटको समीक्षासमेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालना पश्चात वायुसेवाहरूलाई आइओएसए प्रमाणीकरण प्रदान गरिन्छ । तसर्थ, आइओएसए दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन आइएटिए सदस्यताको लागि पूर्व शर्त पनि हो । सन् २०२३ मा हिमालय एयरलाइन्सले ४ लाख ६२ हजार ७ सय यात्रुलाई सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्