Logo
Logo

रुसी सेनामा थप एक नेपालीको मृत्यु



काठमाडौं । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ ।

रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए ।

गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन ।

गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले तीन दिन अघिमात्र रुसबाट उनको मृत्युको फोटोहरु आएको अनलाइखबरलाई बताए । ‘रुसका एक जना कमाण्डरले मृतकका फोटोहरु परिवारलाई पठाएका छन्’ उनले भने, ‘मृतकको लाशको फोटोहरु प्राप्त भएपछि परिवारले मृत्यु भएको स्वीकार गरिसकेको छ ।’

मृतक पूर्व नेपाली आर्मी हुन् । उनको घरमा श्रीमती, आमा एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्