Logo
Logo

कोरियामा महिलाहरूको शक्ति र साहस सम्बन्धी सेमिनार सम्पन्न



सिओल । दक्षिण कोरियाको राजधानी सिओलको सदेमुनस्थित ख्यङ्गयाङ्ग सिनमुनसामा कोरियन नागरिकसँग विवाहित तथा आश्रित भिसा वाहक महिलाहरूको शक्ति र साहस सम्बन्धी सेमिनार सम्पन्न भएको छ । 

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आयोजनमा भएको सो कार्यक्रममा कोरियन नागरिकसँग विवाह गरेका नेपाली महिला तथा कोरियन नागरिकहरूले आ–आफ्नो विचार राखेका थिए । 

कार्यक्रममा कोरियाका लागि नेपाली राजदूतावास उपनियोग प्रमुख पुष्प राज भट्टराईले कोरियन पुरुषसँग विवाह गर्ने नेपाली महिलाहरूको संख्या अन्दाजी ६ सय रहेको र नेपाली पुरुषसँग विवाह गर्ने कोरियन महिलाहरूको संख्या अन्दाजी १ सय ५० जनाको रहेको बताए । 

उनले नेपालीहरूलाई विदेश आउँदाको मुख्य समस्या भनेको नै त्यो देशको कल्चर र भाषा भएको बताए । कोरियामा नेपाली महिलाले कल्चर र भाषा राम्रोसँग ज्ञान हासिल गर्दै नेपाल र कोरियाबिचको कल्चर आदान प्रदानमा भूमिका खेलेको बताए । 

त्यस्तै हवासङ्ग प्रहरी कार्यालयमा कार्यरत नेपाल मूलका कोरियन नागरिक हाना किम ( सम्झना राई )ले कोरियामा नेपाली महिलाहरूको आर्थिक रोजगारी र सुन्दर भविष्य भएको बताए । 
 
उनले कोरियाको बसाइँमा साँचो माया र सम्बन्ध, परिवारको व्यवस्थापन र आफ्नोको साथ, जिउनको लागी नभए पनि हुने कुराहरू,आर्थिक रुपमा स्वतन्त्र र खुसीका लागी पूर्वाधार जस्ता विषयहरूमा आफूले भोगेको पनि सुनाए । 

योङ्गईन विदेशी सहयोग सेन्टरका प्रमुख किम योङ्ग गुगले कल्चर र भाषा भनेको त्यो देशको परिचय हो त्यसको सबैले सम्मान गर्नुपर्ने बताए ।  कोरियन कम्पनीका सञ्चालकहरूलाई आफ्नो कम्पनीमा काम गर्ने विदेशी मजदुरहरूको कल्चर र भाषा साधरणतया जानकारी लिई राख्नु पर्नेमा जोड दिने गरेको बताए ।  

एनआरएन दक्षिण कोरियाका महिला संयोजक तथा सफल व्यवसायी निला राईले विदेशमा भाषा, संस्कार संस्कृतिको अनभिज्ञताले गाह्रो अप्ठ्यारो पर्ने बताए । उनले विदेशमा दुख, सहनशीलता, मेहनत, अनुभवबाट मात्र सफलता प्राप्त गर्न सकिने बताउँदै सुखी भन्दा पनि खुसी हुनु पर्ने बताए । 

सो कार्यक्रममा एमटियु अध्यक्ष उदय राई, अध्यागमन कार्यालयका पूर्वकर्मचारी पार्क सङ्ग हुन, नेपाल विद्यार्थी संगठन सोन्सीकका अध्यक्ष मेघनाथ पौडेललगायतले पनि मन्तव्य राखेका थिए । 
  
कार्यक्रममा कोरियामा क्रियाशील मिडियाकर्मीहरूलाई र विभिन्न क्षेत्रमा कार्यरत नेपाली महिला अभियन्ताहरूलाई सम्मान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्